काठमाडौं । पूर्व फुटबल खेलाडी तथा टेलिभिजन प्रस्तोता अमनप्रताप अधिकारी संसद् भवन जलिरहेको पृष्ठभूमिमा फेसबुक लाइभमा अभद्र र उत्तेजक शब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएका छन् ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा खिचिएको भनिएको उक्त भिडियोमा उनले संसद् भवन जलिरहेको दृश्य देखाउँदै अशोभनीय भाषामा टिप्पणी गरेका छन् । भिडियोमा उनले बारम्बार ‘देखिस, जल्यो तेरो देश’ भन्ने वाक्य दोहोर्याएका छन् । क्याप्सनमा उनले लेखे, ‘दिस इज हाउ संसद् भवन वाज टेकन डाउन ।’
यो भिडियो उनको आधिकारिक फेसबुक पेजमा अझै उपलब्ध छ । अधिकारीले प्रयोग गरेका अपशब्द र नेताहरूप्रतिको आक्रोशले उनको सार्वजनिक छविमा प्रश्न उठाएको छ। उनी ‘हिमालयन रोडिज’ र नेपालको पहिलो साहित्यिक रियालिटी शो ‘द पोएट आइडल’ का परिकल्पनाकार तथा निर्देशक हुन् ।
उनका पिता क्षेत्रप्रताप अधिकारी पञ्चायतकालीन राष्ट्रिय पञ्चायत सदस्य तथा पूर्व शिक्षा राज्यमन्त्री थिए । ‘जेनजी आन्दोलन’ लाई समर्थन गर्दै आएका अधिकारीको यो भिडियो र भाषाशैलीले सांस्कृतिक मर्यादाविपरीत प्रतिक्रिया सिर्जना गरेको छ ।










