Logo
Logo

स्वास्थ्य सुधार भएपछि झलनाथ पत्नी रविलक्ष्मीलाई आज स्वदेश ल्याइँदै


819
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा चलेको गहन उपचारपछि आज स्वदेश फर्कने भएकी छन् ।

जेनजी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनलाई नेपाल फर्काउन लागिएको हो ।

फाइल फोटो

भदौ २४ गते बिहान खनाल दम्पती बसोबास गर्ने निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो । सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको भए पनि फोक्सोमा निमोनियाको संक्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो ।

एपोलो अस्पतालमा उपचारको क्रममा संक्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काट्नुपरेको थियो । त्यसपछि क्रमशः अवस्था सुधारिँदै गएपछि उनलाई आईसियुबाट जनरल वार्डमा सारिएको थियो । पछिल्ला केही सातादेखि उनी अस्पताल बाहिर बसेर नियमित फलोअप र उपचार गराउँदै आएकी थिइन् ।

नेपाल फर्किएपछि चित्रकारलाई डल्लुस्थित भाडाको घरमा राख्ने तयारी गरिएको झलनाथ खनालले जानकारी दिएका छन् । चित्रकार आज साँझ नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस्