Logo
Logo

रौतहटको हिरासतमै फेरि महिलाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


रौतहट, १५ असोज । रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ । गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउत आज बिहान इलाका प्रहरी कार्यालको महिला सेलको हिरासतमा मृतावस्थामा भेटिएकी हुन् । कटानी बजारका एक युवकसँग शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान् सुमन राउतले बुधबार साँझ वडाध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए ।

प्रहरीले दुवै जनालाई निन्यत्रणमा लिएर स्वास्थ्य जाँच गराएको थियो । हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए । प्रहरीले ती महिला छारेरोगको बिरामी रहेको र लामो समयदेखि औषधि सेवन गरिरहेको बताएको छ । हिरासतमा हुँदा पनि उनलाई छारेरोगले च्यापेर दुईपटक बेहोस भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार राधिकाका श्रीमान्ले पनि आफ्नी पत्नीमा छारेरोगको समस्या रहेको बताएका छन् ।

गत साउनमा पनि गरुडास्थित प्रहरी कार्यालयको हिरासतमा एक युवकको मृत्यु भएको थियो । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीय वासिन्दाले आन्दोलनसमेत गरेका थिए । हिरासतमा उनलाई यातना दिएको खुलेपछि रौतहटका प्रहरी अधिकारी पनि अनुसन्धानमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्