Logo
Logo

षड्यन्त्र सिद्धान्तको ‘ट्रायल बलुन’ र भ्रमको साम्राज्य


756
Shares

नेपाल वर्षौदेखि अनेकौ षडयन्त्रका सिद्धान्तहरूको प्रयोगशाला हुँदैआएको छ । खासगरी मूलधारका मिडियालाई बैकल्पिक मिडियाको रूपमा जबर्जस्त उदाएको सामाजिक सञ्जालले हावाकावा पार्न थालेपछि यो प्रयोगशाला घनिभूत हुन थालेको हो । यसमा नेपालको भूराजनीतिक उपस्थितिले पनि धेरथोर योगदान गरेकै छ ।

मिडियाका सिद्धान्तहरूको कोणबाट हेर्ने हो भने यो समय मिडियम नै मिडिया भएको समय हो, जसलाई अर्को भाषामा नागरिक पत्रकारिताको युग भन्ने गरिन्छ । अझ अगाडि बढेरभन्दा त यो समय एक मान्छे एक मिडिया हैन, अनेक मिडिया भैरहेको समय हो । यसरी हेर्दा यो मिडिया सिद्धान्तहरूले सम्बोधन नै गर्न नसक्ने मिडियाको अद्भूत प्रयोग भैरहेको समय हो । अहिले मिडिया के हो र यसले के गर्छ ? भन्ने थेसिसभन्दा पनि मिडिया के हैन र यसले के गर्दैन?, भन्ने एन्टी–थेसिसको जगजगी छ ।

यस्तो जगजगीमा के सूचना हो र के हल्ला हो ? के तथ्य हो र के भ्रम हो ?, केहीको पनि परीक्षण गर्ने समय छैन र हुदैन पनि । हरेक हल्ला सूचना हो भनेर सम्प्रेषण गर्ने हतारोले समाजमा षडयन्त्रका सिद्धान्तहरूको बिजारे ल्याउँछ । त्यो बिजारेमा सूचनामाथि हल्लाको बोलवाला हुन्छ । यसबाट स्वभावतः तथ्य निम्सरो हुन्छ भने मित्थ्या बलवान । अहिले नेपाल तथ्य हारेर मित्थ्या जितेको त्यही अजीवको समय भएर गुज्रिरहेको छ ।

अझ, त्यसमा पनि जेनजी आन्दोलनपछिको समयमा त एकैपटक एक हैन, अनेक षडयन्त्रका सिद्धान्तहरूको परीक्षण भैरहेको छ । यसको जग मिडिया परनिर्भरताको सिद्धान्तले बनाएको हो । यो सिद्धान्तमा मिडिया, मिडियाको उपभोक्ता मानिस र त्यसको प्रभावका बीचमा त्रिकोणीय सम्बन्ध हुन्छ । कुनै घटनाले सिर्जना गरेको असहजको समयमा मानिसहरूले मिडियाको अधिक उपभोग गर्छन्, त्यसबाट स्वतः घटनाको प्रभाव बढ्छ ।

यो सिद्धान्तको जगमा उभिएर हेर्दा जेनजी आन्दोलन एउटा अप्रत्यासित घटना थियो । यो घटनाले मिडियाको प्रभाव बढायो । तर, त्यही बेला मिडियामा सूचनाभन्दा पनि हल्ला बढी रिपोर्टिङ भयो । त्यही हल्ला यो वा त्यो कुनाबाट एक हैन, अनेक पटक आउँदा सूचना नै ठान्न थालियो । एउटा गलत सूचना सयपटक दोहोरियो भने त्यही सत्य हुन्छ भन्ने गोयबल्स शैलीले पनि यसमा काम गर्यो ।

गलत सूचनाले समाजमा सिर्जना हुन्छ, भ्रम । अनि, त्यही भ्रमको बिजारेमा लहलहराउँछ, षडयन्त्रको सिद्धान्त । यो कोणबाट हेर्दा पनि अहिले नेपालमा षडयन्त्रका सिद्धान्तहरूको फालिम लागेकै छ । त्यो फालिममा टाढैबाट प्रष्टसँग देखिने एक षडयन्त्रको सिद्धान्त हो, जेनजी आन्दोलन कसले गरायो ?

