
काठमाडौं । चौतर्फी आलोचना भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ ।
खगेन्द्रविरुद्ध विभिन्न ठगी, साइबर अपराध, यौन दुव्र्यवहार र पटके कसूरका केसहरू सप्रमाण बाहिर आएपछि प्रधानमन्त्री कार्कीले तत्काल उनको नाम मन्त्रीको सूचीबाट हटाएकी हुन् ।
आजै दिउँसो साढे २ बजेका लागि मन्त्रीहरूको शपथ हुँदैछ । आजैमात्र प्रधानमन्त्री कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्री बनाउन सिफारिस गरेकी थिइन् । तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको देखिएको थियो । उनीविरुद्ध सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको थियो ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ । भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि उनको पनि प्रधानमन्त्री कार्यालयले सिफारिस रोकेसँगै आज शपथ नहुने भएको हो ।










