काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या अभियुक्त तेत्सुया यामागामीले अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन्।

जापानको नारा जिल्ला अदालतमा भएको सुनुवाइको पहिलो दिन ४५ वर्षीय यामागामीले ‘सबै कुरा सत्य हो’ भन्दै हत्या गरेको स्वीकृति दिएका हुन् । उनीमाथि हत्या र हतियारसम्बन्धी कानुनी उल्लङ्घनका आरोप छन्।
सन् २०२२ जुलाई ८ मा पश्चिमी जापानको नारा सहरमा चुनावी सभामा बोलिरहेका बेला आबेमाथि गोली प्रहार भएको थियो। गोली लागेर गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्रीको उपचारका क्रममा मृत्यु भएको थियो । लगत्तै पक्राउ परेका यामागामीले आफैंले बनाएको हतियार प्रयोग गरेर आबे माथि गोली प्रहार गरेको खुलेको थियो। उनले अदालतमा पनि उक्त हतियार आफैंले तयार पारेको र बदला लिनका लागि’ प्रयोग गरेको स्वीकार गरेका छन् ।
उनले आबेलाई विवादास्पद धार्मिक समूह ‘युनिफिकेशन चर्च’लाई समर्थन गरेको आरोप लगाएका छन् । यामागामीका अनुसार सो चर्चका कारण उनका परिवार आर्थिक रूपमा धराशायी बनेका थिए।
जापानी अनलाइन पत्रिका जापान टाइम्स् का अनुसार, यामागामीकी आमाले उक्त चर्चलाई करिब १० करोड येन झण्डै ६ लाख ६३ हजार अमेरिकी डलर दान गरेकी थिइन्।