यस प्रश्नको उत्तरमा अनेकौ उत्तरहरूको खेती जारी छ जसको निरन्तर मिडिया ट्रायल हुँदा यतिबेला सिंगो जेनजी आन्दोलन नै भ्रमको भुँमरीमा रूमलिएको छ । त्यस्ता केही सम्भावित भ्रमहरू यस्ता छन्:

जेनजी आन्दोलन अमेरिकाले गरायो
–जेनजी आन्दोलन भारतले गरायो
–जेनजी आन्दोलन गैरसरकारी संस्थाहरूले गराए
–जेनजी आन्दोलन देशी–विदेशी घुसपेठियाहरूले गराए
–जेनजी आन्दोलन दुर्गा प्रसाइले गरायो
–जेनजी आन्दोलन रास्वपाले गरायो
–जेनजी आन्दोलन बालेनले गरायो
–जेनजी आन्दोलन माओवादीले गरायो

यी भिन्न भिन्न सोच र कोण भएका मानिसहरूले उभ्याएका आआफ्ना सत्य मात्र हुन्, कुनै तथ्य हैनन् । यो पनि सबैलाई थाहा छ । तर, कोही पनि आफ्नो सत्यबाट ओर्लिएर वा उक्लिएर तथ्यमा पुग्नै चाहँदैनन् । अहिलेको चुरो समस्या भनेकै यही हो ।

यसो हुनुको मूलकारण यो असहज बेलामा मानिसले तथ्य र सत्य बिचको भेद छुट्याउन नसक्नु नै हो । रह्यो सत्य र तथ्य के हुन् र यिनीहरू बीच के फरक छ भन्ने कुर, त्यसका लागि एक समवेत् चेतना चाहिन्छ । जसले सम्झाउँछ कि ‘सत्य भनेको कुनै पनि विषयबस्तु वा घटनालाई हेर्ने व्यक्तिगत धारणा हो, यो व्यक्तिपिच्छे फरक हुन पनि सक्छ । तर, तथ्य कुनै पनि विषयबस्तु वा घटनाको वस्तुनिष्ठ अन्वेषण र त्यसको निस्कर्ष हो, जो एउटै हुन्छ ।‘ जस्तो कि पृथ्वी गोलो छ, यो तथ्य हो तर अझै पनि धेरै मानिसलाई यो चेप्टो नै लाग्छ । चेप्टो लाग्नु उनीहरूको सत्य हो तर गोलो चाहिँ पृथ्वीको आकारको तथ्य हो ।

सत्य र तथ्यबीचको फरक बुझ्नका लागि सहयोग गर्ने एउटा बहुचर्चित भनाइ हो, सत्य बहुआयामिक हुन्छ तर तथ्यको आयाम एउटै हुन्छ । अझ सजिलो बनाउँदा सत्य धेरै हुन सक्छ तर तथ्य एउटै हुन्छ ।

त्यसो भए अब प्रश्न उठ्छ, जेनजी आन्दोलन कसले गरायो ? यसका सत्य त अनेक भए, कसैले यो अमेरिकाले गरायो भने कसैले भारतले; कसैले दुर्गा प्रसाईले भने कसैले रवि लामिछानेले; कसैले देशी शक्तिहरूको गठजोड देखे त कसैले विदेशी गठजोडको । यो तथ्य हैन, सत्यको बहुआयाम अर्थात् एकांकी सत्य मात्र हो । अथवा लागेको सत्य जो आफैंमा एक किसिमको भ्रम हो । अहिले नेपालमा यही भ्रममाथि षडयन्त्रका सिद्धान्तहरूको ट्रायल बलुन जारी छ ।

