Logo
Logo

प्रहरीमा थरी थरीका नियम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असोज । नेपाल प्रहरीको सरुवा बढुवामा हुने राजनीति त कतै लुकेको छैन । एउटा व्यक्तिका लागि नियमावली नै संशोधन हुने गलत परम्पराको थालनी पनि भइरहेको छ । सरुवा बढुवा मात्र होइन अन्य कानूनी प्रक्रिया पनि व्यक्तिहरु फरक–फरक देखिएको छ ।

भ्रष्टाचार मुद्दामा सफाई पाउने वित्तिकै कतिपय प्रहरीहरु जागिरमा जोडिएर काम गरिरहेका छन् । बौद्ध वृत्तमा हुँदा घुससहित पक्राउ परेका श्याम कुमार राईले एक वर्ष पनि नभई बिशेष अदालतबाट सफाई पाए । सफाई पाएको केही दिनमै जागिरमा जोडिए । त्यस्तै दयानिधी ज्ञवाली लगायत भ्रष्टाचार मुद्दामा सफाई पाएर जोडिएका प्रहरी धेरै छन् ।

सफाई पाउने वित्तिकै जागिरमा जोडिने तर दोषी ठहर भएपनि सेवाबाट टहाउन भने नपाइने अचम्मको नियम नेपाल प्रहरीमा रहेको छ । घुसकाण्डमा बिशेषबाट दोषी ठहर भएका डिएसपी रमेश तामाङ, इन्सपेक्टर शुशोभन श्रेष्ठ लगायतलाई अझै सेवाबाट हटाइएको छैन । अन्तिम फैसला नभएसम्म सेवाबाट हटाउन नसक्ने प्रावधान छ । दुई साताअघि मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावली संशोधन भएपछि बल्ल उनीहरुलाई सेवाबाट हटाउने तयारी भइरहेको छ ।

निर्मला पन्त बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका प्रहरीलाई फौजदारी मुद्दा चलेर सफाई पाएपछि पनि निलम्बन फुकुवा गर्न नमिलेपछि सो नियमावली संशोधन गरिएको हो । जसले केहीलाई जागिरबाट हटाउन र केहीलाई जोड्न बाटो खुलेको छ ।

फौजदारी मुद्दा लागेको प्रहरी साधारण तारेखमा छुटेमा जागिरमा जोडिने र तर सफाई पाइसकेपछि पनि निलम्बन फुकुवा गर्न नमिल्ने त्रुटी नियमावलीमा देखिएपछि अहिले संशोधन गरिएको हो । सो प्रकरणमा अन्यायमा परेका डिएसपी जिसीको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयमा पत्राचार भइसकेको छ । सात जनाविरुद्ध मुद्दा चलेकोमा केहीले अवकाश पाएका छन् भने दुईलाई सेवाबाट हटाइएकाले उनीहरुको हकमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्