Logo
Logo

रवि-बालेनको सत्तामोहः वैकल्पिक राजनीतिको बुट्टेजामा


693
Shares

फागुन २१ गते हुने भनिएको आमचुनावको कार्यतालिकाको गाडीको रफ्तारसँगै नेपाली राजनीतिमा जोडघटाउको क्याल्कुलेटर दबाउने क्रम तीव्र भएको छ । यही क्रममा राजनीतिक दल र समूहहरू जोडिने र फोडिने क्रम पनि जारी छ । यसको पछिल्लो संस्करण भएको छ, रवि-बालेनको मिलन । नेपाली प्रियतावादी राजनीतिका यी दुई लोकप्रिय अनुहारहरूको मिलनले यतिबेला नेपाली मिडियाका सारा शीर्षकहरू प्रभावित छन् ।

यसपटकको विलोम पनि यो परिदृश्यबाट निरपेक्ष छैन । शीर्षक दिएर स्तम्भ लेख्ने कि स्तम्भ लेखेर शीर्षक लिने, दोधारमा रहेको यो स्तम्भकार पहिलोपटक शीर्षक दिएर स्तम्भ लेखिरहेको छ, रवि–वालेनको सत्तामोहः वैकल्पिक राजनीतिको बुट्टेजामा । यो शीर्षकमाथिको समसामयिक टिप्पणी कत्तिको जम्छ, गर्भमै छ । यद्यपि, यसमा सम्भावना चाहिँ छ ।

शीर्षकको चुरोमा आउनुअघि यो स्तम्भकार उसका आँखामा नाचिरहेका रवि–बालेन को हुन् र उनीहरू कसरी यहाँसम्म आइपुगे, त्यसको बारेमा संक्षिप्तमा लेख्न चाहन्छ । यद्यपि, यहाँ लेखिएको तथ्य रवि–बालेन र उनका अनुयायीहरूका लागि प्रिय हुँदैनन् । त्यसैले उनीहरू सिधै भन्छन्, यो रवि–बालेन फोबिया हो । अझ, रविको हकमा त धेरैले के सम्म पनि भन्छन् भने ‘अरूले गर्दा हुने रविले गर्दा नहुने ?’ रविले गर्दा मुद्दा मामिला लाग्नुलाई पूर्वाग्रह देख्ने ‘दोषी चस्मा’ लगाउनेहरूको अभाव नेपाली समाजमा छैन ।

जग हँसाउने यस्तो कुतर्कसँग कसको के लाग्छ र ? तर, रवि यस्तै कुतर्कको मलमा उही ड्याङमा झाँगिएका संखमुलका पुरानै मुला हुन् । फरक के छ भने रविसँग झुटको पुलिन्दा बाँधेर दिउँसै रात पार्न सक्ने विछट्टैको क्षमता छ । व्यक्तिलाई मात्र हैन, जन्मेको देश नेपाल र बनाएको देश अमेरिका दुबैलाई ढाटेर पनि उनी सुली चढेका छैनन्, चौतारीमै नाचिरहेका छन् ।

नेपालमा बाँच्नै दिएनन् भनेर नेपाली नागरिकता त्यागे र अमेरिकी नागरिकता लिए । त्यही नागरिकताको आधारमा भिसा लगाएर नेपाल पसेका रवि नेपालमा गैरकानूनी रूपमा काम गर्न थाले । त्यही कामको पटाक्षेप हुँदा उनी बाध्य भएर अमेरिकी नागरिकता छोडेर फेरि नेपाली नागरिकता लिन बाध्य भए ।

अवैध भैसकेको नेपाली नागरिकताको आधारमा विवाह गरे, व्यापार-व्यावसाय गरे, पार्टी बनाए, सांसद भए, सांसद बनाए, मन्त्री-उपप्रधानमन्त्री भए । जब सर्वोच्च अदालतले त्यो नागरिकता अवैध भन्यो, उनी भुइँमा पछारिए । चितवन- २ मा उपनिर्वाचन भयो, जनतालाई फेरि एकपटक मूर्ख बनाएर चुनाव जिते । त्यसको मक्सद एउटै थियो, गृहमन्त्री भएर आफूमाथिका मुद्दा दबाउने । उनले एकपटक हैन, दुईपटक गृहमन्त्रालयको वागडोर सम्हालेर त्यही गरे ।

रविको यहाँसम्मको चमत्कारमा ओलीको असीम कृपा छ । त्यसको सरूवात थियो, नेपाल टेलिभिजनमा सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम । अमेरिकी पासपोर्टमा फ्यामिली भिसा लगाएर नेपाल आएका अमेरिकी नागरिक रवि लामिछानेलाई यो अवैध अवसर प्राप्त थियो, त्यसका लागि उनले अवैध भैसकेको नेपालको पुरानै नागरिकता प्रयोग गरेका थिए । त्यो नागरिकताका धारमा उनले नेपाली पासपोर्ट नै बनाए । यसरी एकसाथ अमेरिकी र नेपाली पासपोर्ट चलाउने रवि त्यो मुद्दा महान्यायाधिवक्ताको कार्यालयमा मुल्तवीमा राखेर नेपालको गृहमन्त्री भए । यस्तो छुछ अरू कसैलाई होला ? यो छुट ओलीको निगाहमा प्रचण्डको कृपाले प्राप्त थियो जुन मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।

अरू सर्वसाधारणको जस्तो हुने हो भने यही मुद्दा रविलाई जेल पठाउन र राजनीतिक जीवन पूर्णविराम लगाउन पर्याप्त छ । अहिले उनी रास्वपाको शक्ति र सामाजिक सञ्जालको बलमा बाहिर छन् । तर, सँधैभरी यस्तो नहोला । त्यस्तो नभएको दिन रवि फेरि सकिनेछन् ।

अहिले उनी सहकारी ठगी मुद्दामा सम्भावित बिगोसमेत बेहोरेर तारिखमा थुनामुक्त भएका अपवाद अभियुक्त हुन् । यस्ता मुद्दा त एक हैन, चारवटा छन् । त्यति मात्र हैन, उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धिकरणजस्ता संगीन आरोपका फौजदारी मुद्दा पनि छन् । यी सारा सरकारवादी मुद्दाका प्रतिवादी रवि प्रधानमन्त्री निवास बालुवाटारमै रातो कार्पेट ओछ्याएर स्वागत गरिन्छन्, सुशासनको नाममा यो भन्दा भद्दा प्रस्तुति के हुन्छ र ?

यो त भयो रविको कथा । अब अर्का पात्र बालेनको कुरा गरौँ । उनी एक पढेलेखेका ¥याप गायन पृष्ठभूमिका युवा हुन् । अश्लील शब्दहरू उनका ¥यापका अभिन्न अंग हुन् भने झ्याप व्यक्तित्व उनको कमजोरी हो । रातका राजा बालेन झ्याप भएपछि के लेख्छन् भन्दा पनि के लेख्दैनन् भन्ने एन्टी थेसिसको अवस्था छ । उनी एक विद्रोही स्वभावका अस्वाभाविक व्यक्ति हुन् ।

उनी मनमौजी छन् र कति बेला के गर्छन् ?, अनुमान नै गर्न सकिन्न । यसका अतिरिक्त उनको बाँकी व्यक्तित्वमाथि कालो पर्दा नै छ । भनाइ नै छ, आँखाले ढाँट्दैनन् । तर, बालेन कालो चस्मा लगाएर तिनै नढाँट्ने आँखालाई नै लुकाउँदै आएका छन् । त्यसैले धेरै कुरा देखिएका छैनन्, छोपिएका छन् ।

बेला बेला कानून मान्दिन भनेर ठाडै चुनौती मात्रै दिँदैनन्, सिंहदरबारमा आगो लगाउने अस्वाभाविक कुरा पनि गर्छन् । अहिलेसम्मको उनको सार्वजनिक ओहोदाको जिम्मेवारी भनेको काठमाडौं महानगरपालिकाको मेयर मात्रै हो । यो भूमिकामा पनि उनी खासै जमेका छैनन् । हुकुमले शासन गर्न चाहने उनी आफैँमा सुशासनका एक खतरनाक तगारा हुन् ।

एकातिर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणजस्ता संगीन आरोप लागेका रवि, अर्कोतिर कानुन नै मान्दिन भन्दै ठाडो चुनौती दिने मनमौजी स्वभावका बालेन– दुवै महत्वाकांक्षाका सगरमाथा हुन् । उनीहरूको आँखामा सिंहदरवार नाचिरहेको छ, प्रधानमन्त्रीभन्दा तलको पदले माने नै राखिरहेको छैन । त्यसका लागि उनीहरूलाई पार्टी हैन, सिंहदरवार चढ्ने भ¥याङ चाहिएको छ । त्यही भ¥याङ हो, उनीहरूले बनाउने पार्टी । रविले बनाएको रास्वपा त्यस्तै एउटा भ¥याङ थियो । रविमाथि मुद्दा लागेयता रास्वपाले आफ्नो सारा स्व र शक्ति नै त्यसैमा लगाएबाट त्यही पुष्टि हुन्छ ।

तर, जे भए पनि रवि र बालेन अहिलेको नेपाली पियतावादी राजनीतिका दुई जबरजस्त आइकन हुन् । यद्यपि, यो पनि त्यतिकै सत्य हो कि उनीहरू आफ्नो योग्यता र अनुभवले भन्दा पनि नेपालका पुराना मूलधारे राजनीति अझ त्यसमा पनि ओली–देउवा–प्रचण्डको म्युजिकल चियर्सको क्रियाले उत्पादन गरेका प्रतिक्रिया हुन् । जेनजी आन्दोलनपछि पनि नेपाली राजनीतिका यी तीन खलपात्र र उनीहरूका दल नसच्चिपछि यिनीहरू अरू बढी सान्दर्भिक भएका हुन् । त्यसमा पनि अन्य दुई खलपात्रलाई उक्स्याउन ओलीको अहम् भूमिका छ ।

नेपाली जनतामा ओली–देउवा–प्रचण्डका प्रति चरम आक्रोश मात्र हैन, घृणा पनि छ । त्यसमा पनि ओलीमाथिको आक्रोशको पारो त सिमाभन्दा पनि माथि नै छ । तर, तिनै ओली अहिले पनि चेतेका छैनन् र एमालेलाई बन्धक बनाएर समयलाई हाँक दिइरहेका छन् । ओलीको यही हाँक बालेन-रवि-कुलमानलाई नजिक ल्याउने र लोकप्रिय बनाउने इन्धन भएको छ । जति जति ओलीले क्रिया गर्छन्, त्यति त्यति नै प्रतिक्रियामा बालेन-रवि-कुलमानको लोकप्रियताको पारो बढ्छ । न्युटनको तेस्रो नियमले भन्छ, हरेक क्रियाको बराबर तर विपरित दिशामा प्रतिक्रिया हुन्छ । राजनीतिमै सही, नेपालमा यतिबेला भइरहेको नै यही हो ।

त्यसैको सबैभन्दा ठूलो साइड इफेक्ट हो, बालेनको रास्वपा प्रवेश । ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बालेन शाह बीच ‘बृहत् एकता’ सम्बन्धी सहमति’ भनिए पनि यसको अन्तर्य वालेनको रास्वपा प्रवेश नै हो । बालेनलाई जे भनिए पनि वा जे बनाइए पनि उनको हैसियत एक स्वतन्त्र व्यक्तिकै हो । त्यही हैसियतमा उनी काठमाडौं महानगरपालिकाको मेयर विजयी भएका हुन् ।

केही दिनयता नयाँ भनिएका बालेन, कुलमान र रविवीच सहकार्यका लागि विभिन्न चरणमा दुई पक्षीय कुरा हुँदै आएको थियो । यही क्रममा शनिबार राति बालुवाटारको एउटा घरमा बैठक गरिरहेका बालेन र कुलमान सम्झौता नजिक पुग्न लागेका थिए । यो सुइँको पाएर अतालिएका रवि त्यही पुगे । र, वालेन–कुलमान सम्भावित सहकार्यलाई तुहाउँदै अन्ततः बालेनलाई रास्वपामा भित्राउन सफल भए ।

