Logo
Logo

वेबसाइटमा साइबर जोखिम बढेपछि उच्च सतर्कता अपनाउन केन्द्रको आग्रह


0
Shares

काठमाडौं । वेबसाइट तथा अनलाइन प्रणालीमा प्रयोग हुने सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

केन्द्रले पीएचपी सफ्टवेयर तथा त्यससँग सम्बन्धित वेब प्रणालीमा सुरक्षा जोखिम देखिएको भन्दै वेबसाइट सञ्चालकहरूका लागि अत्यावश्यक साइबर सुरक्षा एड्भाइजरी जारी गरेको हो । केन्द्रका अनुसार वेबसाइट तथा अनलाइन प्रणाली सञ्चालनमा प्रयोग हुने पीएचपी, अपाचे, पीएचपी–एफपीएम र लाइटस्पिडजस्ता प्रविधि तथा वर्डप्रेस, जोम्ला, ड्रुपल र म्याजेन्टोजस्ता सामग्री व्यवस्थापन प्रणालीमा सुरक्षा कमजोरी देखिएका छन् ।

यस्ता कमजोरीको फाइदा उठाएर साइबर आक्रमणकारीले सरकारी तथा गैरसरकारी निकायका वेबसाइट र अनलाइन प्रणालीमा अनधिकृत पहुँच बनाउन वा प्रणालीमा क्षति पुर्‍याउन सक्ने जोखिम रहेको केन्द्रले जनाएको छ । साइबर जोखिम न्यूनीकरण गर्न केन्द्रले प्रयोगमा रहेका पीएचपी प्रणालीलाई तत्काल सुरक्षित संस्करणमा स्तरोन्नति गर्न सुझाव दिएको छ ।

केन्द्रले पुराना संस्करणमा सुरक्षा सुधारसम्बन्धी अद्यावधिक उपलब्ध नहुने भएकाले त्यस्ता प्रणालीलाई नयाँ र सुरक्षित संस्करणमा स्थानान्तरण गर्नुपर्नेमा केन्द्रले जोड दिएको छ । साइबर सुरक्षा विज्ञहरूले पनि वेबसाइट तथा अनलाइन प्रणालीको नियमित सुरक्षा परीक्षण, सफ्टवेयर अद्यावधिक, बलियो पहुँच नियन्त्रण र नियमित ब्याकअपलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

विशेष गरी सरकारी सेवा, वित्तीय कारोबार र नागरिकका व्यक्तिगत विवरण भण्डारण गर्ने प्रणालीमा सुरक्षा कमजोरी रहँदा सेवामा अवरोध आउनुका साथै संवेदनशील सूचना चोरी हुने जोखिम समेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्