सम्झनामा गोविन्दसर « Drishti News – Nepalese News Portal
Logo

सम्झनामा गोविन्दसर


- छविरमण सिलवाल


  • छविरमण सिलवाल

२०५८ सालको दशँै हाम्रा लागि खल्लो बनेको थियो । २०५७ साल मंसिर हाम्रो लागि कहिल्यै नआएको हुन्थ्यो जस्तो लागेको छ । हाम्रा पिताजीले हामीलाई टुहुरा बनाएर जानुभएको त्यो क्षण हामी कसरी बिर्सन सक्छौं र ? दशैँको बेला शहरमा सन्नाटाभन्दा केहीँ हुँदैन, त्यसैले हामी सधैँ गाउँमा जान्छौँ । यसपालिको दशैँ दशैँजस्तो भएन, हामीबाट टाढिनुभयो पिताजी । हामी सनातन हिन्दू परम्पराअनुसार किरियाकर्ममा थियाँै । तापनि गाउँको रमाइलो वातावरणमा रहेर पनि रमाउन सकिरहेका थिएनौँ । श्रीमती तुलसा र छोरा लोकेश पहिले नै मामाघर गएका थिए ।

केबल हामीसंग उहाँको सम्झनामात्र बाकी छ । यहि उहाँको सतकार्यले उहाँलाई अमर बनाएको छ । त्यसैले गोबिन्दसर तपाई अमर रहनु भयो । तपाईका अधुरा सपनाहरु र तपाईसंग भएका धेरै कुराहरु हामी क्रमशः पुरा गर्नेछौं । अहिले रोशी साहित्य प्रतिष्ठानको आफ्नै भवन बनिसकेको छ । गोविन्दसर सिर्जनामामात्र होइन संगठनिक कार्यमा पनि अब्बल देखिनु भयो । संस्थाको लागि आर्थिक उपार्जन गर्नको लागि देउँसी भैलो देखि थोरै थोरै भए पनि चन्दा दाताहरु सँग मागेर साहित्यको उत्थानमा लागि रहनु भयो । अहिले उहाँको अभाव खड्की रहे पनि उहाँले गरेको सत्कार्यले नेपाली साहित्यमा उहाँ अमर हुनु भएको छ ।

केही दिन घरबाट बाहिर ननिस्किएरै बित्यो । समयको विधिमा हामी बाँधिएका छौँ । फुकाएर हिँड्न पनि नसक्ने कस्तो दुर्भाग्य ? त्यहीँ विधिमै बाँधिएर जीवनका तितामिठा गीतहरु गाइरहेका छौं । जीवनको लयमा भोग्ने विविध घटनाहरुसँग जुधेर सामना गरिरहेका छौँ । जीवनका लयमा कहिले राम्रा कहिले नराम्रा परिवेशसँग पौठाजोरी गरेर आफ्नो समय कटाइरहेकाछाँैं । कहिलेकाहीँ ताजुब पनि लाग्छ, मान्छे आफ्नो जीवनको लय छोटिँदै गर्दा पनि रमाउने गर्छ । पिताजीले सधैँ भन्ने गर्नुहुन्थ्यो, मान्छे क्षणभरका प्राणी हो, त्यसैले हरेक क्षण उत्सवमय हुनुपर्छ । भोलि कसलाई थाह हुन्छ र ? अहिलेका मान्छेले आफ्नो लय बिर्सिदैँ गएका छन् । तिनै लय भुल्दै गरेका मानवहरु साहित्य साधनामा लागे भने राम्रै हुने थियो । र, उनीहरुलाई लयमा हिँडन साहित्यले नै सिकाउने छ ।

यी कुराहरु मैले यहाँ लेखिरहँदा मलाई गोबिन्दबहादुर थापाको याद आइरहन्छ । हो उहाँले नै यी कुराहरु मलाई बारम्बार भनिरहेको । साहित्यले समाजलाई अनुशासित बनाउन मद्दत गर्छ । हाम्रा पौराणिक ग्रन्थहरुबाट पनि हामीले सिकेका कुरा यी नै हुन् । सन्दर्भ साहित्यकै हो, म माथिकै कुरामा जोड्न चाहन्छु । २०५८ सालको दशैँ खल्लो, घर शून्य भएकाले कहिले दशँै सकिएला भनेजस्तो भएको थियो । समय कहाँ रहन्छ र ? दशैँको टीका सकियो । भोलिपल्ट एकादशीको दिन म बिहान करिव आठ बजेतिर घरबाट निस्किएँ । आमालाई म काठमाडौं हिँडे भने, आमा दङ्ग पर्नुभयो । खान पकाएको छैन, खाना खाएर जा भनेर भन्नुभयो । मलाई घरमा एकछिन पनि बस्न मन थिएन । आमाको बचनलाई नकार्न पनि सकिन र भने आमा मलाई पुवा पकाइदिनुस न त । खाएर जान्छु । आमाले चाढै पुवा पकाइदिनुभयो । दही र पुवा खाएर म बस चढ्न भकुन्डे बजारतिर गएँ ।

बजार मलाई नौलो लाग्यो । मान्छेहरु सबै हतारमा देखिन्थे । टीका लगाउन जाने आउने क्रम चलिरहेको थियो । बस सबै भरिभराउँ थिए । उनीहरुको लागि कमाउने बेला यही हो । एकछिन यहाँको तमासा हेरिरहँदा मलाई गोबिन्दसरको एकाएक याद आयो । उहाँको सिर्जनाहरुले मलाई बोलाइरहेको जस्तो आभाष भयो । मैले त उहाँको घर देखेको पनि थिइनँ । उहाँले धेरैपटक घर आउँदा यता हाम्रोमा पनि आउनुहोला भनेको सम्झेँ । जागिरमा भोलिसम्म पुग्दा पनि हुने नै थियो । मैले उहाँको घर जाने निर्णय लिन ढिलो गरिन र नेपालथोक जाने बस चढेँ । फेदिमा पुगेर आर्लिए । त्यहाँको चिया पसलमा उहाँको घर जाने बाटो सोधेँ, झोलुङ्गे पुल तरेर पारी पुगेँ, र करिब दश मिनेट जति उकालो लागेपछि बाटैको घरमा सोध्न आट्दै थिएँ, उहाँलाई त बारदर्लीमा बसेर कविता कोरिरहेका देखेँ । र, मैले बाटैबाट नमस्कार गरेँ, उहाँ तल ओर्लेर मलाई लिन आउनुभयो । अनि भन्नुभयो म आज सपना हो कि विपना हो, मैले त ठम्याउनै सकिनँ । नजिकै रहनु भएकी श्रीमतीलाई भन्नुभयो, उहाँ कवि छविरमण सिलवाल । मैले पनि नमस्कार फर्काए । मैले कुरा गरिरहेको उहाँ नै हो । मेरा धेरै कविताहरु लगेर काठमाडौंमा छापिदिनुभएको छ । उहाँ त यस भेगको गहना हुनुहुन्छ । आज हामी धन्य भयौँ, एउटा कविको आगमनले हाम्रो घर पवित्र भएको छ । उहाँ एकनासले बोलिरहँदा उहाँको श्रीमतीले बाटैमा बसेर कराउने कि उहाँलाई माथि बोलाउने भनिरहँदा म माथि उक्लँदै थिए ।

उहाँ भन्नुहुन्थो म तपार्इंको दाजुलाई तिमी भन्छु । तर तपाईँलाई चाहिँ तपाईँ नै भनेर सम्बोधन गर्छु । मेरो दाजुलाई उहाँले पढाउनुभएको थियो । त्यसकारण तिमी, म कविता लेख्ने भएर तपाईँ रे । कता कता उहाँको कुरामा असहज महसुस भएको थियो । खैर, जे भए पनि म उहाँलाई अत्यन्त सम्मान गर्छु । अझ साहित्य सेवामा रहेका व्यक्तिहरु मेरो लागि विशेष सम्मानयोग्य नै हुन्छन् । त्यस दिनको बसाइमा उहाँका करिब एक दर्जन कविताहरु मैले सुनें, आमाले खाना बनाएर खुवाउनुभयो । बिहान १० बजे पुगेको थिए म, दिउँसो ३ बजे उहाँको घरबाट निस्किएँ । तर बजारसम्म मलाई पु¥याउन आउनुभयो । मैले चढेको बस ओझेल नपरुञ्जेन उहाँको आँखा उतै थिए । उहाँको यस प्रकारको स्वभावले म प्रभावित भएको थिए ।

