
हिमामालिनीको गाला जस्तै चिल्लो सडक बनाइदिने लालु यादवको सन् १९९० को दशकको अभिव्यक्ति विहारको राजनीतिमा मात्र नभई भारतको राजनीतिमा चर्चामा आइरहन्छ ।
सदाबहार सुन्दर नायिका हिमामालिनीलाई जोडेर लालुले दिएको अभिव्यक्तिप्रति महिलावादीहरूले चर्को आलोचना गर्दै आएका छन् । विवादास्पद र ठट्यौली अभिव्यक्तिले लालु नाम होस् या बदनाम गुमनाम छैनन् । सत्तामा हुँदा होस् या नहुँदा राजनीतिमा छाउँदै आएका छन् । तर, उनको ठट्टा र गाउँले पाराको भाषण हाँसोको विषय बन्दै गर्दा विहार भने गरिबी र अराजकताको भुमरीमा अल्झिइरह्यो । थर्ड डिभिजनमा म्याट्रिक पास गरेर पटना विश्वविद्यालयमा अध्ययन गरेका लालुले त्यहीँबाट राजनीतिमा सक्रियता बढाए ।
विश्वविद्यालयको विद्यार्थी संगठनको चुनाव हारेपछि केही समय पटनाको भेटनरी कलेजमा चप्रासीको जागिर गरे । तर, फेरि चुनाव जितेर राजनीतिमा विहारमा लामो समय राज मात्र गरेनन् सिंगो परिवारलाई राजनीतिमा होमे । भ्रष्टाचार काण्ड लागेर राजीनामा दिनुपर्दा पाँच कक्षा मात्र अध्ययन गरेकी पत्नी राबडी देवीलाई मुख्यमन्त्री बनाए । राबरी मुख्यमन्त्री बनेको घटना भारतको राजनीतिमा रोचक र विवादास्पद रहन पुग्यो ।
लालु र उनको परिवारको राजमा विहार अपराध र अराजक गतिविधिको अखडाकै रूपमा बदनाम भयो । त्यो युगका बारे बलिउडमा गंगाजल चलचित्र नै बन्यो । कतिपय चलचित्र त्यही युग प्रतिबिम्बित हुन्छ । महारानी वेव सिरिज राबरी देवीको जीवनीमा आधारित पाइन्छ । पशु दाना घोटाला जस्ता चर्चित भ्रष्टाचारसँग लालु जोडिए ।
जातिवादी राजनीतिमा केन्द्रित उनी परिवारवादमा चुर्लुम्म डुबे । विहार निरन्तर ओरालो लाग्यो । लालुको दबदबाबाट विहार मुक्त हुन दसकौँ लाग्यो । अपराधीहरूले चुनावमा टिकट पाउने र जित्ने क्रम चलिरह्यो । विहारमा राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण भयो ।
साधु यादव, पप्पु यादव जस्ता आपराधिक पृष्ठभूमिकाहरु विहारमा चुनाव जित्थे । जंगलराज नै चल्यो विहारमा । विहारमा हुने अन्याय अत्याचारका किस्साहरु धेरै चले भारत र छरछिमेकमा । भारतका कतिपय राज्यहरूमा विहारीलाई हेर्ने दृष्टिकोण नै नकारात्मक रह्यो । तर, त्यही विहारमा अहिले ठूलो परिवर्तन आइसकेको छ ।
हालै भएको विहारको चुनावी नतिजा लालुको विरासत छोरा तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलको पक्षमा गएन । २४३ सदस्यीय विधान सभामा आरजेडी २५ सिटमा खुम्चियो । नरेन्द्र मोदीको दल भाजपाले ८९ सिट र नितिशकुमारको दल जनता दल युनाइटेडले ८५ सिट जित्यो ।
चुनावी नतिजाले लालु अब विहारको राजनीतिको केन्द्रबाट निकै टाढा पुगिसके । योसँगै लालु शैलीको राजनीति पनि विहारमा समाप्त हुने अवस्थामा छ । चुनावमा टिकट पाउने र जित हासिल गर्ने उम्मेदवारहरू लालु युगका जस्ता रहेनन् अब । अनुशासन, संस्कार र सम्मानितहरू धेरैले चुनाव जिते विहारमा । जसमध्ये मथिली ठाकुर र सुटिङकी पदकधारी खेलाडी श्रीयाषी सिंहले पनि चुनाव जिते ।
चुनावमा सबैजसो दलमा टिकट पाउनेमा प्रतिष्ठित पेशाकर्मी, कलाकारदेखि लोकप्रीय अनुहारहरू नै थिए । यसबाट अब विहार अपराधमा लागेर दर्जनौँ मुद्दा खेपिरहेकाहरूलाई स्विकार्दैन भन्ने सन्देश गएको छ । विहारका जनतालाई झुक्क्याएर र हाँसो ठट्टाबाट अलमलाएर शासन सत्तामा पुग्न सकिँदैन भन्ने सन्देश पनि गएको छ ।
