Logo
Logo

निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिले थलिँदै बैंकिङ क्षेत्र


189
Shares

काठमाडौं । पछिल्ला केही वर्षयता आर्थिक गतिविधि सुस्त बन्दै जाँदा बैंकिङ प्रणाली क्रमशः दबाबमा धकेलिँदै गएको छ । निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्ति बढ्दै गएसँगै बैंकहरूको जोखिम सूचकहरू लगातार कमजोर हुँदै गइरहेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणहरूले देखाएको यो अवस्थाले कर्जा असुली प्रक्रियामा कमजोरी, ऋणीहरूको पुनर्भुक्तानी क्षमतामा आएको गिरावट र समग्र आर्थिक स्वास्थ्यमा देखिएको निष्क्रियतालाई उजागर गरेको छ । वित्तीय प्रणाली बलियो बनाउनुपर्ने समयमा उल्टै जोखिम सूचकहरू बिग्रिँदै जानुले बैंकिङ क्षेत्र ‘चिन्ताजनक मोड’ मा प्रवेश गरिसकेको जानकारहरू बताउँछन्।

असोजसम्म आइपुग्दा वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा ४.८९ प्रतिशत पुगेको छ, जुन गत असारमा ४.०४ प्रतिशत थियो । पहिलो त्रैमासमै करिब एक प्रतिशत बिन्दु बराबरको वृद्धि हुनुले कर्जा जोखिम तीव्र गतिमा बढिरहेको देखाएको छ । हिमालयन, एनआइसी एसिया, कुमारी, सिटिजन्स, प्राइम, प्रभु र नेपाल बैंकजस्ता ठूला बैंकहरूको निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा माथि पुगेको छ, जसलाई उच्च जोखिमको दायरामा राखिन्छ ।

यसले बैंकहरूको कर्जा मूल्यांकन, अनुगमन तथा असुली प्रक्रियामा विगतमा भएका कमजोरीहरू अहिले सतहमा आएको देखाएको छ । बैंकरहरूको भनाइमा ठूलो परिमाणमा देखिएको निष्क्रिय कर्जा वृद्धि साना ऋणीभन्दा पनि ठूला ऋणीहरूमा आएको समस्याको परिणाम हो । पछिल्ला केही समययता ठूला ऋणीहरू समस्यामा परेर असुली प्रभावित भइरहेको छ । जसले गर्दा निष्क्रिय कर्जा बढ्दै गएको बैंकरहरू बताउँछन् ।

असुलीमा गएका बैंकरहरू खाली हात फर्कनुपरेको सुनाउन थालेका छन् । कतिपयले भने राज्यले मिनाहा गर्न सक्ने भन्दै लिएको ऋण तिर्नका लागि इन्कार गरिरहेको बैंकरहरू बताउँछन् ।

निष्क्रिय कर्जा मात्र होइन, गैरबैंकिङ सम्पत्ति पनि निरन्तर बढ्दो छ । असोजसम्म गैरबैंकिङ सम्पत्ति १.०९ प्रतिशतले बढेर ४३ अर्ब ६१ करोड पुगेको छ । कर्जा तिर्न नसकेर बैंकको नाममा चढ्ने धितो सम्पत्तिको थुप्रो यसरी बढ्नु भनेको बैंकहरू आफैं अचल सम्पत्ति व्यवस्थापनमा अल्झिन बाध्य हुनु हो ।

ग्लोबल आइएमई एक्लैले ६ अर्बभन्दा बढी गैरबैंकिङ सम्पत्ति बोकेको छ । एभरेष्ट, सिद्धार्थ, माछापुच्छ्रे, नेपाल एसबीआईलगायत अधिकांश बैंकहरूले करोडौँदेखि अर्बौँसम्म यस्तो सम्पत्ति बुक गरेका छन्। स्ट्याण्डर्ड चार्टर्डबाहेक सबै बैंकहरूमा गैरबैंकिङ सम्पत्तिवृद्धि देखिनु बैंकिङ प्रणालीमै जोखिम बढ्दै गइरहेको संकेत हो ।

