काठमाडौं । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार नेपाली सेनाका ६ जना उपरथीको सरुवा गरिएको छ। सरुवासँगै पश्चिम, मध्यपश्चिम र मध्य पृतनाका पृतनापति फेरिएका छन् ।

पश्चिम पृतना पोखराका पृतनापति उपरथी मधुकरसिंह कार्की सैनिक मुख्यालय जंगी अड्डामा सरुवा भएका छन् । उनको स्थानमा जंगी अड्डामा निरीक्षणाधिकृतको रूपमा कार्यरत उपरथी भोलानाथ थापालाई पश्चिम पृतनाको जिम्मेवारी दिइएको छ ।
मध्य पृतना हेटौंडाका पृतनापति उपरथी हरेन्द्र पाठक प्रबन्ध रथी विभाग, जंगी अड्डामा सरुवा भएका छन् । मध्य पृतनाको नयाँ जिम्मेवारी जंगी अड्डाको अतिरिक्त समूहमा रहेका उपरथी विष्णुकुमार खड्कालाई दिइएको छ ।
यस्तै, मध्यपश्चिम पृतना बुटवलका पृतनापति उपरथी प्रेमबहादुर पुन जंगी अड्डामा सरुवा भएका छन् भने स्टाफ कलेज शिवपुरीमा कार्यरत उपरथी हिम्मतबहादुर विष्टलाई मध्यपश्चिम पृतनाको पृतनापति बनाइएको छ ।
नेपाली सेनाका ८ पृतनामध्ये बाँकी ५ पृतनामा भने पृतनापति यथावत छन्। पूर्वी पृतनामा उपरथी गौरवकुमार केसी, उपत्यका पृतनामा उपरथी रवीन्द्र खत्री, मध्यपूर्व पृतनामा उपरथी कृष्णबहादुर जिसी, उत्तरपश्चिम पृतनामा उपरथी दिपेशजंग शाह र सुदूरपश्चिम पृतनामा उपरथी किरण केसी कार्यरत छन् ।











