
यो अंकदेखि हामी ४२ वर्ष पूरा गरेर ४३ वर्षमा प्रवेश गरेका छौँ । आजभन्दा चार दशक अगाडि प्रगतिशील विचारधाराको माध्यमबाट लोकतन्त्रको पुनः स्थापना, प्रेस स्वतन्त्रता र आर्थिक समृद्धिको उद्देश्य बोकेर स्थापित ‘दृष्टि’ आज पनि आफ्नो मिसन पत्रकारिताबाट विचलित भएको छैन । अझ बढी सशक्त रूपमा कम्युनिष्ट आन्दोलनभित्र आएको विकृति र विसंगतिविरुद्ध जुध्नुपरेको छ ।
खासगरी २०४६ सालको आन्दोलनपछि कांग्रेस र कम्युनिष्ट पार्टी आफैँमा इमानदार नभएका कारण देशमा भ्रष्टाचारले जरा मात्र गाडेन, व्यवस्था नै ध्वस्त भएर देश १० वर्षे जनयुद्धमा होमियो । त्यही जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । यसका लागि हजारौँ नेपाली जनताले बलिदानी दिएका छन् । तर त्यो सहिदको भावना, सपना र बलिदानीलाई नेताहरूले सम्मान गर्न नसक्दा आज पनि सहिदका ‘आत्मा’ भड्किरहेको छ ।
कसैले सम्मान गरे पनि, नगरे पनि भदौ २३ गतेको जेनजी आन्दोलन केपी शर्मा ओलीको तानासाही प्रवृत्तिविरुद्ध उठेको ज्वालामुखी थियो, आफूलाई नेतृत्वले समयमै सच्याउन नसक्दा दुईतिहाइको सरकार तासको घरजस्तै ढल्न पुग्यो । सिंगो देश हेर्दाहेर्दै खरानीमा परिणत भयो । यतिले पनि ओलीको चित्त बुझेको छैन र जेनजीको भावनाविरुद्ध एमालेले देशभरि ‘पञ्च ¥याली’ गर्दैछ ।
भावी पुस्ताको चाहना र आम सचेत नागरिकले आलोपालो देश लुट्ने पुराना पुस्ताका नेताहरूको अनुहार हेर्नै चाहन्नन् । उनीहरू राजनीतिमा नयाँ पुस्तालाई भित्र्याउन चाहन्छन् । यो भावनालाई बुझ्न नसक्नेहरू अबको आन्दोलन पछाडि देश छाडेर भाग्नुपर्ने अवस्था आउन सक्छ । कतै केपी शर्मा ओली त्यो दिनको प्रतीक्षामा त छैनन्, उनलाई कसले सम्झाइदिने ? जसका कारण देशमा यति ठूलो विद्रोहको जन्म भयो ।
हरेक विद्रोह र राजनीतिक परिवर्तनले नयाँ नेतृत्व जन्माउँछ । २००७ सालदेखि अहिलेसम्म यही प्रक्रियाले देश अगाडि बढिरहेको छ । परिवर्तनलाई आत्मसात् गर्न नसक्नेहरू इतिहासबाट समाप्त भएका छन् । यस कुरालाई ध्यानमा राखेर नेपालको राजनीतिलाई अगाडि बढाउन सकिएन भने त्यसले भयंकर ठूलो विद्रोह निम्त्याउँछ भन्नेतिर सोच्नुपर्छ ।
नेपालको राजनीतिमा यस्तो मोड पनि आउन सक्छ भन्नेतिर ‘दृष्टि’ले धेरै अगाडिदेखि सचेत गराउँदै आएको थियो । तर, गोर्वाचोभको बाटोमा अगाडि बढिरहेका अध्यक्ष ओलीले आफ्ना कारण यति ठूलो विद्रोह हुन्छ भन्ने कुरा अनुमानसमेत लगाउन भ्याएनन् ।
गोर्वाचोभले मृत्युअगाडि भनेजस्तै देश भित्रभित्रै यति साह्रो मक्किएको रहेछ, त्यसलाई सुधार्न खोज्दा गल्र्यामगुर्लुम ढल्यो । कतै नेपाली जनताको परिवर्तनको चाहनामा देशले गोर्वाचोभको नियति भोग्नु नपरोस् । नेपालीमा उखानै छ– बूढी मरी भन्दा पनि काल पल्कियो भन्नेतिर हामीले दूरदर्शी भएर सोचेनौँ भने हामी अकल्पनीय द्वन्द्वमा फस्ने छौँ ।
अन्त्यमा, ‘दृष्टि’ ४३ वर्ष प्रवेशको अवसरमा सम्पूर्ण पाठक, शुभेच्छुक र विज्ञापनदातामा हार्दिक शुभकामना व्यक्त गर्दछु ।











