तारा बनेका बा मेरा « Drishti News – Nepalese News Portal
Logo

तारा बनेका बा मेरा


- कृष्णमणि पराजुली


  • कृष्णमणि पराजुली

जो कोही पनि जीवनको उत्तराद्र्धमा अतीतका कुरालाई सम्झेर चिन्तन मनन गरेको हुन्छ । मन नलाग्दा नलाग्दै पनि धेरै कुरा मनमा खेलाएको हुन्छ । सायद,उसको कमजोर शारीरिक अवस्थाको कारणले अन्य काम गर्न नसक्ने भएको हुँदा मनगढन्ते कुराले नै उसको जीवनमा निरन्तरता पाएको हुन्छ । आफ्ना दौंतरी पनि आफूजस्तै हुनाले भेटघाट हुने कार्य पनि मुस्किलले हुने गर्दछ । मेरो पनि अवस्था त्यही नै हो । जानेबुझेकाले नपत्याउने भइहाले । युवाहरुमा जोश जाँगर र अहम्पन झन् हुने नै भइहाल्यो । बुढेसकालको जीवन हुनेखानेका लागि पनि त्यति फलदायी नहनु पनि स्वभाविकै हो ।

अरु काम केही गर्न नसक्ने भएपछि आफैँभित्रका पुराना कुरा खेलाउन मन लाग्दोरहेछ । म सानो छँदा ज्यादै नै दुब्लो, पातलो, ख्याउटे, मरन्च्यासे, लुरे थिएँ । कसैले मलाई गाली दिनप¥यो भने लुरे भन्ने गर्दथे । त्यस समयमा जे विशेषण लगाए पनि त्यसको मलाई अर्थ लाग्दैनथ्यो । मलाई यति मात्र थाहा थियो, मलाई यिनीहरुले नराम्रो ठानेका हुन् । बाहिरका मान्छेले त भन्ने नै भए, आफ्नै परिवारबाट पनि यिनै विशेषण लगाएर बोलाउने गरिन्थ्यो । मलाई भने घरका मानिसले त्यसो भन्दा मन अलि खल्लो हुन्थ्यो, तर यो खिन्नता क्षणिक हुन्थ्यो । तुरुन्तै बिर्सिएको हुन्थेँ । परिवारमा म सबभन्दा सानो भएकाले आमाको माया भने सबै नै मैतिर खनिएको हुन्थ्यो । त्यसैले मेरी आमाले मलाई कहिले पनि यस्ता नराम्रा शब्द प्रयोग गर्नु हुन्नथ्यो । मलाई अहिले लाग्छ, मैले कसैलाई केही नगर्दा पनि मलाई किन यस्ता शब्द बर्सिए, अझसम्म पनि बुझ्न सकेको छैन । हाम्रो समाज यस्तो छ कि जो कमजोर छ उसैप्रति खनिने गर्दछ । ठूलाबडाका छोराछोरीलाई कसैले पनि अपशब्द प्रयोग गरेका हुँदैनन् । अहिले पनि यो हट्न सकेको छैन । जो होचो उसको मुखमा घोचो भन्ने उखान चरितार्थ भएको पाइन्छ ।

कृष्णमणि पराजुली

०००

धेरै बेरपछि आमाले अल्छी लागेजस्तो निन्याउरो मुख लगाउँदै मलाई हेर्दै भन्नुभयो ‘कान्छा ! तेरा बा तारा बन्न आकाशमा जानुभएको छ ।’ यसो भन्दा मलाई अचम्म लागेर आयो । मान्छे पनि कसरी तारा बन्ने होला भनेर । मलाई यो पनि लाग्यो कि मेरा बा आकाशमा हुनुहुन्छ र भोलिपर्सी कुनै दिन घर फर्केर आउनुहुन्छ । आमाले यति मात्र भन्दा पनि मेरो मन खुशी भयो । मेरा बा पक्कै हुनुहुन्छ र साँच्चै नै छिट्टै घर फर्किनुहुन्छ ।

अरु साथीहरुले हातमा किताब लिएर टुकुटुकु गर्दै विद्यालय गएको देख्दा मलाई असाध्यै खुशी लागेर आउँथ्यो । त्यो देख्दा मन असाध्यै प्रफुल्लित हुन्थ्यो । म पनि विद्यालय जान पाए हुन्थ्यो भन्ने लाग्दथ्यो । केही समयपछि विद्यालय जान पाएकामा मेरो हर्षको सीमा थिएन । अरुले कराइकराइ पढेको देख्दा मलाई अचम्म लागेर आउँथ्यो । पढाइको विषयमा के, कसरी, किन भन्नेबारे मनभित्र धेरै जिज्ञासा रुमल्लिएका हुन्थे । पढाइमा मेरो मन गढेको हुँदा सधैँ नै रमाइलो लागेको हुन्थ्यो र विभिन्न जिज्ञासा पनि आइनै रहेका हुन्थे ।

