Logo
Logo

बालुवाटारमा बेसार पानीको चर्चा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनालाई ‘चाइनिस’ भाइरस भनेर सार्वजनिक रुपमा उडाउँथे । उनले लामो समय मास्क समेत लगाउन मानेनन् । अहिले उनलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारो पनि मास्कबिन भीडमा जाने गर्दथे । उनलाई पनि कोरोना संक्रमण भयो ।

कोरोना ठूलो रोग होइन भन्नेमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि हुन् । बेसार पानी खानुपर्छ र हाच्छ्यु गरेर ‘कोरोना सोरोना’ भगाउनुपर्छ भनेर उनले संसद्मै भने । जुन विषयलाई लिएर चिकित्सकहरुले प्रधानमन्त्रीको आलोचना गरे ।

अहिले नेपाल विश्वकै सर्वाधिक कोरोना संक्रमित देशको अग्रस्थानतर्फ लम्किएको छ । कोरोनाको उद्गमस्थल चीनलाई समेत आइतबार नेपालले उछिनेको छ । औसतमा दिनमा २ हजार भन्दा धेरैमा संक्रमण देखिन थालेको छ ।

नेपालीको इम्युनिटी पावर बलियो भएकाले कोरोनाले नछुने प्रधानमन्त्री ओलीको भनाइ थियो । तर, दैनिक औसतमा १० जनाको कोरोनाका कारण मृत्यु हुन थालेको छ ।

कोरोना प्रधानमन्त्री निवास बालुवाटारमै छिरिसकेको छ । ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, सञ्चार विज्ञ रामशरण बजगाई, निजी चिकित्सक डा दिव्या सिंह लगायतलाई संक्रमण भएको छ । प्रधानमन्त्री निवासमा कार्यरत ६५ जना सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।

बालुवाटारभित्र भएको सक्रमणले दुई वटा कुराको तस्वीर दिन्छ । पहिलो प्रधानमन्त्री निवासमै स्वास्थ्य प्रोटोकलको पालना भएको छैन भन्ने प्रष्ट हुन्छ । दोस्रो देशमा कुन गतिमा कोरोना बढेको छ भन्ने कुरा बालुवाटार छिरेको कोरोना संक्रमणले देखाउँछ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो छैन । उनको मिर्गाैला प्रत्यारोपण गरेको सात महिना मात्र भएको छ । यस्तो अवस्थामा उनका चिकित्सक तथा सल्लाहकारहरुले नै चरम लापरबाही गरेर प्रधानमन्त्रीलाई जोखिममा पारेका छन् । यस्तो अवस्थामा पनि बालुवाटारभित्र दैनिकजसो भीड जम्मा हुने गरेको छ । पार्टीको बैठकदेखि विभिन्न कार्यक्रम बालुवाटारमै हुन्छ । जुन कार्यक्रममा प्रधानमन्त्री ओली स्वयं उपस्थित हुने गर्छन् ।

प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक भेटघाट बन्द गरेको बताएका छन् । तर, पनि आइतबार उनले प्रचण्डसँग भेटघाट गरेका थिए । पार्टीका अन्य नेता, उच्च प्रशासकहरुसँग पनि भेटघाट जारी राखेको स्रोत बताउँछ । यसबाट प्रधानमन्त्री अझै गम्भीर छैनन् भन्ने देखाएको छ ।

पछिल्लो समय प्रधानमन्त्रीका सल्लाहकारहरुमा संक्रमण देखिएपछि सामाजिक सञ्जालमा स्वास्थ्यलाभको कामना गर्ने भन्दा पनि प्रधानमन्त्रीको ‘बेसारपानी’को व्यंग्य गर्ने क्रम चलिरहेको छ । यसरी व्यंग्य गर्नेहरुले संसद्मा अरुलाई ‘बेसार पानी’ खान दिएको अर्ति आफ्नै सल्लाहकारले पनि टेरेनन् कि भनेर सामाजिक सञ्जाल भरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्