Logo
Logo

चुनौतीको घेरामा महाप्रबन्धक पौडेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असोज । एउटा निजी व्यावसायिक घराना आनन्दराज बतासको इस्टर्न मोटर्स एजेन्सीका सिइओ डिमप्रकाश पौडेललाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल वायुसेवा निगमको महाप्रबन्धक पदमा नियुक्ति गरेपछि अब निगमको भविष्य के होला भन्ने चिन्ता व्यक्त भएको छ । हवाई सेवासम्बन्धी कुनै ज्ञान र अनुभव नभएको व्यक्तिलाई एकैपटक निगमजस्तो ठूलो संस्थाको जिम्मेवारी सुम्पिएपछि निगमका कर्मचारीहरूमा चिन्ता छाउनु स्वभाविक पनि हो । किनभने, निगम सुधारका लागि धेरै चुनौतीहरू छन् । तिनको व्यवस्थापन उनले कसरी गर्लान् भन्ने आम चासोको विषय बनेको छ । यसअघि उनलाई निगमको सञ्चालक समितिको सदस्यको जिम्मेवारी दिइएको थियो ।

हवाई सेवासम्बन्धी कुनै ज्ञान र अनुभव नभएको व्यक्तिलाई एकैपटक निगमजस्तो ठूलो संस्थाको जिम्मेवारी सुम्पिएपछि निगमका कर्मचारीहरूमा चिन्ता छाउनु स्वभाविक पनि हो । किनभने, निगम सुधारका लागि धेरै चुनौतीहरू छन् । तिनको व्यवस्थापन उनले कसरी गर्लान् भन्ने आम चासोको विषय बनेको छ । यसअघि उनलाई निगमको सञ्चालक समितिको सदस्यको जिम्मेवारी दिइएको थियो ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले निगमकै महाप्रबन्धक भइसकेका मदन खरेललाई दोस्रोपटक २०७५ भदौ १५ गते निगमको कार्यकारी नसुम्पिएका होइनन् । तर, उनी दोस्रोपटक असफल भएर राजीनामा दिए । प्रधानमन्त्री ओलीले निगमकै वार्षिकोत्सवमा उनको खुलेरै आलोचना गरेका थिए । बरु, तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारले आफ्नो कार्यकालमा दुईवटा न्यारोबडी, दुईवटा वाइडबडी जहाज खरिद गरेर ऐतिहासिक काम गरे । यो काम गर्दा कंशाकारलाई जेल जानेसम्मको समस्या आइलाग्यो । यदि उनले आफ्नो कार्यकाल पूरा गर्न पाएको भए निगममा धेरै सुधारको सम्भावना थियो । उनी हवाई सेवाका विज्ञ नभए पनि नेपाल टेलिकमको व्यवस्थापन सुधारमा उनले उल्लेख्य सुधार गरेका थिए । त्यस हिसाबले हेर्ने हो भने चार्टर्ड एकाउन्टका विद्यार्थी पौडेललाई सरकारले दिएको यो जिम्मेवारी चुनौती र अवसर दुवै हो । कुनै पनि संस्थानको गति र प्रगतिमा व्यवस्थापनको ठूलो भूमिका हुन्छ । व्यवस्थापन ठिक ढंगले गर्न नसक्दा निगमका अध्यक्ष सुशील घिमिरेले चिनियाँ जहाज ग्राउण्डेड गरेर अक्षम सावित भए । निगम सुधार सुझाव आयोगका संयोजकसमेत भइसकेका घिमिरेलाई निगमको कार्यकारी अध्यक्षजस्तो जिम्मा सुम्पिएपछि व्यवस्थापन सुधारमा उनको ध्यान जानु पथ्र्यो । किनभने, घिमिरे पर्यटनसचिव समेत भइसकेका अनुभवी व्यक्ति हुन् । निगमको कमी कमजोरी के छ, त्यो उनलाई थाहा थियो । निगम सुधारका लागि दश वर्षीय योजना बनाउँदै सन् २०१५ देखि २०२५ सम्म १६ वटा विमान आन्तरिक उडानका लागि थप्नुपर्ने सुझाव दिएका उनले आफ्नै कार्यकालमा आन्तरिक उडानका लागि चीनबाट ल्याइएका ६ वटा जहाज ग्राउण्डेड गर्ने निर्णय गरे । उक्त ६ वटा जहाजमध्ये ४ वटा १९ सिटे चिनियाँ जहाजलाई धनगढी, नेपालगञ्ज, पोखरा र विराटनगर केन्द्र बनाएर दुर्गम ठाउँमा उडान गर्न सकिन्थ्यो ।

निगम स्रोतका अनुसार चिनियाँ जहाज चलाउनै नसकिने खालका छैनन् । आवश्यक पार्टपुर्जा स्टोर गरेर चिनियाँ जहाज चलाउन सकिन्छ । तर, व्यवस्थापनले त्यसमा चासो राखेन । अब नवनियुक्त महाप्रबन्धक पौडेलले चिनियाँ जहाज सञ्चालन गरेर आफ्नो कार्यक्षमता प्रदर्शन गर्नुपर्छ । आफूसँग भएका चिनियाँ जहाज बिक्री गरेर एटीआर–७२ किन्ने कुरा कमिशन खाने कुरा भएकोले पौडेल यस्ता कमिशनखोर एजेन्टबाट जोगिनुपर्ने निगम कर्मचारीहरू बताउँछन् । निगमको मुख्य चुनौती पाइलट र कर्मचारीहरूबीचको गुटबन्दी व्यवस्थापन पनि हो । पाइलट र कर्मचारीका कारण निगमभित्रको वातावरण बिग्रँदै गएको छ । त्यसैगरी निगमको इञ्जीनियरिङ विभाग भ्रष्टाचारको अखडा बन्दै गएको छ । विमानको मर्मतसम्भार प्रमुख कुरा भएकोले इञ्जीनियरिङ विभागलाई चुस्तदुरुस्त राख्नुपर्छ । उक्त विभागमा खरिद नै नगरिएको पार्टपुर्जाको नक्कली बिल बनाएर खाने काम पनि भइरहेको छ । यस विषयमा खरेलको कार्यकालमा बोर्ड बैठकमै टेबल ठोकाठोक समेत भएको थियो । कुनै बेला दुईवटा ७२७ र ७५७ बाट फ्रयाङफर्ट, लण्डन, पेरिस, बेइजिङ, ओशाका, श्रीलंका, माल्दिभ्स, ढाका र कराँचीसम्म पुगेको निगमले नेपालका पहाडी रुटका ३५ वटा क्षेत्रलाई हवाई सेवा दिइरहेको थियो । अब निगमले आफ्नो शाख जोगाउन नयाँ अन्तर्राष्ट्रिय गन्तव्य रोज्नुपर्छ । दक्षिण कोरिया, ग्वाङझाओ र रियादमा कंशाकारले उडानको तयारी गरेका थिए । दुर्भाग्य, बहुदलीय व्यवस्था आइसकेपछि निगममा राजनीतिक हस्तक्षेप बढ्यो र निगम कमिशन एजेन्टहरूको चक्रव्यूहमा फस्यो । गिरिजाप्रसाद कोइरालाको कार्यकालमा धमिजा, लाउडा, चाइना एयरलाइन्स काण्ड मच्चियो भने नेकपा एमालेका यमलाल कँडेल पर्यटनमन्त्री हुँदा चेज एयर काण्ड मच्चियो । यस्तो विकृतिबाट निगमलाई जोगाउने जिम्मेवारी महाप्रबन्धक पौडेलको काँधमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्