काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले संसद् पुनःस्थापना र निर्वाचनको तयारीलाई सँगसँगै अगाडि बढाउने बताएका छन् । सुनबलमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारले फागुन २१ मा निर्वाचन गराउने वातावरण नबनाएको भन्दै संसद् पुनःस्थापनाको मुद्दालाई पार्टीले नछोड्ने प्रष्ट पारे ।

उनले जेनजी युवा पुस्तालगायतका माग सम्बोधन गर्न संसद् पुनःस्थापना अपरिहार्य रहेको जिकिर गरे । साथै, प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार र पाँच हजारभन्दा बढी कैदी बाहिर रहेकाले निर्वाचनका लागि सुरक्षा चुनौती रहेको उनले बताए ।
‘समझदारीका आधारमा अगाडि बढ्न सकिन्छ । भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन, जेनजी प्रतिनिधिसँग वार्ता गरी न्यूनतम सहमतिपछि संसद् पुनःस्थापना र निर्वाचित जनप्रतिनिधिमार्फत सहमतिमा निर्वाचन गरेर अघि बढ्न सकिन्छ,’ ज्ञवालीले भने । पार्टीको महाधिवेशनको मिति तय भइसकेकाले नेतृत्वको विषयमा महाधिवेशनले नै निर्णय गर्ने उनले बताए ।










