काठमाडौं । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारका कुनै पनि मुद्दामा एमालेका नेताहरू जोडिएका भए छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।

मङ्गलवार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमालेका नेतामाथि लाग्ने गरेका आरोपहरू गिरिबन्धुदेखि ओम्नीसम्म छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन् ।
उनले अहिलेको सरकारको कार्यादेश निर्वाचनमात्रै रहेको बताए । सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका नेता (केपी शर्मा ओली) लाई स्थानबाहिर राखेर निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुरामा विश्वास गर्न नसकिने उनको भनाइ रहेको छ । उनले आवधिक निर्वाचन निष्पक्ष र स्वतन्त्र ढङ्गले हुने कुराको सुनिश्चितता भए एमाले कुनै पनि हालतमा निर्वाचनबाट नभाग्ने स्पष्ट पारे । पोखरेलले वर्तमान सरकारमा जेनजीको भावना प्रतिबिम्बित गर्ने मानिसहरू नरहेको बताए।














