
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवाको सामान्य मागलाई लिएर आन्दोलनमा उत्रिएका विद्यार्थीहरूमाथि सरकारले दमन गर्दा यति ठूलो विस्फोट होला भन्ने कुरा तानाशाही बाटोमा हिँडेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।
शान्तिपूर्ण रुपमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरूमाथि ओली सरकारले अन्धाधुन्ध गोली चलाएर विद्यार्थीहरूको हत्या नगरेको भए यो स्थिति सतहमा आउन अझै केही समय लाग्ने थियो भन्ने कुरा घटनाक्रमले बताउँदै गएको छ ।
‘लाटो देशमा….तन्नेरी’ भनेझैँ ओली आफूले आफैँलाई निकै लोकप्रिय भएको अभिनय गर्दै आर्यघाटमा नपुग्दासम्म सत्तामै बसिरहने हठ गर्दै आएका थिए । उनको यो हठलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाले साथ दिँदै आएका थिए । यस पछाडिको कारण नक्कली भुटानी शरणार्थी काण्डबाट आरजुलाई जोगाउनु थियो ।
ओलीका यस्तै हर्कतका कारण आमनागरिक असन्तुष्ट थिए । एमालेभित्र पनि ओलीको अहंकार र हठविरुद्ध अर्को विद्रोहको तयारी हुँदै थियो । यही पृष्ठभूमिमा एमाले विधान महाधिवेशनमा विद्यादेवी भण्डारी पक्षको जनमत बिथोल्न उनले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने एकल निर्णय गरेका थिए, जसको परिणाम देश नै खरानीमा परिणत भयो ।
जेन–जीको उद्देश्य देशलाई खरानी बनाउनु थिएन । भ्रष्टाचारमुक्त देश उनीहरूको पहिलो सर्त थियो, तर घुम्ने मेचमाथिका अन्ध शासकहरूले आफ्नो पतनमात्र निम्त्याएनन्, देशको संविधान नै धरापमा पारेर यो अवस्थाको जग निर्माणमा सहयोग पु¥याए । त्यसो त ओलीले दुई–दुई पटक संसद् भंग गरेर देशलाई २०७७ साल पुस ५ गते नै धराशायी बनाउन खोजेका थिए ।
अहिले उनै ओली संसद् पुनःस्थापनाको माग गर्दै जेन–जी आन्दोलनको बलिदानीलाई होच्याउन खोजिरहेका छन्, जुन कुराले देशलाई थप बर्बादीमा पु¥याउनेतर्फ उनको ध्यान गएको छैन । उनले अझै पनि प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन्, जुन कुरा सम्भव छैन । जेन–जी आन्दोलनबाट फालिएका भ्रष्ट तानाशाह शासकहरू फर्केर सत्तामा आएको थाहा छैन । बंगलादेश, श्रीलंकाबाट पाठ सिकेर ओलीले राजनीतिमा विश्राम लिनु नै देश र संविधानका लागि राम्रो हुनेछ ।
यो कुरा बुझेर शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरू आमनिर्वाचनको तयारीमा जुटेका छन् । अहिलेको संकट समाधान र जेन–जीको माग पूरा गर्ने आधार भनेकै नयाँ जनादेश हो । त्यसका लागि राजनीतिक दल तयार भएनन् र फागुन २१ मा निर्वाचन भएन भने देशमा अर्को तानाशाह जन्मिने छ । यो कुराप्रति सबै समयमै सचेत हुनुपर्छ ।
कमसेकम अहिले सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ, त्यसको एकमात्र उद्देश्य भनेको फागुन २१ गते आमनिर्वाचन सम्पन्न गर्नु र आन्दोलनकारीहरूको हत्या गर्ने र अकूत सम्पत्तिका भ्रष्टहरूमाथि कारबाही गर्नु हो । यो सरकारबाट त्यो सम्भव भएन भने अपराधीहरूलाई जेल कोच्न अर्को सरकार आउने छ ।
समयको माग पनि त्यही नै हो । तर, यो कुरा जेन–जीका हत्याराहरूले हेक्का राखेका छैनन् । उल्टै तीन दशकदेखि लोकतन्त्रको आडमा आलोपालो देश लुट्दै आएका तिनै भ्रष्ट अनुहारहरूले यो सरकारलाई असफल बनाएर देशलाई अन्धकारतिर धकेल्न खोज्दैछन् । जुन कुरा देशका लागि अर्को दुर्भाग्य हुनेछ । त्यसैले समयमै निर्वाचन गर्नुको विकल्प छैन ।