यसका लागि रविले केही गुमाउनै परेन । बालेनलाई भावी प्रधानमन्त्री र संसदीय दलको नेताको उधारो घाँस हालिदिए पुग्यो । त्यही घाँस देखेर वालेन मुस्काउँदै रास्वपा प्रवेश गरे । तर, उपसभापति दिएर रास्वपा प्रवेशको प्रस्ताव पाएका कुलमान त्यसका लागि तयार भएनन् । उनले सहकारी ठगी, संगठित अपराध र बिना स्रोतको अकूत सम्पत्तिको संगीन आरोपमा बिगो-धरौटीमा थुनामुक्त भएका रविको नेतृत्व स्वीकार गरेनन् । उनको माग अभियोगबाट मुक्त नहुन्जेल आफूलाई पार्टीको कार्यकारी नेतृत्व दिनुपर्ने अडानबाट टसमस भएनन् । त्यसका लागि रवि तयार हुने कुरै थिएन ।

रवि आफ्नो भाग दिएर सहमति गर्ने खालका व्यक्ति नै हैनन् । धेरैलाई लाग्ला, रविले बालेनलाई सम्भावित संसदीय दलको नेता र भावी प्रधानमन्त्री उम्मेदवारी दिए । यो भएको कुरा दिएको हैन, नभएको कुराको उधारो आश्वासन मात्र हो । त्यसका लागि पहिला त वालेनले चुनाव जित्नुप¥यो । त्यसपछि रास्वपाले प्रधानमन्त्री हुने गरी बहुमत ल्याउनु प¥यो । अझ त्यतिले मात्र पनि पुग्दैन, रविले आफ्नो प्रालि बनाइसकेको रास्वपाका निर्वाचित सांसदहरू बालेनलाई संसदीय दलको नेता बनाउन तयार हुनुप¥यो ।

यो पनि त्यतिबेलासम्म मात्र सम्भव हुन्छ जतिबेलासम्म रविमाथि लागेको संगठित अपराधको फौजदारी मुद्दा उनको पक्षमा फैसला हुँदैन । त्यो मुद्दा रहेसम्म रवि सांसद भए पनि स्वतः निलम्बित हुन्छन् र प्रधानमन्त्री हुन पाउँदैनन् । त्यस्तो अवस्थामा मात्र रविले बालेनलाई उधारो प्रधानमन्त्री दिएका हुन् ।

यसरी बाठा रविले व्यक्तिगत रूपमा केही पनि नगुमाई बालेनलाई रास्वपामा प्रवेश गराएका छन् । यसबाट स्वभावतः रास्वपा त बलियो भएको छ नै पुरानाहरूलाई जसरी पनि विस्थापन गर्नुपर्छ भनेर लागेका नयाँहरूका लागि एक दरिलो विकल्प पनि बनेको छ । तर, यतिले मात्रै यो पर्याप्त छैन, सहकार्यमा बाहिर पारिएका कुलमानलाई पनि भित्र्याउनुपर्ने छ । त्यसका लागि खासगरी जनजाति पृष्ठभूमिका जेनजी युवाहरू लागिपरेका छन् ।

यस क्रममा उनीहरूले बाठा रवि–वालेनले सोझा कुलमानलाई ठगेको भन्दै जनजाति कार्ड पनि खेल्न भ्याइसकेका छन् । यसै पनि संघीयता विरोधीको ट्याग लागिसकेका रवि-बालेनलाई यो कार्ड महँगो हुने निश्चित छ । उनीहरूलाई यसको पूर्व-आभास पनि भैसकेका छ । त्यसैले उनीहरू सहकार्यको प्रयासको अभिनय गरेर कुलमानलाई अलमल्याइरहेका छन् । यसो गरेर उनीहरू कुलमानले नै सहकार्य गर्न नचाहेको भाष्य बनाउन चाहन्छन् । सामाजिक सञ्जालको बलमा उदाएका रवि-बालेनलाई यस्तो भ्रम सिर्जना गर्न महारथ प्राप्त छ ।