नेपालमा लिलामी प्रक्रिया जटिल हुनु, धितोको मुख्य भार घरजग्गामा हुनु र त्यही बजार सुस्त हुनु गैरबैंकिङ सम्पत्ति बढ्नुको प्रमुख कारण मानिन्छ । भूमि सम्बन्धी ऐनले बैंकहरूले तीन वर्षभित्र यस्ता सम्पत्ति बिक्री गर्नुपर्ने प्रावधान राखे पनि व्यवहारमा त्यो पूरा गर्न बैंकहरू असमर्थ देखिएका छन् ।

खराब कर्जाको चाप बढिरहनुले बैंकिङ प्रणालीको जोखिम व्यवस्थापन क्षमतामै प्रश्न उठाएको छ । कर्जा असुली, धितो बिक्री, व्यवसाय पुनर्संरचना र जोखिम कर्जालाई समयमै पहिचान गर्ने प्रक्रियामा अझै सुधार आवश्यक रहेको देखिन्छ ।

बजारमा खरिदकर्ता नदेखिनु र मूल्य अपेक्षित रूपमा नउठ्नुले धितो बिक्री प्रक्रियालाई ठप्प बनाएको छ। यसले बैंकहरूको पूँजीगत दबाब मात्र बढाएको छैन, कर्जा प्रवाह क्षमता पनि कमजोर बनाइरहेको बैंकरहरू बताउँछन् ।

वित्तीय क्षेत्रका जानकारहरूका अनुसार अहिले देखिएको जोखिमको जरो विगतका त्रुटिपूर्ण नीतिहरू, महामारीपछिको अत्यधिक लचक नीति र बैंकहरूको कर्जा विस्तारमा देखिएको आक्रामकता नै हो । ऋणीहरूको क्षमताभन्दा बढी कर्जा प्रवाह, कमजोर अनुगमन र उच्च जोखिम परियोजनामा अत्यधिक एक्सपोजरले आजको अवस्था सिर्जना भएको विश्लेषण छ ।

पछिल्ला तीन वर्षमा १० अर्बभन्दा बढी रकम ‘राइट अफ’ गर्नुपरेको तथ्य नै कर्जा गुणस्तरमा गहिरो समस्या रहेको प्रमाण हो । यस्तै खराब कर्जाको थुप्रो बढ्नुले बैंकिङ क्षेत्रको आन्तरिक व्यवस्थापनमा पनि सुधार अपरिहार्य रहेको संकेत गर्छ ।

खासगरी बैंकहरूले आफूहरूसँग रहेको गैरबैंकिङ सम्पत्ति तीन वर्ष भित्रमा बेच्नुपर्ने व्यवस्था छ । तर नेपालका अधिकांश धितो घरजग्गा रहेको र अहिले घरजग्गाको कारोबार सुस्त भएको कारण यस्तो सम्पत्ति बिक्री हुन सकेको छैन । एकातिर असुल नभएको कर्जाको धितो लिलाम गर्दा पनि बिक्री हुन नसक्दा गैरबैंकिङ सम्पत्ति बढिरहेको छ भने अर्कातिर भएको गैरबैंकिङ सम्पत्ति पनि बिक्री नहुँदा बैंकरहरू तनावमा छन् ।

यस्तै, निष्क्रिय कर्जा पनि निरन्तर बढ्दै जाँदा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम बढ्दै गइरहेको छ । यसले बैंकहरूको कर्जा लगानी गर्ने क्षमतामा ह्रास आइरहेको छ भने पुँजीकोषमाथि पनि दवाव बढ्दै गएको तथ्यांकले देखाउँछ ।

