
देशको शान्ति सुरक्षाप्रतिको दायित्व बोध गर्दै नेपाली सेनाले गत साता महत्त्वपूर्ण सन्देश दिएको छ । राष्ट्रिय समाचार समितिमा सैनिक जनसम्पर्क निर्देशनालयका तर्फबाट प्रकाशित सन्देशमा भदौ २३ र २४ पश्चात् सेनाको भूमिका उजागर गरिएको छ । जेनजी विद्रोहपश्चात् असोज ३१ मा पत्रकार सम्मेलन गरेर सेनाले निर्वाचनको विकल्प नभएको स्पष्ट भनेको थियो । पछिल्लो सन्देशमा पनि सेनाले निर्वाचनलाई भयरहित ढङ्गबाट सम्पन्न गर्न आम जनसमुदायसहित सबैलाई एकजुट हुन आव्हान गरेको छ । सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र सरोकारवाला निकायहरूसँग समन्वय गरी चुनावलाई शान्तिपूर्ण र भयरहित रूपमा हुने वातावरण तयार गर्न भूमिका खेल्ने स्पष्ट पारेको छ ।
यस घटनालाई लिएर प्रत्यक्ष रूपमा सेनामाथि अघोषित कू को आरोप लगाउनेहरू पनि छन् । तर, उसले राजनीतिक हस्तक्षेपको शंका आशंका मेट्न इतिहासतर्फ फर्केर हेर्न भन्दै कहिल्यै सत्तामा हस्तक्षेप नगरेको उल्लेख गरेको छ । नेपालको इतिहासमा भएका जुनसुकै परिवर्तनलाई सेनाले आत्मसाथ गर्दै आएको स्पष्ट पारेको छ । सैनिक कू या सफ्ट कू जस्ता नाम दिएर जे जस्ता आरोपहरू लगाइएका छन्, त्यसलाई निराधार ठहराउने गरी सेनाले इतिहास पल्टाउन सुझाव दिएको छ ।
बहुदलीय व्यवस्थापछिको घटनालाई केलाउने हो भने पनि सेनाले राजनीतिक हस्तक्षेप गरेन । देशको सुरक्षाका लागि सरकारको आदेशको पालना गरेर त्यसलाई सिद्ध गरेको छ । २०४७ सालको अन्तरिम संविधान होस् या २०७२ सालको संविधान नै किन नहोस्, त्यसलाई सेनाले स्वीकार मात्र गरेन, पालना नै ग¥यो ।
कुनैबेला राजाको सेना भनिन्थ्यो । तर, सेनाले प्रतिनिधि सभामार्फत् राजसंस्थाको अन्त्य भएपछि राजतन्त्रको पक्षमा कुनै कदम चालेन । सत्ता ढाल्ने र बनाउने खेलमा सेना उत्रिएन । उसले पछिल्लोपटक स्पष्ट साथ भनेको छ, सेनामा राजनैतिक महत्वाकांक्ष पटक्कै देखिँदैन ।
२००७ सालयता सेनाका बहालवाला प्रधानसेनापति या पूर्वसेनापति हुन् या पूर्व जर्नेल नै किन नहुन् नेपालको प्रधानमन्त्री बनेका छैनन् । स्वार्थको सिद्धान्तलाई ध्यान दिएर पदमा जाने या नजानेमा विचार गर्नेमा सबैभन्दा बढी पूर्वजर्नेलहरु नै छन् ।
सेनाले राजनैतिक संकट पार लगाउन विगत देखि वर्तमानमा समेत सहजीकरण गर्दै आएको छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने वातावरण बनाएको २०६३ सालको परिवर्तनमा सेनाले सहजीकरणको भूमिका खेलेको थियो । त्यो भूमिका जेनजी विद्रोहपछिको राजनीतिक शून्यतामा पनि खेल्यो । राजनीतिक शून्यतामा सेनामा महत्वाकांक्षा हुन्थ्यो भने शासन नै हातमा लिने थियो होला । तर, सेनाले त्यसो गरेन । सत्ताको संघर्षमा लागेर बदनाम हुने र राष्ट्रिय सुरक्षाको कर्तव्यबाट अन्यत्र मोडिएन । सेनामा वर्तमानको क्षणिक सत्ता स्वादभन्दा देशहितको भविष्यप्रतिको दुरदृष्टि रह्यो ।
सेना कुनै राजनीतिक दल होइन, त्यसैले सेनाले आफ्नो इतिहास बुझेको इतिहास साक्षी छ । सेना त देशको सुरक्षाका लागि जनताको आस्थाको धरोहर हो । उसले देशको रक्षाका लागि लडेका, एकताबद्ध बनाउन त्याग तपस्या गरेका महापुरुषहरूलाई मान्ने हो । सैनिक मुख्यालयमा आफ्नै माटोबाट उठेर माटोका लागि प्राण उत्सर्ग गरेका, देशभक्तिपूर्ण भावना जागृत गरेका महापुरुषहरूको तस्बिरहरू टाँसिएका छन् ।
नेपालको निर्माता पृथ्वीनारायण शाहको शालिक नै छ । बाह्य प्रभावका कतिपय सिद्धान्त बोकेकाहरूले पृथ्वीनारायण शाहको चर्को आलोचना गर्छन् । नेपालको हितका लागि राजनीतिक गरिरहेको दाबी गर्नेहरू पनि त्यसमा पर्दछन् । देशको सुरक्षाको जिम्मा लिएको नेपाली सेनाले राष्ट्र निर्माताको शालिक मात्र बनाएर आदर्श र दिव्य उपदेशलाई आत्मासाथ पनि गर्दै आएको छ ।
सेनाले भनेको छ, राष्ट्र निर्माता कुनै पनि तन्त्र र वादभन्दा माथि रहेको नेपालको ऐतिहासिक पहिचान हुन् । भदौ २४ गते प्रधानसेनापति अशोक राज सिग्देलले टेलिभिजन सन्देश दिँदा पछिल्तिर पृथ्वीनारायण शाहको तस्बिर देखिएकोमा त्यो सेनाले गर्नु पर्ने कार्य गरेको स्पष्ट पारेको छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको स्मरण गराएको भनेको छ । यसलाई राष्ट्रिय चेतनाको आव्हान नै भन्यो । वास्तवमा, पृथ्वीनारायण शाहले साना दुःखले निर्माण गरेको देश होइन यो ।
पहिले मुगल त्यसपछि अंग्रेजले विशाल भारतलाई जित्दा नेपालको अस्तित्व रहन बच्यो । कहिले सुर्यास्त नहुने गरी संसारभर उपनिवेश बनाएका अङ्ग्रेजहरू दक्षिण एसियामा फैलिइरहँदा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरी राष्ट्र जोगाएका थिए ।
नेपालको सुरक्षाको जिम्मेवारी लिएको सेनाले राष्ट्रनिर्माताको स्मरण गराउनु र गौरवशाली इतिहासको संरक्षण गर्नुलाई कर्तव्य सम्झेर पालना गरिरहेको देखिन्छ । सेनाले राष्ट्रप्रतिको धर्म निभाउँदै आयो । उसले देशको संस्कृति, परम्परा, रीतिरिवाज, भाषा, लिपि जोगाएमा मात्र देशको अस्तित्व रहन्छ भन्ने यथार्थलाई आत्मासाथ गर्दै तिनको जर्गेनामा ऊर्जा खर्चियो । सेनाको त्रिशुल ठडिइरह्यो ।
