काठमाडौं । नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत अबेईमा खटिएको टोलीको फोर्स कमान्डर नियुक्त भएका छन् ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले उनलाई नयाँ फोर्स कमान्डर नियुक्त गरेका हुन् । यसअघि यो जिम्मेवारीमा घानाका मेजर जनरल रोबर्ट याब अफ्रामले सम्हाल्दै आएका थिए ।
श्रेष्ठ २ कात्तिक २०८२ मा रथीमा बढुवा भएका थिए । ३६ वर्ष सैनिक पेसामा बिताएका उनले यसअघि दक्षिण सुडानमा अनमिस मिसनमा सेक्टर इस्ट कमान्डरका रूपमा समेत काम गरेका छन् ।
श्रेष्ठले वीरेन्द्र सैनिक अस्पतालमा प्रशासनिक रजिस्ट्रार, जंगीअड्डामा नीति तथा योजना निर्देशनालय प्रमुख र १६ र ९ नम्बर बाहिनीको कमान्डरका रूपमा काम गरिसकेका छन् ।
उनले चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट इन्टरनेसनल कलज अफ डिफेन्स स्टडिजबाट मिलिट्री साइन्स र स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।











