
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवक मृत भेटिएका छन् । ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्ने देउराली जंगलमा भोजपुर अरुण गाउँपालिका–३ घर भएर लुभु बस्दै आएका २१ वर्षीय पारुहाङ राई मृत भेटिएका हुन् ।
हत्या गरेर फालेको अवस्थामा जंगलमा पारुहाङको शव भेटिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
एसएसपी बोगटीका अनुसार आज बिहान जंगलमा भेटिएका पारुहाङको टाउकोमा चोट देखिएको छ । हत्यामा संलग्न आशंकामा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल छन् । पक्राउ परेका अर्का एकजना आरोपीको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पारुहाङको शव पोस्टमार्टमका लागी भक्तपुरको केएमसी अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