हुनतः उहाँको घरमा जाने मेरो कुनै योजना तर्जुमा नै थिएन । तैपनि समयको सदुपयोग गरेकोमात्र हुँ । उहाँसंग नेपाली साहित्यमा धेरै कुराकानीहरु भए । यही भेगमा पनि कही गरौं भन्ने मेरो आग्रह थियो उहाँको नेतृत्वमा । उहाँले म विचार गर्छु भन्ने आश्वासन पनि दिनु भयो । साहित्यकारहरुलाई यस भेगमा सम्मान गर्ने कुरा पनि भयो । यसको लागि व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा कार्य गर्नसके राम्रो हुने थियो भन्ने मैले आफ्नो कुरा राखें । त्यसबेला नेपाली साहित्यमा लाग्ने व्यक्तिहरु कमै थिए ।

उहाँ शैक्षिक क्षेत्रमा लागेको त्यहाँको हावापानी बुझेको व्यक्ति हुनुहुन्थो । यद्यपि, उहाँको जन्मस्थल त्यहाँ नभए पनि उहाँ यस भेगको स्थायी बासिन्दा भैसक्नु भएको थियो । उहाँको पुर्खेउली घर भँगेरी गा.वि.स १ डुम्रीखर्क, रामेछाप भए पनि उहाँ फेदीमा बसाई सर्नु भएको थियो । अहिले भकुण्डेबेसींमा बसोबास गर्न थाल्नु भएको छ । साहित्यमा उहाँको आत्मकथ्य यस्तो छ– ‘दूधमा पाइने यौगिक सारतत्व घिउ हो । त्यस्तै, जीवनमा भोगेका यात्रा संस्मरण, संयोग वियोग, राम्रा नराम्रा व्यक्तिविशेषका बिम्ब प्रतिबिम्ब तथा लेखाइ, पढाइ, सुनाइ, बोलाइबाट प्राप्त हुने सिर्जनशील शक्ति भन्नु नै मेरो विचारमा साहित्य हो । भाषा, संस्कृति, परापूर्व कालदेखि चलिआएको रीतिस्थिति, आर्य अनार्य सबै धर्मप्रवर्तक ग्रन्थ, ग्रन्थसम्पादन प्रणाली विधि, मन, वचन र कर्मका पुन्जहरु खास गरी जीवन र जगतका कुराहरु साहित्य हुन् । साहित्यले मनलाई आपत विपत, हर्ष बिस्मातका समयमा पनि गन्तब्यरेखा कोर्ने गर्दछ ।’

सधैँ यस्तै सुन्दर वाणीहरु पस्किरहने गोविन्दसर आँसु कवि नै हुनुहुन्थो । जो संग बस्नु भयो उसैको कविता बनाएर सुनाउँनु हुन्थ्यो । उहाँकै पहल र मेरो आग्रहमा रोसी वाङ्मय प्रतिष्ठानको स्थापना भयो । थुप्रै स्रष्टाहरुलाई सम्मान गरियो, पुस्तकहरु प्र्रकाशन भएका छन् । जग्गा दाता मुकुन्द हुँमागाईँजीले जग्गा दिनुभयो । अहिले भवन पनि ठडिएको छ । यो नेपाली साहित्यमा लाग्ने जो कोहीको पनि गौरवको कुरा हो । यसको लागि उहाँको नेतृत्व सफल रहेको थियो । धेरै योजना तर्जुमाहरु थाति राखेर उहाँ हामीमाझँ विदा हुनु भएको छ । केबल हामीसंग उहाँको सम्झनामात्र बाकी छ । यहि उहाँको सतकार्यले उहाँलाई अमर बनाएको छ । त्यसैले गोबिन्दसर तपाई अमर रहनु भयो । तपाईका अधुरा सपनाहरु र तपाईसंग भएका धेरै कुराहरु हामी क्रमशः पुरा गर्नेछौं । अहिले रोशी साहित्य प्रतिष्ठानको आफ्नै भवन बनिसकेको छ । गोविन्दसर सिर्जनामामात्र होइन संगठनिक कार्यमा पनि अब्बल देखिनु भयो । संस्थाको लागि आर्थिक उपार्जन गर्नको लागि देउँसी भैलो देखि थोरै थोरै भए पनि चन्दा दाताहरु सँग मागेर साहित्यको उत्थानमा लागि रहनु भयो । अहिले उहाँको अभाव खड्की रहे पनि उहाँले गरेको सत्कार्यले नेपाली साहित्यमा उहाँ अमर हुनु भएको छ । भकुण्डेबेसीँको बजारमा ठडिएको रोशी वाङ्मयको यो भवनले नेपाली साहित्य विकासमा आफ्नै मौलिकपनमा गर्व गर्न लायक बनाएको छ । त्यसैले पनि तपाईँ अमर हुनुुहुन्छ गोबिन्दसर ।

प्रतिक्रिया दिनुहोस्