Logo
Logo

अन्नपूर्ण क्षेत्रलगायत हिमाली भेगमा हिमपात–वर्षा पर्यटकीय गतिविधिमा अवरोध


252
Shares

गण्डकी । मुख्य पर्यटकीय याम चलिरहेका बेला देशका विभिन्न भागमा मौसम एकाएक प्रतिकूल बनेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा निरन्तर वर्षा र हिमपात भएपछि पदयात्रा र अन्य पर्यटकीय गतिविधि प्रभावित भएका छन् ।

The current image has no alternative text. The file name is: manaslu-area-himpat-snow.jpg

गण्डकी प्रदेशका मुस्ताङ, मनाङ, कास्की, म्याग्दी र गोरखा जिल्लामा पछिल्ला दिनमा हिउँ र झरीका कारण पदयात्रामा रहेका पर्यटकहरू सास्तीमा परेका छन् । हिमपातका कारण कतिपय मार्गमा सुरक्षाकर्मी र स्थानीयवासीले हिउँ पन्छाउँदै पर्यटकलाई सुरक्षित स्थानमा पुर्‍याइरहेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा पर्यटकको सहजीकरणका लागि जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

नौ अमेरिकी नागरिकसहित अन्नपूर्ण चक्रिय पदमार्गमा रहेका पर्यटन पथप्रदर्शक दिवस गुरुङका अनुसार वर्षा र हिमपातका कारण यात्रा कठिन बनेको छ । “मनाङमा भारी हिमपात भइरहेकाले मौसम हेरेरै अघि बढ्ने योजना छ,” उनले बताए । उनका अनुसार पदयात्राको अवधि पनि केही लम्बिन सक्ने सम्भावना छ ।

शरद ऋतुमा खुला आकाश र मनमोहक दृश्य अवलोकनका लागि पदयात्रामा निस्कने पर्यटक अहिले निराश बनेका छन् । आकाश धुम्मिँदा र लगातार झरी परेकाले कतिपयले यात्रा स्थगित गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका प्रमुख डा. रवीन कडरियाले तिहारलगत्तै पर्यटकको चहलपहल बढेको भए पनि मौसम बिग्रँदा आवागमनमा असर परेको बताए । “हिमपात र वर्षाका कारण हाल गतिविधि सुस्त छन् । तर, सबै पर्यटक सुरक्षित छन्,” उनले भने ।

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलमा गएरातिदेखि नै हल्का वर्षा र हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा मनाङको चामेमा ६४.४ मिलिमिटर र मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासनहरूले पदयात्रीलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीले जारी गरेको सूचनामा अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल, खुमैडाँडा, कोरीलगायत गन्तव्यमा मौसम सफा नभएसम्म नजान अनुरोध गरिएको छ ।

सूचनामा पदयात्रा अघि मौसम विभागका सूचना पालना गर्न, समूहमा यात्रा गर्न, आवश्यक न्यानो कपडा, औषधि, तातोपानी र जीवनजलसहितको तयारी गर्न तथा धुम्रपान–मद्यपान नगर्न आग्रह गरिएको छ ।

डा. कडरियाले मौसम खुल्नासाथ पर्यटकीय गतिविधि पुनः सक्रिय हुने विश्वास व्यक्त गरेका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली जनजीवन र सांस्कृतिक विविधताका कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस्