Logo
Logo

अनुहारले देश परिवर्तन गर्दैन


504
Shares

राजनीतिमा नयाँ दल जन्मिनु, नयाँ अनुहार उदाउनु वा पुराना नामहरू नयाँ नारासहित पुनः उपस्थित हुनु आफैँमा परिवर्तन होइन । बरु त्यो त परिवर्तनको नाममा भ्रममात्रै हो, जसले जनतालाई केही समयसम्म आशावादी त बनाउँछ, तर अन्ततः निराशाको चक्रमै फर्काइदिन्छ ।

लोकतन्त्रको स्थापनापछि विगत ३५ वर्षदेखि आमनेपालीले भोग्दै आएको कुरा यही हो । किनभने, समस्या दल पुरानो वा नयाँ हुनुमा होइन, समस्या प्रवृत्ति र व्यवहारमा हो । जुनसुकै विचार बोके पनि तिनको चरित्र र व्यवहार कस्तो छ भन्ने कुरा हामीले देखे भोगेकै हो । त्यसैले जबसम्म राजनीतिले जनजीवनका जटिल प्रश्नहरूलाई बुझ्ने क्षमता विकास गर्दैन, तबसम्म नयाँ अनुहार र पुरानो अनुहारको कुनै अर्थ रहँदैन । त्यो त केवल पुरानाले केही गरेनन् नयाँले गर्ला कि भनेर आशा र भ्रम छर्नु मात्र हो । अनुहार फेरिएको हुन्छ, तर व्यवहार उही रहन्छ । यही निरन्तरता आजको नेपाली राजनीतिको सबैभन्दा ठूलो विडम्बना हो ।

नेपाली राजनीति लामो समयदेखि भावनात्मक उत्तेजनाको बजार बनेको छ । क्रान्तिका नारा, राष्ट्रवादका चर्का शब्द, परिवर्तनका मीठा सपना र व्यवस्था बदल्ने उद्घोषहरूले जनतालाई ताली बजाउन सिकायो । तर त्यो तालीले पेट भरिएन, रोजगार आएन, शिक्षा स्वास्थ्य सुध्रिएन, विद्यालय सबल बनेन । भावनात्मक भाषणले भीड त जम्मा गर्छ, तर राज्य सञ्चालनका लागि नीति, योजना र कार्यक्षमता चाहिन्छ । जब भाषण नै राजनीति बन्छ, तब शासन नाटकमा रूपान्तरण हुन्छ । नाटकमा पात्र बदलिन्छन्, संवाद फेरिन्छ, तर कथा उही घुमिरहन्छ । नयाँ नेपालको व्यथा भनेको पनि यही नै हो ।

आज ‘नयाँ’ भन्ने शब्द राजनीतिमा ब्रान्डजस्तै बनेको छ । मुलुकमा नयाँ दल, नयाँ शक्ति, नयाँ अभियान आदि नाम–उपनाम जोडेर राजनीतिको मैदानमा उत्रने हावा नै चलेको छ । तर यी नयाँ भनिएका संरचनाहरूभित्र उही पुरानो सोच, उही सत्ता–केन्द्रित मानसिकता र उही अवसरवादी चरित्र पलाइरहेको देखिन्छ । दल नयाँ भए पनि नेताहरुको राजनीतिक संस्कार पुरानै छ भने त्यसले अवस्था बदल्दैन । पुरानो दलमा बसेर बिग्रेको मान्छे नयाँ दलमा पुगेपछि अचानक सुध्रिन्छ भन्ने अपेक्षा आफैँमा अव्यवहारिक हो ।

राजनीति संस्थामात्र होइन, चरित्र र चेतनाको सवाल पनि हो भन्ने ज्ञानको अभावले यसखाले समस्या उत्पन्न गरेको सत्य हो । हामीकहाँ आजसम्म व्यवहारिक नेताको अभाव छ । व्यवहारिक नेता भनेको केवल भाषणमा होइन, तथ्यमा बोल्ने, नारामा होइन, योजनामा विश्वास गर्ने, आलोचनामा होइन, समाधानमा केन्द्रित हुने व्यक्ति हो । व्यवहारिक नेताले समस्या पहिचान गर्छ, प्राथमिकता निर्धारण गर्छ र स्रोतसाधनको सही उपयोग गरेर परिणाम निकाल्छ । हाम्रो राजनीतिमा समस्या बुझ्नेभन्दा समस्या बेच्नेहरू हाबी छन् ।

जनताको पीडालाई समाधानको आधार होइन, राजनीतिक पुँजी बनाइएको छ । दल नयाँ हुनुभन्दा सोच नयाँ हुनु ठूलो कुरा हो । कार्यशैली नयाँ हुनु अझ ठूलो कुरा हो । तर हाम्रो राजनीतिमा नयाँ दलहरू पनि पुरानै नेताहरूको पुनर्वास केन्द्रजस्ता देखिन थालेका छन् । पुरानो दलमा आलोचित पात्र नयाँ दलमा पुगेपछि अचानक ‘स्वच्छ’ र ‘योग्य’ घोषित हुन्छ । यस्तो राजनीतिक धूर्तताले परिवर्तन होइन, अविश्वास र विद्रोह जन्माउँछ ।

सत्ता आफैँमा लक्ष्य होइन, साधन हो । तर जब सत्ता नै अन्तिम लक्ष्य बन्छ, तब योजना गौण बन्न थाल्दछ । आज हाम्रा धेरै नेताहरूसँग सत्ता प्राप्तिका लागि हजारौँ योजना छन्, तर सत्ता चलाउनको लागि एउटा स्पष्ट खाकासमेत छैन । रोजगारी सिर्जना, शिक्षा सुधार, स्वास्थ्य प्रणाली सुदृढीकरण र सुशासन स्थापनाजस्ता आधारभूत विषयमा स्पष्ट रोडम्यापबिना सत्ता सञ्चालन गर्नु भनेको अँध्यारोमा आँखा चिम्लेर गाडी हाँक्नुजस्तै हो, त्यसले एक दिन भयङ्कर दुर्घटना निम्त्याउने निश्चित हुन्छ ।

आज रोजगारीको प्रश्न नेपाली समाजको सबैभन्दा ज्वलन्त मुद्दा हो । तर राजनीतिमा यो विषय सधैँ भाषणमै सीमित रह्यो । युवा विदेश पठाएर रेमिटेन्सलाई उपलब्धि ठान्ने राज्यले कहिल्यै पनि आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्न सक्दैन । व्यवहारिक नेताले रोजगारीलाई दया होइन, अधिकारका रूपमा बुझ्न सक्छ । उसले कृषि, उद्योग, पर्यटन र प्रविधिलाई जोडेर दीर्घकालीन रोजगार नीति बनाउँछ ।

नारा होइन, संरचनागत सुधार रोजगारीको समाधान हो भन्ने कुरामा ऊ स्पष्ट हुन्छ र देशले पनि अग्रगामी मार्गमा पाइला राख्न सक्छ । यद्यपि, हामीकहाँ त्यो स्वच्छ राजनीतिक चेतको विकासका लागि कहीँ कतै पनि प्रयास गरेको देखिँदैन । वास्तवमा, व्यवहारिक नेतृत्वले भ्रष्टाचारविरुद्ध भाषण होइन, प्रणाली सुधार गर्छ । प्रक्रिया सरल बनाउँछ, प्रविधि प्रयोग गर्छ, निगरानी सुदृढ बनाउँछ । तर हाम्रो राजनीतिमा भ्रष्टाचारविरोधी नारा सत्ता प्राप्तिको औजारमात्रै बनेको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्र भनेका राज्यका आधारभूत जिम्मेवारीभित्र पर्ने क्षेत्र हुन् । तर जब यी क्षेत्रहरू नाफाको बजार बन्छन्, तब राजनीति नै असफल हुन्छ । व्यवहारिक नेताले शिक्षा र स्वास्थ्यलाई लगानी होइन, भविष्यको बीउका रूपमा हेर्छ । गुणस्तरीय सार्वजनिक शिक्षा र पहुँचयोग्य स्वास्थ्य सेवाबिना समृद्धिको सपना खोक्रो हुन्छ । भावुक भाषणले न विद्यालय सुध्रिन सक्छ न त अस्पताल नै चल्न सक्छ । यसरी सुध्रने भए आज यी क्षेत्रको गुणात्मक विकास हुने थिए ।

जनता पीडित हुनुपर्ने अवस्था आउने नै थिएन । यसका लागि त स्पष्ट नीति, बजेट र इमानदार कार्यान्वयन चाहिन्छ । यता सुशासन हाम्रो राजनीतिमा सबैभन्दा धेरै दोहोरिने शब्द हो, तर सबैभन्दा कम लागू हुने अवधारणा पनि यही हो । सुशासन कुनै व्यक्तिको सदाचारमा मात्र निर्भर हुँदैन, यो चिन्तन र प्रणालीको परिणाम हो । व्यवहारिक नेताले नियम बनाउँछ, संस्थालाई बलियो बनाउँछ र आफू पनि नियमको अधीनमा बस्छ । जब नेता स्वयं कानुनभन्दा माथि हुन्छ, तब सुशासन नारामा सीमित हुन थाल्छ ।

