Logo
Logo

‘आजको काम आजै, टाढाको लागि प्राथमिकता’ : कावाअध्यक्ष बुढाथोकी


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ १५ असोज । प्रेस काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन नयाँ शैली अवलम्बन गरिने, आजको काम आजै सम्पादन गर्नेे कार्यवाहक अध्यक्ष बुढाथोकीको प्रतिबद्धतापत्रमा उल्लेख छ । काउन्सिलले अबदेखि उपत्यकाबाहिर टाढाबाट आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएर प्रक्रिया पुगेको अवस्थामा सोही दिन वा २४ घण्टाभित्र काम फत्ते गर्ने जनाइएको छ । ‘उपत्यकाबाहिर टाढा–टाढा बाट आउने सेवाग्राही (विशेष गरी कर्णाली, सुदूरपूर्व र सुदूरपश्चिमबाट आउने)लाई विशेष प्राथमिकता दिइनेछ ।

कार्यवाहक अध्यक्ष बुढाथोकीले साँघु साप्ताहिकको सम्पादक नरहने जानकारीसमेत गराउनुभएको छ । आज १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कार्यवाहक अध्यक्ष बुढाथोकीले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष पदमा रहुञ्जेल साँघु साप्ताहिकको सम्पादक पदमा नरहने बताउनुभएको हो । उहाँले पदमा रहुञ्जेल कुनै पनि सञ्चारमाध्यमको सम्पादक र राजनीतिक दल तथा सङ्घ–सङ्गठनमा नरहने घोषणा गर्नुभएको छ ।

‘यही असोज ९ गते कार्यवाहक अध्यक्षमा नियुक्त हुनुभएका बुढाथोकीले काउन्सिलको नेतृत्वमा रहँदा कार्यालय समयभन्दा बाहिर कार्यालयको सवारीसाधन प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । ‘विशेष काम र परिस्थितिबाहेक कार्यदिन र कार्यालय समयभन्दा बाहिर कार्यालयको सवारीसाधन प्रयोग गरिने छैन । सार्वजनिक बिदाको दिन कार्यालयको कामबाहेकसवारी साधन र अन्य सेवा प्रयोग गरिने छैन । सार्वजनिक बिदाको दिन कार्यालयको साधन प्रयोग गर्दा प्रयोजन स्पष्ट उल्लेख गरी अभिलेखपश्चात् प्रयोग गरिने छ । कार्यवाहक अध्यक्षका हैसियतमा प्राप्त सेवा सुविधा र खर्च (इन्धनलगायत) सकेसम्म कटौती गरी मितव्ययी बनाउन प्रयत्न गर्नेछु’, प्रतिबद्धतापत्रमा भनिएको छ ।

अनलाइनको श्रेणीकरणको लागि पहल गरिने

बुढाथोकी आमसञ्चारका नयाँ–नयाँ माध्यम र प्रविधिको व्यवस्थापनाका लागि नीतिगत पहल गर्ने बताउनुभएको छ । उहाँले अनलाइनको नियमन र सुविधाको लागिश्रेणीकरण हुनुपर्ने उल्लेख गर्नुभएको छ । ‘अनलाइन सञ्चारमाध्यमको वस्तुस्थिति तथा संरचनाबारे सर्भेक्षण गरी उनीहरूको अवस्था, सम्प्रेषित सामग्रीको प्रभाव, आचारसंहिता पालना, सामाजिक उत्तरदायित्व बहनलगायतका आधारमा श्रेणी निर्धारण गर्न सरोकार पक्ष र सम्बन्धित विज्ञहरू सम्मिलित बैठक÷छलफलबाट समयसापेक्ष कार्यविधि बनाई निश्चित मापदण्डका आधारमा श्रेणी तोकी सहजीकरण एवं यसबारे बजेटमा उल्लेखित विषयको मूर्तरूपमा कार्यान्वयनको लागि पहल गरिनेछ।’ बुढाथोकीद्वारा जारी प्रतिबद्धतापत्रमा भनिएको छ । यस्तै काउन्सिलले गर्दै आएको पत्रपत्रिका वर्गीकरण सम्परीक्षणको काम अघि बढाउन पहल गर्ने बताउनुभएको छ ।

उहाँले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम सामाजिक सेवा, असहाय, अपाङ्गता भएका बालबालिका र राष्ट्रिय महत्वका अनुसन्धान तथा खोजमा संलग्न व्यक्ति÷संस्थाको लागि उपलब्ध गराउने पनि बताउनुभएको छ । १६ बुँदे प्रतिबद्धतापत्रमा युट्युबको नियमन र पेसागत शुद्धीकरणको लागि पहल गर्ने, सबैसँगको समन्वय र सहयोगमा पत्रकारिता क्षेत्रको श्रीवृद्धिको लागि प्रयासरत रहने भन्दै प्रतिबद्धता कार्यान्वयनमा सम्बद्ध सबैको सहयोगको अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्