अर्थतन्त्र सुस्त हुँदा यसको प्रत्यक्ष असर बैंकहरूको नाफामा परेको छ । पहिलो त्रैमासमै बैंकहरूको खुद नाफा १८.४७ प्रतिशतले घटेर १३ अर्ब १४ करोडमा झरेको छ । गत वर्षको सोही अवधिमा यो १६ अर्बभन्दा बढी थियो । सम्भावित कर्जा नोक्सानी व्यवस्थापनमा मात्र बैंकहरूले २० अर्बभन्दा बढी राख्नुपरेको छ, जुन गत वर्षको भन्दा दोब्बर हो ।

यसको असर सञ्चालन नाफामा मात्र सीमित नभई पूँजीगत पर्याप्ततामा समेत पर्ने संकेत देखिएको जानकारहरूको भनाइ छ । भदौमा देखिएको जेनजी आन्दोलन, बजारमा फैलिएको अनिश्चितता र निजी क्षेत्रको मनोबल खस्कनुले पनि वित्तीय विवरणमा असर पारेको बैंकरहरू स्वीकार्छन् ।

पहिलो त्रैमासमा खराब कर्जा औसत ४.५९ प्रतिशत पुगेको छ, जुन गत वर्षको ३.८९ प्रतिशतबाट उल्लेख्य वृद्धि हो । खराब कर्जाको चाप बढिरहनुले बैंकिङ प्रणालीको जोखिम व्यवस्थापन क्षमतामै प्रश्न उठाएको छ । कर्जा असुली, धितो बिक्री, व्यवसाय पुनर्संरचना र जोखिम कर्जालाई समयमै पहिचान गर्ने प्रक्रियामा अझै सुधार आवश्यक रहेको देखिन्छ ।

यति सबै चुनौतीबीच बैंकहरूले सम्पत्ति व्यवस्थापन कम्पनी आवश्यक भएको आवाज बलियो बनाउँदै लगेका छन् । यस्तो कम्पनी बनेमा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन, धितो बिक्री, कर्जा पुनर्संरचना र जोखिम सम्पत्ति हस्तान्तरण प्रक्रिया सहज हुने उनीहरूको बुझाइ छ । राष्ट्र बैंकले मस्यौदा तयार गरिसके पनि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको प्रक्रिया सुस्त देखिनुले बैंकहरू अझै अनिश्चिततामा छन् । यसरी अनिश्चितता रहिरहँदा बैंकहरूका अन्य महत्वपूर्ण सूचकहरू समेत निराशाजनक देखिएका छन् ।

२०८२ असारको तुलनामा २०८२ असोजसम्ममा वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी औसतमा ५ रुपैयाँ २९ पैसा घटेको छ । गत असारमा वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी १९.४४ रुपैयाँ रहेकोमा असोजसम्ममा यो घटेर १४.४५ रुपैयाँमा संकुचित भएको छ ।

गत असारको तुलनामा असोजमा २० मध्ये ७ वटा वाणिज्य बैंकको मात्रै प्रतिसेयर आम्दानी बढेको उनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणले देखाउँछ ।

तीन महिना अवधि (साउन–असोजसम्म)मा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी कुमारी बैंकको बढेको छ । यस बैंकको प्रतिसेयर आम्दानी गत असारमा ८.०७ रुपैयाँ रहेकोमा असोजसम्ममा ८.०४ रुपैयाँ बढेर १६.११ रुपैयाँ पुगेको छ ।

चालु आवको तीन महिनासम्ममा सबैभन्दा बढी प्रतिसेयर आम्दानी कृषि विकास बैंकको घटेको छ । गत असारमा २७.६३ रुपैयाँ रहेको यस बेंकको प्रतिसेयर आम्दानी असोजमा आइपुग्दा १७ पैसामा सीमित भएको छ ।

यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलको प्रतिसेयर आम्दानी भने ऋणात्मक रहेको छ । चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी ५.९७ रुपैयाँ ऋणात्मक छ । जबकी गत असारमा यस बैंकको प्रतिसेयर आम्दानी ८.७६ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्