लालु युगमा झुक्क्याउने र अलमलाउने अभिव्यक्ति र गतिविधि धेरै चले । कोशीमा आएको बाढीले विहारमा ठूलो क्षति पुगेमा नेपालले बाढी पठाएर भारतमा क्षति पु¥यायो भनिदिन्थे नेताहरू । बाढी आयो कि नेपालले पठायो भन्दै दोष देखाएर विहारका सोझा जनतालाई झुक्क्याउने शैली लालु यादवले मात्र चलाएनन् उनका विपक्षीले पनि लामो समय चलाए । विहार भारतको सबैभन्दा गरिब र अशिक्षित राज्यको पहिचान बोक्न बाध्य भयो ।
यतिसम्मकी विहारका कतिपय शैक्षिक संस्थाका प्रमाणपत्रमाथि भारतभित्र मात्र नभई नेपालमा समेत आशंका गरिन्थ्यो । पूर्वाधार विकासमा पछि प¥यो । एकपटक लालुले सार्वजनिक रूपमै सडक बनेमा प्रहरी छिटो आएर झुटो मुद्दा लगाइदिन्छ भने ।
सडक नबनेमा झन् फाइदा हुन्छ भनेर समेत जनतालाई भ्रममा पार्न सक्थे । तर, विहारमा यस्ता भ्रमहरू चल्दैन । आमूल परिवर्तन भइसकेको चुनावी नतिजा र त्यहाँ भइरहेका तीव्र विकासबाट बुझ्न सकिन्छ । कुनैबेला आपराधिक पृष्ठभूमिका साधु यादव र पप्पू यादव शैलीकाहरु नै चुनाव जित्ने । अहिले ती सबै पत्तासाफ भए ।
वाकपटुता र ठट्टाबाट पेट मिची मिची हँसाउन सक्ने खुबी कतिपय नेतामा हुन्छ । लालुमा त्यो खुबी छ । तर, त्यस्ता वाकपटुताले भ्रममा पार्नेहरु शासक बनेमा जनताले निकै दुःख पाउँछन् । बोलेर हँसाउने त्यस्ता पात्रहरूले व्यवहारमा रुवाउँछन् जनतालाई । त्यस्ता पात्र स्टेटम्यान जस्ता नेता भने कदापि हुन सक्दैनन् । विहारले वाकपटुता र ठट्टाबाट हँसाउने तर जङ्गलराज चलाउनेहरूलाई सदाका लागि ढोका बन्द गरिदिएका छन् । गरिबी र अराजकताको कलंक बोक्न बाध्य विहारको पहिचान फेरिन थालेको छ । विहारको मुहार पनि फेरिएको छ ।
जसरी विहारको राजनीतिमा आमूल परिवर्तनहरू आइरहेका छन् त्यसको असर नेपालमा पनि पर्ने देखिइसकेको छ । विशेषगरी नेपालको मधेस प्रदेशमा विहारको राजनीतिमा आएको रूपान्तरणको असर पर्ने निश्चित छ । मनी र मसलले चुनाव जित्दै आएकाहरूमाथि धक्का लाग्न सक्छ । जातिवादी राजनीतिमा पनि उत्तिकै धक्का पर्ने देखिएको छ ।
लालु यादवले विहारमा जातिवादी मुद्दा उठाएर क्षेत्रीय दल स्थापित गरेका थिए । त्यसमाथि लागेको धक्कासँगै राष्ट्रिय दल भारतीय जनता पार्टीले ऐतिहासिक सफलता हासिल गरेको छ । मोदीले जातिवादलाई धक्का दिने मुद्दा उठाउँदै आएका थिए । विहारमा त्यो धेरै हदमा सफल भएको छ । जातिवादीहरू विगतमा एकजुट हुन्थे, अहिले छिन्नभिन्न भएका छन् ।
विहारसँग सीमा जोडिएको तराईका विभिन्न भागहरूमा यसको असर पर्ने नै छ । जातिवादी उत्तेजना फैलाएर देश नै विभाजनको धम्की दिनेहरूको मनोबल गिर्ने घटनाहरू विकास भइसकेका छन् । उग्र मुद्दा उचालेर देशमा जन जनबीच विभाजनको खाडल खन्न खोज्नेहरूको शक्ति छिन्नभिन्न भइरहेको छ । त्यस्ता मुद्दा क्षणिक लाभका लागि व्यक्ति विशेष या स्वार्थी समूह विशेषको हितमा मात्र हुन्छ ।
सिंगो समाज र देशले त्यस्ता मुद्दाबाट नोक्सान मात्र भोग्छ । विहारमा लालुले जातिवादको आँडमा राजनीति गरेर परिवार केन्द्रित हुन पुगे । पत्नी, छोराहरू, छोरीहरू मात्र नभई ससुराली परिवारलाई समेत सत्ताको केन्द्रमा राखे ।
यस कारण लालु युगको अन्त भयो । लालुका बचेखुचेका प्रभाव पनि क्षीण हुँदै गएका छन् अहिले । भविष्यमा जातिवाद र परिवारवादको राजनीति गर्नेहरूले नेपालमा पनि ठाउँ बनाउन दिनुहुँदैन । विहारको चुनावले त्यस्ता व्यक्ति र समूहहरूलाई धक्का दिएर गतिलो पाठ सिकाएको छ ।