तर, एउटा कुराले भने मलाई सधैँ नै सताइरहन्थ्यो । मनबाट हटाउँछु भन्दा पनि हट्दैनथ्यो । विद्यालयमा कुनै साथीसँग झगडा भयो भने घरमा गएर बालाई भनिदिन्छु भनेर साथीहरुले ध्वांस दिँदा म भने बोल्न सक्दैनथेँ । म पनि बालाई भनिदिन्छु भन्न सक्दैनथेँ, कारण मैले घरमा बा देखेको थिइनँ । अरु सबैका घरमा बा हुन्थे । सबैले बाको ढाडस दिएका हुन्थे । मैले घरमा बालाई कहिले पनि देखिनँ । मलाई अचम्म लागेर आउँथ्यो, मेरा बा कहाँ गए होलान् भनेर । मलाई बाको विषयमा मनभित्र खुल्दुली भइरहे पनि कसैसँग सोध्ने आँट गर्न सक्दैनथेँ । मनभित्रभित्रै धेरै जोड–घटाउ गरेर बसेको हुन्थेँ र यसरी मेरो खुल्दुली मनभित्रै रहिरहन्थ्यो ।

निश्चय नै हो मनभित्र धेरै कुरा लुकाएर राख्न सकिँदोरहेनछ । लामो अवधिसम्म प्रश्न गर्ने ममा आँट आएन । सानो फुच्चे त्यसमा पनि अरुसँग घुलमिल हुन नरुचाउने हुँदा कुनै पनि विषयमा मेरो अघि बढ्ने आँट आउँदैनथ्यो । जसले जे भने पनि जे गरे पनि सहेर बस्ने बानी ममा थियो नै । त्यसैको परिणाम अहिले पनि भोग्नु परिरहेको छ । साथीहरुले पनि मेरो बाको बारे सोधेका हुँदैनथे । तेरो बा खै भनेर कसैले सोधे भने के जवाफ दिने होला भनेर मनभित्र म जवाफ खोजिरहेको हुन्थेँ ।

घरमा पनि बाको विषयमा कहिले पनि केही कुरा हुँदैनथ्यो । वर्षको एक दुईपटक श्राद्ध गर्दा पुरोहितले बाको नाम के हो भन्दा मलाई मेरा बा पनि रहेछन् भन्ने लाग्दथ्यो । बा नभएको भए त नाम पनि त हुँदैनथ्यो होला भन्ने अनुमान गरेको हुन्थेँ । यसरी मेरा बा पक्कै छन् तर, कहाँ छन् भन्ने जिज्ञासाचाहिँ रहिनै रह्यो ।

म काँतर र लज्जालु स्वभावको भएकाले आमासँग पनि प्रश्न राख्न सक्दैनथेँ । सबै साथीहरुले आ–आफ्ना बाको बारे कुरा गर्थे । बाहरु पनि उनीहरुलाई विद्यालय लैजाने र ल्याउने गरेको देख्दा मलाई कहिले डाहा हुन्थ्यो भने, कहिले चिन्ता लागेको हुन्थ्यो । धेरैपटक बाको बारेमा आमासँग सोध्ने प्रयास गरे पनि सोध्ने आँट भने मैले गर्न सकिनँ । कलिलो उमेरमा बसेको छाप मेटाउन धेरै नै गाह्रो हुँदोरहेछ । बाको बारे जानकारी लिने जिज्ञासा मेरो मानसपटलबाट बाहिर जानै सकेन र कौतुहल नै रह्यो । सधैँजसो मेरो मनमा यही कुराले जरा गाडेको थियो ।

कौतुहल बढ्दै गएकाले मन थाम्नै सकिनँ र एक दिन आमासँग सोध्ने अठोट गरेँ । प्रायः गरेर म आमासँग सुत्ने गर्दथेँ । घरमा मभन्दा सानो मान्छे कोही नभएकाले गर्दा होला आमाले सधैँ मलाई नै लिएर सुत्ने गर्नुहुन्थ्यो । हामी दुई आमा छोरा राति सुतिरहँदाको बेला दिनभरि के भयो, कहाँ गइयो जस्ता साधारण कुरा मात्र गरिन्थ्यो । त्यसभन्दा अन्य कुरा गर्ने मेरो क्षमता थिएन र आमाले पनि यस्तै कुरा गरेर हामी निदाउने गर्दथ्यौँ ।