यसको तथ्यचाँहि के हो त ? पहिलो तथ्य, सामाजिक सञ्जालमा लागेको प्रतिवन्ध नै हो । नेपालको जेनजी पुस्ता सामाजिक सञ्जालको नशामा यसरी फसेको छ कि त्यो बिना ऊ बाँच्नै नसक्ने अवस्थामा पुगेको छ । सामाजिक सञ्जालमाथिको प्रतिवन्धबाट सिंगो पुस्ता नै ‘सिक’ भयो । सिक भएपछि बेहोसीमा ऊ जे गर्न पनि तयार भयो ।

जेनजीको यही सिक अवस्थाको फाइदा लिएर विभिन्न देशी विदेशी स्वार्थहरूले खेलेको पनि हुन सक्छ । तर, यो निर्णायक कारण हैन । निर्णायक कारण जेनजीको सिक अवस्था सिर्जना गर्ने तत्कालिन सरकारका मुखिया ओलीको हठ हो । त्यो हठ उनले कांग्रेसको वैशाखीबाट प्राप्त गरेका थिए । उनलाई संसदको लगभग दुई तिहाई बहुमतले यस्तो दम्भी बनाइदिएको थियो कि उनी जे पनि गर्न सक्छन् ।

उनले कसैको कुरा सुनेनन् । यही बीचमा उनले देशभित्रका थुप्रैखाले शक्तिहरूलाई पनि नराम्ररी चिढाए । दुर्गा प्रसाईदेखि रवि लामिछानेसम्म, वालेन शाहदेखि हर्क साम्पाङसम्म, माओवादीदेखि राप्रपासम्म, कन्टेन्ट क्रियटर्सदेखि इन्फ्लुयन्सरसम्म, मिडियादेखि अभियन्तासम्म सत्ताले मैमत्ता बनाएका ओलीले कसैलाई पनि बाँकि राखेनन् ।

एक किसिमले भन्ने हो भने ओलीले कसलाई चिढाए भन्दा पनि कसलाई चिढाएनन् भन्नुपर्ने अवस्था थियो । त्यति मात्र हैन, सत्तारूढ दलका संस्थापन इतर पक्षलाई त चिढाए नै, आफ्नै पार्टी एमालेभित्र पनि उनको जी हजुरी नगर्नेहरू कोपभाजनका शिकार भए ।

ओलीले विदेशी शक्तिराष्ट्रहरूसँग पौठेजोरी खेलिरहे । भारतसँग केही गर्दा पनि उनले मित्रता कायम गर्न सकेनन् । चितवनको अयोध्यापुरीलाई अयोध्या भन्दै राम जन्मभूमी नेपालमा भएको भनेर केही मूर्तिहरू नै त्यहाँ स्थापना गर्ने ओलीलाई मोदीले तमशरणम् गर्लान् त ? दिउँसै रात पार्ने किसिमको यो भद्दा प्रस्तुतिले ओली मोदीको आँखाको तारो बने ।

उनलाई थप चिढ्याउन फेरि ओलीले चीनको पक्षमा कोल्टे फेरे । यसले भारत त चिढिएको थियो नै, अमेरिका पनि थप चिढियो । अधिकांश अमेरिकी खर्वपति मालिक भएका सामाजिक सञ्जालमा प्रतिवन्ध लगाएपछि यो अमेरिकालाई अरू चिढाउने विषय बनेको हुन सक्छ ।

तर, यी सबै कारणहरू सहायक हुन् । मूलकारण ओलीको सत्ता–मैमत्ता नै हो । यही बीचमा जेनजीको सामाजिक सञ्जालको नशा भ्रष्टाचारको अन्त्य, सुशासनलगायतका लोकप्रिय नाराले प्याकेजिङ गरियो । यसका लागि ओलीले देखिनसकेको मिडिया खासगरी सामाजिक सञ्जालको अहम् भूमिका रह्यो ।