परिवर्तन भनेको चेतनाको रूपान्तरण हो, सोचको पुनर्निर्माण हो र शासन गर्ने तरिकामा देखिने ठोस फरक हो । तर हाम्रो राजनीतिक अभ्यासमा अनुहार फेरिएको छ, चेतना फेरिएको छैन । झण्डा फेरिएको छ, दिशा उही छ । भाषणमा शब्द नयाँ छन्, तर उद्देश्य पुरानै सत्ताको स्वाद चाख्ने परिपाटीकै रुपमा विकसित हुँदै गएको छ । यही कारण नेपाली राजनीतिले बारम्बार आशा जन्माएर निराशामा धकेल्ने दुष्चक्र तोड्न सकेको छैन ।

युवा जनशक्ति देशको सबैभन्दा ठूलो शक्ति हो । तर राजनीतिमा युवालाई प्रयोग मात्र गरियो, सहभागी बनाइएन । जुलुसमा नारा लगाउन, सामाजिक सञ्जालमा प्रचार गर्न युवा चाहिन्छ, तर उनीहरुलाई राज्यले नीति बनाउन र निर्णय गर्नचाहिँ वञ्चित गराएको छ ।

हामीकहाँ परिवर्तनलाई व्यक्तिसँग जोडेर बुझ्ने रोग गहिरो छ । फलानो आयो भने देश बन्छ, ढिस्कानो उठ्यो भने व्यवस्था सुध्रिन्छ भन्ने बालसुलभ अपेक्षा राजनीतिमा हाबी बनेको छ । तर इतिहास साक्षी छ, व्यक्ति बदलिए, व्यवस्था बदलिए, तर जनताको जीवनमा गुणात्मक सुधार आएन । यसको कारण एउटै छ कि राजनीति एजेन्डामा होइन, भावनामा चलाइयो । भावनाले भीड जम्मा ग¥यो, तर राज्य चलाउने क्षमता निर्माण गरेन । भावनात्मक राजनीति सस्तो लोकप्रियताको सजिलो बाटो हो ।

चर्का नारा, भावुक भाषण, शत्रु खडा गरेर उत्तेजना फैलाउने शैली, यी सबैले तत्काल ताली दिलाउँछन् । तर तालीले न रोजगार दिन्छ, न अस्पताल बनाउँछ, न विद्यालय सुधार्छ । तालीले केवल नेताको अहंकारलाई पोस्न बल पु¥याउँछ । देश चलाउन तथ्य चाहिन्छ, अध्ययन चाहिन्छ, योजना चाहिन्छ र इमानदार कार्यान्वयन पनि चाहिन्छ । परन्तु नेपाली राजनीतिमा लामो समयसम्म भावनालाई नीति बनाइयो । गफ र भाषणलाई विकास ठानियो । कहिले राष्ट्रवादको नारा, कहिले क्रान्तिको गीत, कहिले परिवर्तनको सपना । तर ती सपनाहरूलाई व्यवहारमा उतार्ने खाका कहिल्यै तयार गरिएन । जनतालाई प्रश्न गर्न होइन, जयजयकार गर्न सिकाइयो । परिणामतः राजनीति उत्तरदायी होइन, अवसरवादकेन्द्रित बन्दै गयो ।

हुन त राजनीतिक परिवर्तन कुनै चमत्कार होइन, यो दीर्घ प्रक्रिया हो, जसको सुरुवात चेतनाबाट हुन्छ । जब जनताले भावनात्मक नाराबाट माथि उठेर व्यवहारिक नेतृत्व खोज्न थाल्छन्, तबमात्र राजनीति सुध्रिन थाल्छ । नयाँ दल वा नयाँ अनुहार आउनु स्वागतयोग्य होला, तर त्यो नयाँ सोच र नयाँ एजेन्डासहित आएन भने, त्यो पनि पुरानै कथाको अर्को अध्याय मात्र हुनेछ । अब देशलाई ताली होइन, दिशा चाहिएको छ । भावनात्मक राजनीति होइन, व्यवहारिक नेतृत्व चाहिएको छ ।
– लमही दाङ, हाल : साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्