Logo
Logo

रुपन्देहीमा मासिक लाखौं असुल्छन् सशस्त्रका घुमुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ असोज । भारतसँग सीमा जोडिएका रुपन्देहीका विभिन्न नाकाबाट कपडा, हार्डवेयरलगायत सामान तस्करी गराई एउटै तस्करहरुसँग सशस्त्र प्रहरीका घुमुवाहरुले मासिक एकलाख रुपैयाँसम्म बुझ्ने गरेका छन् । महामारीका बेला भारतसँगको सीमानाका बन्द हुँदासमेत सशस्त्र र नेपाल प्रहरीका घुमुवाले मिलेमतोमा तस्करी गराई मासिक लाखौं असुली गरिरहेका हुन् ।

यसअघि घुमुवा प्रहरीले असुली धन्दा चलाएको भनेर दृष्टि साप्ताहिक पत्रिका र यसको अनलाइन संस्करणमा समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख एसपी प्रवीण पोखरेलले घुमुवा प्रहरी हटाएका छन् । प्रहरीका यसअघिका एसपी हेमकुमार थापाले चार जना घुमुवा प्रहरी राखेर मासिकी असुली धन्दा नै चलाउँदै आएका थिए । यस विषयमा समाचार प्रकाशित भएपछि एसपी पोखरेलले घुमुवा हटाएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका घुमुवा हवल्दार कृष्णप्रसाद श्रेष्ठ, जवान सविन पौडेल, जवान तुलसीराम यादव, जवान छत्रबहादुर सूर्यवंशीलाई घुमुवाबाट हटाइएको हो । हाल जिल्लामा घुमुवा छैनन् । जिल्लाका घुमुवा हटे पनि इलाका प्रहरी बुटवलमा रहेका वीपी कंडेल, इलाका प्रहरी बेलहियाका हवल्दार खिमानन्द पराजुली र जवान देवी राना, इलाका लुम्बिनीका विजय थापा घुमुवाबाट अझै हटाइएका छैनन् । थापा लामो समय जिल्ला प्रहरीको घुमुवा बसेर पुनः लुम्बिनीको घुमुवा भएर असुलीमा मस्त छन् । इलाका प्रहरी धकधईका जवान शिवशंकर धवल पनि घुमुवा प्रहरीबाट हटाइएका छैनन् ।

सशस्त्रका घुमुवाको शक्ति

सीमा क्षेत्रमा सशस्त्र प्रहरीका सीमा सुरक्षा चेक पोष्ट (बीओपी) छन् । बीओपीले समेत घुमुवा परिचालन गरी तस्करी गराउँदै आएका छन् । घुमुवामार्फत् वीओपी प्रमुखहरुले मासिक लाखौं रुपैयाँ असुल्दै आएका छन् । दृष्टिमा समाचार प्रकाशित भएपछि सिद्धार्थ वीओपी, डण्डा भैरहवाका घुमुवा सहायक हवल्दार दीपबहादुर अधिकारीलाई उनको दरबन्दीमा पठाइएको छ । अधिकारीको दरबन्दी पर्वत भए पनि उनले लाइन मिलाएर डेढ वर्षदेखि डण्डामा घुमुवा बसेका थिए । इन्स्पेक्टर विजय थापाले यहाँ घुमुवा परिचालन गरी असुली धन्दा चलाउँदै आएका थिए ।