बाको बारे कसरी कुरा गर्ने भन्ने मनमा लागे पनि कहाँबाट शुरु गर्ने भन्ने विषयमा मलाई साहसै आएन । यसो कुरा गर्छु भन्ने लाग्थ्यो । मन ढक्क फुलेर आउँथ्यो । धेरैपटक आँट गर्दागर्दा एकपटक भने भन्न भ्याइहालेँ ‘आमा ! हाम्रो बा कहाँ हुनुहुन्छ’ ? आमाले सुनेको नसुन्यै गर्नुभयो । मलाई अचम्म लागेर आयो । यसअघि जहिले पनि बोली रहने मेरी आमा त्यस दिन पटक्कै बोल्नु भएन । त्यसबेला आमा पिँढीको पल्लो छेउ जाँतोको अडेस लाएर टपरी गाँसिरहनुभएको थियो । आमा नबोलेको देखेर मलाई लाग्यो टपरीको सिन्को यताउता लागेर टपरीको आकार बिग्रिन्छ भनेर नबोल्नु भएको होला । धेरै समय बितिसक्दा पनि आमा नबोल्नु भएकाले आमा रिसाउनुभयो कि भन्ने मैले अन्दाज गरेँ । मेरो मनमा झन् डर पलाउँदै गयो । बेकार मैले किन सोधेँजस्तो लाग्यो ।

त्यसपछि आमाको अनुहार निन्याउरो हुँदै गयो । आँखाभरि आँशु भरिए । टपरी लाउँदै गरेका आमाका हातहरु पनि लुला भएकाजस्ता लाग्न थाल्यो । आमाको शीरमाथि उचालिएन र मतिर हेर्दै हेर्नुभएन । आमा किन मदेखि रिसाउनुभयो भन्ने ममा पीर पर्न गयो । घरको वातावरण नरमाइलो बन्दै गयो । दुई आमा छोराबीच पनि कुराकानी नभएको हुँदा सबै कुरा शून्यजस्ता देखिन्थे ।

धेरै बेरपछि आमाले अल्छी लागेजस्तो निन्याउरो मुख लगाउँदै मलाई हेर्दै भन्नुभयो ‘कान्छा ! तेरा बा तारा बन्न आकाशमा जानुभएको छ ।’ यसो भन्दा मलाई अचम्म लागेर आयो । मान्छे पनि कसरी तारा बन्ने होला भनेर । मलाई यो पनि लाग्यो कि मेरा बा आकाशमा हुनुहुन्छ र भोलिपर्सी कुनै दिन घर फर्केर आउनुहुन्छ । आमाले यति मात्र भन्दा पनि मेरो मन खुशी भयो । मेरा बा पक्कै हुनुहुन्छ र साँच्चै नै छिट्टै घर फर्किनुहुन्छ ।

मेरो अनुहारमा खुशी आए पनि आमाको अनुहारमा भने खुशी थिएन । सायद उहाँले मनमा धेरै कुरा खेलाइरहनुभएको थियो होला । मेरो मनमा पनि धेरै कुरा खेलिरहेका थिए । मेरा बा किन आकाशमा जानुभयो, किन तारा बन्नुभएको होला, कहिले जानुभएको होला, कहिले आउनुहुन्छ होला जस्ता कुराले खुल्दुली मच्चाइरहेको थियो । त्यसैले यी प्रश्नहरुको पनि जवाफ आमाबाट पाउन म उत्सुक थिएँ र यिनै प्रश्न आमालाई सोधेँ पनि ।

आमाले जे भन्नुभयो त्यस कुरामा मलाई विश्वास हुन्थ्यो । जे भन्नुहुन्थ्यो त्यही नै ठीक हो जस्तो लाग्दथ्यो । आमाले भन्दै जानुभयो, ‘तेरा बालाई आकाश खुब मन पर्दथ्यो, आकाशमा जान पाए हुन्थ्यो, त्यसमा पनि तारा बनेर उज्यालो दिन पाए कति आनन्द हुन्थ्यो होला भन्नुहुन्थ्यो ।’ त्यही ताराको खोजीमा जानुभएको हो भन्दा मलाई बा कहिले आउनुहुन्छ होला भन्ने आश गरेर कुरिरहेको थिएँ ।

प्रत्येक दिन बाको पिरलोले मलाई छोड्दै छोडेन । दिउँसो विद्यालय जाने हुँदा साथीभाइको संगतले बाको याद नभए पनि बेलुका भने बाको सम्झनाले मलाई पिरोलेकै हुन्थ्यो । जति–जति साँझ पर्दै जान्छ त्यति मलाई तारा हेर्ने रहर जागेर आउँथ्यो । रात छिप्पिँदै जाँदा ताराहरु पनि ठूला भएका भान मलाई लाग्दथ्यो । धेरै पहिले मेरा बा आकाशमा गएका हुँदा त्यो ठूलो देखिने तारा मेरा बा हुनुहोला जस्तो लाग्दथ्यो । तारा नदेखेको दिन मलाई नरमाइलो लागेर आउँथ्यो । तारा बनेका बा मेरा किन आज देखा पर्नुभएन भन्ने पीर लागेर आउँथ्यो । मन खिन्न भएर आउँथ्यो । सायद त्यो दिन मेरा बा बिरामी हुनु भएर नदेखिनु भएको हो कि जस्तो लाग्दथ्यो ।

आमा राति आकाशतिर हेर्दै ऊ ध्रुवतारा त्यतिमाथि आइसकेको भनेका कुराले पक्कै नै आकाशमा बालाई आमाले देख्नुभएको कुरामा मलाई विश्वास लागेर आउँथ्यो । म पनि बेला–बेलामा आकाशतिर मुण्टो फर्काएर तारा हेरेको हुन्थेँ । कुनचाहिँ ठूलो तारा छ त्यही नै मेरा बा हुनुहुन्छ जस्तो लाग्दथ्यो । तर पनि कुनचाहिँ तारामा मेरा बा बन्नुभएको भन्ने चाहिँ मलाई यकिन थिएन । यसरी म ठूलो र बुभm्ने नहुँदासम्म आकाशतिर मुण्टो फर्काएर तारा हेरेर बा खोज्ने काम मेरो भई नै रह्यो ।

धेरै वर्ष बितिसक्दा पनि बा मेरा नआएकाले मलाई पिर बढ्दै गयो । आज आउनुहुन्छ कि भन्यो, आउनुहुन्न । भोलि आउनुहुन्छ कि भन्यो आउनुहुन्न । धेरै तारामध्ये कुन तारा मेरा बा हुन् भन्ने थाहा हँुदैनथ्यो मलाई र बा पहिले नै आकाशमा जानुभएकाले निश्चय नै ठूलै तारा नै हुनुहोला जस्तो लाग्थ्यो । कहिलेकाहीँ आकाशबाट स्वार्रर तारा झर्दा मेरा बा आउनुभयो कि जस्तो लाग्थ्यो । तर, त्यो तारा बीचैमा हराएकाले मन त्यसै बेचैनी हुन्थ्यो र मेरो आशा त्यसै सेलाएको हुन्थ्यो ।

बाको बारे आमाले मलाई साँचो कुरा नभन्दा नभन्दै म त ठूलो भइसकेको रहेछु । बाको बारे छरछिमेकीमा कुरा हुँदा मैले थाहा पाएँ कि मेरा बा त म नजन्मिदै स्वर्गे हुनुभएको रहेछ र पो मैले नदेखेको रहेछु । सायद सानो बालकको मनमा नराम्रो भावना उत्पन्न होला भनेर आकाशमा तारा बन्न जानुभएको छ भन्नुभएको रहेछ आमाले । यसरी आमाले धेरै वर्ष ढाँट्नु भए पनि त्यो मेरै भविष्यको लागिरहेछ भन्ने कुरा पछि मैले बुझेँ । धन्य मेरी आमा तपाईंप्रति म धेरै धेरै कृतज्ञ छु ।

अहिले पनि यी बाल्यकालका कुराको सम्झनाले बेलाबेलामा मनलाई दुखाउने गर्दछ । बा भएको भए बाले मलाई कति धेरै माया गर्नुहुन्थ्यो जस्तो लाग्दछ । आमाले भनेका कुरा साँचो भइदिएको भए तारा भएर आउनुहुन्थ्यो कि जस्तो लाग्दछ । जे भए पनि अब म सात दशक पार गर्ने अवस्थामा पुगेको हुँदा जसरी भए पनि मन बुझाउनुपर्छ जस्तो लाग्छ । मनले उत्तर खोजिरहेको छ, कहिले फर्केर आउनुहुन्छ तारा बनेका बा मेरा ?

(लेखक : नेपाल सरकारका पूर्वउपसचिव हुन्)

 

प्रतिक्रिया दिनुहोस्