Logo
Logo

चितवनमा प्रहरीको संख्या वृद्धि गराउन केन्द्रसँग पहल भइरहेको छः प्रमुख दाहाल


- दृष्टि न्युज/संवाददाता


चितवन, ३० असोज । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनमा प्रहरीको संख्या वृद्धि गराउन महानगरले केन्द्रलाई आग्रह गरिरहेको बताएकी छिन् । आज ६५औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनद्वारा कार्यालय परिसरमा आयोजित कार्यक्रममा बाल्दै महानगर प्रमुख दाहालले यस्तो बताएकी हुन् ।

कार्यक्रमकी प्रमुख अतिथि दाहालले देशकै केन्द्रभागमा रहेको चितवनमा जनघनत्व र विकास निर्माण तीव्र गतिमा बढिरहे पनि प्रहरीको संख्यामा वृद्धि हुन नसकेको बताइन् । उनले यसबारे केन्द्रसम्म ध्यानाकर्षण गराइरहेको बताउँदै उनले प्रहरीको संख्या वृद्धि गराउन महानगरले आग्रह गरिरहेको जानकारी दिइन् । चितवनमा प्रविधिमैत्री प्रहरी संगठन बनाउन पनि आफूहरुले पहल गरिरहेको उनको भनाइ छ ।

अपराध नियन्त्रण र अनुसन्धानबाट समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका आफैमा प्रशंसनीय भएको बताउँदै उनले चितवन प्रहरीलेसुरक्षा व्यवस्था राम्रोसँग गरिरहेको बताइन् । चितवन प्रहरीको कार्यबाट भरतपुर महानगरपालिका पूर्ण सन्तुष्ट रहेको उनको प्रतिक्रिया छ । महानगर प्रमुख दाहालले कोरोना महामारीको विषम परिस्थितिमा समेत प्रहरी संगठनले निर्वाह गरेको चुनौतीपूर्ण जिम्मेवारीले समाजमा नेपाल प्रहरीप्रति आशा र भरोसा थप वृद्धि भएको बताइन् । यस्तो विषम परस्थितिमा सबै सुरक्षा निकायको भूमिका उत्तिकै महत्वपूर्ण रहेको उनले बताइन् ।

देशमा अस्थिरता निम्त्याउने तथा सामाजिक अमनचयनलाई खल्बल्याउन चाहने तत्वहरुको पहिचान गरी त्यसलाई निरुत्साहित गर्न सक्दा नागरिकमा प्रहरीसँगको विश्वासको वातावरण सिर्जना हुने उनले बताइन् ।

प्रहरीका सम्पूर्ण अधिकृत तथा जवानमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै प्रमुख दाहालले सम्पूर्ण प्रहरीहरुमा अनुशासित भएर आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने प्रेरणा मिलोस् भनेर कामना गरिन् । मेयर दाहालले कर्तव्य पूरा गर्ने सिलसिलामा दिवंगत भएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुको योगदानको स्मरण गरिन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले प्रहरी नागरिक साझेदारी कार्यक्रममार्फत प्रहरीले जनतालाई साथी बनाइरहेको भन्दै प्रशंसा गरे । कोरोनाको विषम परस्थितिमा जिल्ला प्रशासनले गरेको निषेधाज्ञामा सुरक्षा निकायले खेलेको भूमिका अतुलनीय भएको उनले बताए । अनुशासित, मर्यादित, भिडभाड नगरी, सरकारी नीतिनियममा रहेर चाडवाड मनाउन चितवनवासीलाई प्रशासनले गरेको आग्रह पालना गराउन कटिवद्ध हुन उनले प्रहरीलाई आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जिल्लामा शान्तिसुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न स्थानीय सरकार, प्रशासन, नागरिक समाज र विभिन्न संघसंस्थाले गरेको सहयोगप्रति आभार प्रकट गरे । सबैको सहयोग र साथबाट प्रहरीले काम गर्न सजिलो भएको जनता विश्वास जित्न सफल भएको उनले बताए । अमर प्रहरीहरुको सम्झनामा, पूर्वप्रहरीहरुसँगको सम्बन्ध प्रगाढ बनाउन र वर्षभरिका कार्यप्रगतिबारे जानकारी गराउन प्रहरी दिवस मनाइएको उनले बताए ।

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान र अपराध रोकथाम तथा नियन्त्रण कार्यमा प्रहरीलाई सहयोग पु¥याउने संघसंस्था एवं महानुभावहरुलाई पशंसापत्र तथा कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्