Logo
Logo

मन्त्री अर्यालद्वारा स्याङ्जाका पहिरोपीडितलाई १५ लाख बढी राहत हस्तान्तरण


- दृष्टि न्युज/संवाददाता


स्याङ्जा, १७ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले केही दिनअघि आएको अबिरल वर्षाका कारण आएको पहिरोमा परी मृत्यु भएका मृतक तथा घाइतेको परिवारलाई राहत वितरण गर्नुभएको छ ।

मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परी वालिङ नगरपालिका–१४ मा मृत्यु भएका परिवारलाई राहत प्रदान गर्नुभएको हो । राहत हस्तान्तरण गर्दै मन्त्री अर्यालले स्वर्गीय माया नेपालीका छोरा भोजराज र छोरी मनिषाले आफ्ना अभिभावक गुमाउनुपरेको पीडा आफूले महसुस गरेको बताउनुभयो ।

मृतकका छोरा र छोरीको अभिभावक सरकार रहेको बताउँदै मन्त्री अर्यालले मनिषाको शिक्षाका लागि आफूले व्यवस्था गर्ने र अभिभावकसमेत आफू रहेको बताउनुभयो । पहिरोपीडित भोजराजको बस्ने घर नै पहिरोले पुरेपछि अहिले नजिकैको विद्यालयमा काजकिरियामा रहेका छन् । पीडितको घर सरकारले बनाइदिने भन्दै मन्त्री अर्यालले पहिरोपीडित र विस्थापित परिवारको आवास निर्माणका लागि सरकारले व्यवस्था गर्ने बताउनुभयो ।

अर्यालको माइती गाउँ वालिङ नगरपालिका–१४ तमादीमै पुगेर १० लाख २० हजार प्रदान गर्नुभएको हो । राहत रकम नेपाल सरकारको तर्फबाट ७ लाख र मन्त्रालयको पहलमा ३ लाख रकम मन्त्रीले प्रदान गर्नुभएको हो । असोज ८ गते घरमाथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो ।

यसैगरी मन्त्री अर्यालले कालिगण्डकी गाउँपालिका–४ मा गत असोज ८ गते गौतमडाँडा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गर्नुभएको छ । पहिरो पीडित परिवारको घरमै पुगेर मन्त्री अर्यालले राहत प्रदान गर्नुभएको हो ।

मन्त्री अर्यालले असोज ८ गते मृत्यु भएका १७ वर्षिय बिष्णु दमैको परिवालाई केन्द्र सरकारको तर्फबाट २ लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार राहत प्रदान गर्नुभएको हो । यसैगरी उहाँले पहिरोले घरमा क्षति पुगेको औमाया नेपालीलाई २० हजार र अन्य तीन परिवारलाई पाँच–पाँच हजारका दरले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । यसैगरी गत असार ३० गते पहिरोमा परेर मृत्यु भएका चार जनाका परिवारलाई संहकारी संघका तर्फबाट २०–२० हजार र बिस्थापित चार परिवारलाई १५–१५ हजार राहत मन्त्री अर्यालले प्रदान गर्नुभएको हो ।

राहत प्रदान गर्दै मन्त्री अर्यालले मृतक परिवार र विस्तापित परिवारलाई माया गर्दै आवश्यक सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । पहिरोले प्रभावित परिवारको घर निर्माण गर्न सरकार इट्टा बन्ने बताउँदै मन्त्री अर्यालले सरकार सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने बताउनुभयो । ’तपाईहरु सबैले पहिरोबाट पीडित हुनुभएका दाजुभाइ दिदीबहिनीहरुलाई सहयोग गर्नुस । सरकार तपाइहरुको साथमा छ । जग्गा नभएकाहरुलाई जग्गा खोजेर नै सरकारले घर बनाईदिन्छ’, मन्त्री अर्यालले भन्नुभयो । मन्त्री अर्यालले त्यस अवसरमा पहिरो गएको क्षेत्रको प्रत्यक्ष अवलोकनसमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्