
काठमाडौं । जेनजी आन्दोलनका क्रममा उदण्ड मच्चाउने नाइके नेपाली सेनाको बर्खास्तीमा परेका व्यक्ति रहेको खुलेको छ ।
प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनी गर्ने समूहका नाइके सेनाको बर्खास्तीमा परेका २७ वर्षीय भुवन शाही भएको खुलेको हो ।
आगजनी, तोडफोड र लुटपाटमा संलग्न्न भएको आरोपमा प्रहरीले सोमबार मिनभवनबाट कञ्चनपुरको बेलौरी नगरपालिका–१ घर भएका शाहीलाई पक्राउ गरेको थियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्कीका अनुसार ०७४ सालमा नेपाली सेनामा प्रवेश गरेका उनी २०७५ मा बर्खास्तीमा परेका थिए ।
चालकको रुपमा नक्कली लाइसेन्स पेस गरेको खुलेपछि उनी बर्खास्तीमा परेका थिए । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो ।
२४ भदौको जेनजी आन्दोलनमा उनी प्रहरी वृत्त गौशाला तोडफोड, आगजनी, लुटपाटमा संलग्न रहेको भिडिओमा देखिएको प्रहरीले बताएको छ । उनले बानेश्वरमा रहेको ग्लोबल कलेजमा प्रवेश गरेर पनि लुटेको पाइएको प्रहरीले बताएको छ ।
उनले प्रहरीको एक थान मोटरसाइकल, प्रहरीको राइट कन्ट्रोल गियर, ग्लोबल कलेजमा रहेको २ थान ट्रफी, गाडीको ड्यासबोडमा राख्ने गणेशको मूर्ति र क्यानन कम्पनीको डीएसएलआर क्यामेरा लुटेको फुटेजमा देखिएको प्रहरीले बताएको छ ।