संविधानप्रति निष्ठावान् रहेको उल्लेख गर्दै स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्धता जनाएको छ । उसले निकास प्रक्रियाबाटै खोज्दै जीवन रक्षालाई सधैँ प्राथमिकतामा राखेको विगतलाई समेत संकेत गरेको छ । जनेजी विद्रोहको दोस्रो दिन भदौ २४ गते सेनाले बल प्रयोग गरेर भएपनि सिंहदरबारलगायत धरोहर नजोगाएको विषय उठाउने गरिएको छ । तर, सेनाले बल प्रयोग गरेर सयौँको ज्यान जान्थ्यो भने विद्रोह भयावह हुन्थ्यो । त्यसबाट देशलाई जोगाउनु पनि बुद्धिमत्ता हो ।
देशमा रगतको खोलो बग्न सक्थ्यो । सेनाले भौतिक पूर्वाधारको सुरक्षाभन्दा जीवनको सुरक्षालाई प्राथमिकतामा राख्यो । सेनालाई नै आक्रमण गरेको तत्कालीन माओवादी लडाकुलाई पनि नेपाली नै हो भन्ने सम्झेर कम क्षतिमा बल प्रयोग गरेको इतिहास साक्षी छ । होलेरी प्रकरणमा सेनाले देशलाई ठूलो रक्तपात हुनबाट जोगाएको थियो । २०६२ र २०६३ को जनआन्दोलनमा सेनाले बल प्रयोग गरेन । २०४६ सालको जनआन्दोलनमा पनि सेनाको भूमिका असन्तुष्ट जनताविरुद्ध रहेन । सेनाले परिवर्तनलाई आत्मासाथ गर्दै आयो ।
राजनीति त चल्दै गर्छ । सत्तामा पात्रहरू आउने जाने क्रम चलिरहन्छ । पार्टीहरू पनि बन्छन् विघटन हुन्छन् । पुष्पकमल दाहालले मात्र पार्टी बनाउने र विघटन गर्ने कदम चाल्दै कीर्तिमान नै बनाइसके । तर, देश रहिरहनुपर्छ । सबैभन्दा माथि देश हो । देशको सशक्त अस्तित्वका लागि सुरक्षा महत्त्वपूर्ण हुन्छ । त्यसका लागि सेना, प्रहरी, गुप्तचर निकाय जस्ता सुरक्षा संस्था मजबुत हुनुपर्छ ।
सेना त झन् अनुशासित, बलियो, विश्वसनीय हुनै पर्छ । जब जनतामा सेनाप्रति विश्वास बढ्छ तब देशमा शान्ति सुरक्षाको वातावरण बन्छ । राजनीतिक एजेन्डा बोकेको भए सेना राजनीतिक दल या सत्तामा पुगेका पात्र जस्तै बदनाम हुन्थ्यो । त्यो सेनाले कहिल्यै नगरेकाले ऊप्रति जनताको विश्वास दरिलो भएको हो ।
सेनाको यही गरिमा र विश्सनीयताका कारण जटिल भन्दा जटिल परिस्थितिलाई संयमित भई बदलेर सहजीकरण गरेको छ । जेनजी विद्रोहपछि सेनाले जुन समन्वयकारी भूमिका निभाएर देशलाई संकटपूर्ण घडीबाट पार लगाउन खोजेको छ त्यसमा सबैको साथ र सहयोग अनिवार्य हुन्छ । सच्चा नेपालीले देशको शान्ति, सुव्यवस्था र सुरक्षाकै मार्ग निर्माणमा योगदान गर्छ । वर्तमानमा हरेक सच्चा नेपालीले सेनालगायत सुरक्षा निकायको सुझबुझपूर्ण योगदानको कदर गर्दै देशलाई राजनीतिक स्थायित्वको बाटोमा बढाउन आ आफ्नो तर्फबाट योगदान गर्नुपर्छ ।
त्यसका लागि देशलाई केन्द्रमा राख्नै पर्छ । सबैभन्दा माथि देश हो भन्ने भावना प्रत्येक नेपालीमा जागृत गराउने दायित्व अघिल्लो पुस्ताको हो जुन पछिल्लो पुस्ताले सिरोधार्य गर्दै जाने हो । देशका लागि जुन जुन संस्था बलियो हुनुपर्छ त्यसलाई सशक्त बनाइराख्ने दायित्व आम नेपालीको हो ।