सशस्त्रले अधिकारीबाहेक अन्य कसैलाई पनि कारबाही गर्न सकेको छैन । न त असुलीमा मस्त घुमुवा हटाउन नै सकेको छ । सशस्त्र प्रहरी बल नं. २७ गण हे.क्वा. रुपन्देहीका घुमुवा सहायक हवल्दार प्रदीप जवरा र जवान सन्नी चौधरीले तस्करसँग मोटो रकम बुझी रातदिन तस्करी गराइरहेका हुन् । जवरा र चौधरीले कपडा र हार्डवेयर तस्करी अफरोज खाँनबाट मासिक १ लाख ५० हजार बुझेर तस्करी गराउँदै आएको स्वयं खाँन बताउँछन् । अफरोजले सिद्धार्थ वीओपी डण्डा, भैरहवा अघिबाट तस्करी गर्छन् । उनीसँग वीओपीका इन्स्पेक्टर विजय थापाले पनि मासिक बुझ्ने गरेको स्रोत बताउँछ ।
यस्तै शंकरपुर (एअरपोर्ट पछाडि) राजु मुसलमानले तस्करी गर्दै आएका छन् । उनले सशस्त्रका घुमुवालाई मासिक ९० हजार बुझाउँछन् । यहाँबाट केही दिन अघिमात्रै जिल्ला प्रहरी कार्यालयले करिब १९ लाख रुपैयाँ बराबरको हार्डवेयर र कपडा बरामद गरेको थियो । सशस्त्र प्रहरीको वीओपी वयरघाट लुम्बिनीमा ईश्वर कार्की, वीओपी बजरकट्टीमा सहायक हवल्दार ज्ञानसागर पाण्डे घुमुवा छन् । उनीहरुले तस्करसँग साँठगाँस गरेर असुली धन्दा गरिरहेका छन् । पटकपटक तस्करसँग मिलेर असुली गर्दै आएका सशस्त्रका घुमुवा हटाउन प्रधान कार्यालयले कुनै चासो दिएको छैन ।

सशस्त्रका माथिल्लो तहका अधिकारीहरुसँग राम्रो सेटिङ मिलाएकाले नेपाल प्रहरीले घुमुवा हटाउँदासमेत सशस्त्रले हटाउन नसकेको हो । दृष्टिलाई प्राप्त प्रमाणअनुसार सशस्त्रका घुमुवाले हार्डवेयर र कपडा तस्करीहरु लल्लु मुसलमानबाट मासिक ५० हजार, उमेश गुप्ताबाट २५, अखलेस ढाँडीबाट ४०, मंगल यादवबाट ३५, शेषन यादवबाट ३५ हजार रुपैयाँ मासिक बुझ्दै आएका छन् ।

यस्तै, खसीकुखुरा तस्करीहरु समसुद्धिन मुसलमानबाट मासिक १५, हैदर मुसलमानबाट ४५, चिनक मुसलमानबाट ३५ हजार रुपैयाँ असुली गरी भारतबाट नेपालतर्फ तस्करी गराउँदै आएका छन् । यसैगरी चिनी र तेल तस्करी आकाशबाट मासिक ४०, धान गहुँ तस्करहरु नरेश यादवबाट २० र लुरे मुसलमानबाट १० हजार मासिकी बुझ्छन् । यस्तै, इलेक्ट्रिक सामान तस्करी राजकुमार यादवबाट २०, भैँसी तस्करी बद्री यादवबाट १५, मटर, दाल तस्कर सुरज यादवबाट ८ र मलखाद तस्करी रंजित ढाँडीबाट ५ हजार रुपैयाँ मासिकी बुझ्छन् ।

खासगरी पछिल्लो समय मेउडिहवा, दुर्गौलिया, एअरपोर्ट पछाडिको नाकाबाट अत्यधिक तस्करी हुँदै आएको छ । नेपाल प्रहरीको घुमुवा नभएको मौकामा सीमाका प्रहरी चौकी, सशस्त्रका बीओपी तथा घुमुवाहरुले तस्करीसँगको मिलेमतोमा मासिक लाखौं रुपैयाँ असुल्दै आएका छन् । भारतसँग सीमा जोडिएका रुपन्देहीका सबैजसो नाकाबाट तस्करी हुने गरे पनि पछिल्लो समय एअरपोर्ट पछाडि, मर्चवार, सेमलपानी, बुचीबर्मा, लुम्बिनीबाट बढी अवैध सामान नेपाल भित्रीरहेको छ । तस्करले मोटरसाइकल र साइकलमा रातदिन भारतबाट नेपालतर्फ तस्करी गरी सामान भित्र्याउँछन् तर मिलेमतोले यो अवैध क्रियाकलाप रोकिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्