यसरी चौतर्फि घेरामा परेका ओलीले अझै पनि सम्झौताको हात पसारेनन्, उल्टै दमनको डण्डा चलाए । डण्डा पनि यस्तो रूपमा चलाए कि आन्दोलनको पहिलो दिन भदौ २३ गते स्कूल युनिफर्ममै रहेका १९ जना युवाहरुको हत्या भयो ।

यो नरसंहारको स्वभाविक प्रतिक्रिया थियो, आन्दोलनको दोस्रो दिन भदौ २४ गतेको विध्वंश । यसमा भने ओलीले चिढाएका सबै देशी शक्तिहरू मिसिएर राष्ट्रिय सम्पतिको तहसनहस मच्चाएका हुन सक्छन् । त्यसमा विदेशी शक्तिहरूको हात भने खुट्टा भने पनि उनीहरूले हेरेरको रमिता नै हो । यस क्रममा उनीहरूले ओलीको गोलीबाट आहत भएकाहरूको पक्षमा मौनसमर्थन जनाए ।

यो कसैको सत्य हैन, घाम जत्तिकै तथ्य हो कि जेनजी आन्दोलनको पहिलो दिनको कारण सामाजिक सञ्जालमाथिको प्रतिवन्ध हो भने दोस्रो दिन भएको तहसनहसको कारण पहिलो दिन गरिएको १९ जना निहत्था नवयौवनाहरूको हत्या नै हो । यी दुबै कुकृत्य ओलीले गरेका हुन्, उनकै नेतृत्वको सरकारले गरेको हो ।

यति स्थापित तथ्य हुँहाहुदै पनि यतिबेला जेनजी आन्दोलन कसले गरेको भनेर अनेक किसिमका षडयन्त्रका सिद्धान्तहरूमाथि प्रयोग भैरहेको छ । यो प्रयोगको हेडक्वार्टर ओलीको गुण्डु शिविर हो भने ओली यसका कमाण्डर हुन् । यसका लागि उनले एमालेलाई पूरै ओमाले बनाएर मैदानमा उतारेका छन् । यही क्रममा उनले एकजना पटके अपराधीको नेतृत्वमा नयाँ गुण्डा दल पनि मैदानमा उतारेका छन् । अझ, यतिसम्म कि भन्न भ्याए कि अब त यो गुण्डा दस्ताले प्रहरीको पनि सुरक्षा गर्छ रे ।

यो भनेको एक किसिमको समानान्तर सरकारको अभ्यास हो । एक किसिमको मिलिसिया शासन हो । यति हुँदा पनि सुशिला कार्की नेतृत्वको अन्तरिक सरकार ओलीको गुण्डाराजसामु निहुरमुण्टी न भएको छ । ओली मण्डलीलाई चुनावमा सहभागी गराउने नाममा सरकारले देखाएको यो उदारताले अन्ततः ओली खुनी अनुहार पुछेर उठ्न भ्याइसकेका छन् ।

ओलीको यो तयारीले चुनाव त भाँडिन्छ नै, देश पनि फेरि अर्को भिडन्तमा फस्ने लगभग निश्चित छ । केही दिनयता सिमरा, विराटनगर, दुहबीलगायतका स्थानमा ओलीका भिजिलान्तेहरूले गरेको अवाञ्छित क्रिया र जेनजीहरूको प्रतिक्रिया त्यसैको सुरूवात हो ।

यसैबीच फागुन २१ गतेका लागि घोषित आमचुनावलाई लिएर पनि षडयन्त्रको सिद्धान्त सुरू भएको छ । यसको सूत्रधार पनि ओली नै हुन् । उनी न्वारानदेखिको बल लगाएर फागुन २१ मा चुनाव हुँदैन मात्र भनिरहेका छैनन्, यो सरकार चुनाव गराउन बनेकै हैन भन्ने समेतको ट्रायल बलुन गरिरहेका छन् ।

यो ट्रायल बलुनमा सामाजिक सञ्जाल नामको सोकस मिडिया त लागेकै छ, देशका कर्पोरेट हैसियतका मुलधारे मिडियाहरू कोभन्दा को कम भन्दै कम्मर कसेर लागेका छन् । यसको प्रमाण खोज्न टाढा जानै पर्दैन, ओलीका फतुरहरू हेडलाइन बनाउन भ्याइनभ्याई गरिरहेका मिडियाहरू नै हेरे पुग्छ ।

नेपाल अहिले फेरि एकपटक अप्ठ्यारो स्थितिमा गुज्रिरहेको छ । एकातिर, यत्रो जेनजी आन्दोलनको रापमा पनि देशमा तीनदलीय सत्ता सिण्डिकेट चलाइरहेका मुख्य दलहरू चेतिरहेका छैनन् भने अर्कोतिर जेनजीहरूका लागि यो एउटा रंगिविरंगी दल खोल्ने र बच्कना हर्कत देखाउने बेमौसमी बाजा जस्तै भएको छ । अन्तरिम सरकारका कतिपय मन्त्री र पदाधिकारीहरू वल्ला घरको नरे, पल्ला घर सरे जस्तै गरेर अब आफ्नो पालो भन्न थालेका छन् ।

खासगरी प्रधानमन्त्री कार्कीकी कानूनी सल्लाहकार समेत रहेकी महान्यायाधिवक्ता सविता भण्डारी किशोरी डिम्ब तस्करीको चास्नीमा चुर्लुम्मै डुबेकी छन् भने प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ श्रीमती र सालीको जागीर व्यवस्थापनमा लागेर पूरै नकौटा देखिएका छन् । यति मात्र हैन, गृहमन्त्री ओमप्रकाश शर्माको नालायकीपन र ऊर्जामन्त्री कुलमान घिसिङको विद्युत आपूर्ति घोटाला प्रकरण पनि प्रश्नको घेरामा आईसकेका छन् ।

जेनजी आन्दोलनको म्याण्डेटबाट सत्तासिन भएको छोटो समयमै अन्तरिम सरकारमा देखापरेको यस्तो गतिछाडा र लाजमर्दो स्थितिमा पनि प्रधानमन्त्री कार्की रहस्यमय मौनता सादिरहेकी छन् ? जेनजीका लागि योभन्दा विडम्बना र पीडादायी स्थिति के हुन सक्छ र ? के यस्तै व्यक्तिलाई सत्तासिन बनाउन र उनीहरूका अरौटेभरौटलाई यो वा त्यो नाममा लुटतन्त्र मच्चाउन नै भएको थियो त यत्रो जेनजी आन्दोलन ?

प्रश्न यति मात्र छैनन्, एकपछि अर्को गरेर फालिम नै लागिसकेका छन् । तर, हिजो प्रश्न सोध्नेहरू नै आज सरकारमा पुगेको यो बेला पनि कसैले उत्तर दिनुपर्ने जिम्मेवारीवोध गरिरहेका छैनन् । यस्तै गैरजिम्मेवारीपनले बढाउने हो, षडयन्त्रका सिद्धान्तहरूको ट्रायल बलुन । जसले भ्रमको बिजारे मात्र खडा गर्दैन, चोरलाई चौतारो र साधुलाई सुली चढाउने खालको अजीवको तमासा पनि देखाउन सक्छ ।

यस्तै तमासाबीच हत्यारा ओलीहरू जित्ने र जीवन आहूति गरेका जेनजीहरू हार्ने दिन पनि नआउला भन्न सकिन्न । कामना गरौ, त्यसो नहोस्, अहिलेलाई गर्न सकिने भनेको यही मात्रै हो । बाँकि त रात रहे अग्राख पलाउने देश हो, केही भन्न सकिन्न; समयकै ऐनामा हेर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्