हिजोआज राजनीतिमा नयाँ बाटो कोरिएको छ, कार्यक्रममा आधारित राजनीति । रवि-बालेनको रास्वपा मात्र हैन, अहिले देखापरेका सबै राजनीतिक दलहरूको बाटो यही हो । यिनीहरू माक्र्सवाद, प्रजातान्त्रिक समाजवाद, उदारवाद जस्ता ‘लेक्सिकन’ बाटो हैन, पोलिसी, प्रोग्राम र डेलिभरीलाई ध्यान दिँदै खोलिएका कार्यक्रमिक पार्टी हुन् । यिनीहरूले न सैद्धान्तिक फेरो समाएका छन्, न भूगोलका धर्सा । यिनीहरू पुरानाका कमजोरीमाथि पलाएका ऐजेरू मात्र हुन् । पुराना दलहरूमा आन्तरिक लोकतन्त्र मजबुत भएर पुस्तान्तरण र रूपान्तरण एक नियमित प्रक्रिया हुने हो भने यी दलहरूको कुनै आवश्यकता नै पर्दैन । यसै पनि अहिलेका दल बाटो बिनाको गन्तव्य पछ्याइरहेका कुहिराका काग हुन् ।

पुरानाले गरेनन् भनेर विकल्पमा आएका नयाँ दलहरू या त पुरानाले गर्ने बित्तिकै आवश्यक हुँदैनन्, या त आफू भन्दा पुराना जस्तै भएर गर्ने अवस्थामा हुँदैनन् । रवि त तीन वर्षमै जडौरी भइसके, बालेन पनि पुरै नयाँ हैनन् । कुलमान पनि अर्को रूपमा पुराना नै हुन्, एक अन्तरिम मन्त्रीका रूपमा यतिबेला उनी केही डेलिभरी दिन खोजिरहेका छन् । यो बेग्लै कुरा हो ।

जे भए पनि बालेनको रास्वपा प्रवेशले नेपाली राजनीति तरंगित बनाएको छ । नयाँहरूमा उत्साह छाएको छ भने पुरानाहरू भित्रभित्रै डराएका छन् । त्यो डर यतिबेला आक्रामकतामा परिणत भएको छ । यो आक्रामकता स्वयंमा रक्षात्मक बान्नुअघिको लक्षण हो ।

यो सहकार्यसँगै बालेन प्रधानमन्त्रीको घोषित उम्मेदवार भएका छन् । यसबाट अरू दललाई पनि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने बाध्यता सिर्जना भएको छ । घोषणा गरे पनि नगरे पनि एमालेबाट ओली र नेकपाबाट प्रचण्ड नै प्रधानमन्त्रीका उम्मेदवार हुन् । कांग्रेसबाट को हुने हो?, अहिले नै यसै भन्न सकिने अवस्था छैन । आशा गरिएका गगनको सम्भावना ट¥यो भने त्यसले काँग्रेसलाई पनि एमाले-माओवादी लाइनमै उभ्याउने छ । यथास्थितवादी मूलधारे दलहरूको लागि यो शुभ संकेत हैन ।

यस्तो अवस्थामा नेपाली जनताले ओली, प्रचण्ड वा देउवाको उत्तराधिकारी छान्नुभन्दा बालेन नै छान्न सक्छन् । अति भएपछि खती हुनु स्वाभाविक हो । यत्रो पैमानाको जेनजी आन्दोलनपछि पनि नेपालका तीन ठूला राजनीतिक दल नसच्चिएपछि परिणाम त सकिने नै हो । बालेन र रविको गठजोडबाट सक्किए भने पनि अचम्म मान्नुपर्ने अवस्था छैन । यद्यपि, प्रियतावादी रवि-वालेन नेपालको समृद्ध भविष्यका लागि समाधान हैनन् । रवि-वालेनको सत्तामोह, वैकल्पिक राजनीतिको बुट्टेजामा मात्र हो ।

प्रतिक्रिया दिनुहोस्