Logo
Logo

नयाँ अनुहारको प्रतीक्षा


441
Shares

हरेक राजनीतिक घटनाक्रमलाई हेर्ने र विश्लेषण गर्ने आ-आफ्नो तरिका हुन्छ । अहिले देशमा जेनजी विद्रोहले ल्याएको राजनीतिक तरंगको चर्चा परिचर्चा भइरहेको छ । 

जेनजी विद्रोहबाट विस्थापित कांग्रेस, एमालेले आगामी निर्वाचनमा कति सिट ल्याउलान् भन्ने आकलन पनि गरिएको छ । जेनजी विद्रोहबाट विस्थापित यी दुई पार्टी मिले पनि बहुमत ल्याउन गाह्रो छ । किनभने, जेनजी विद्रोहको मुख्य कारक यी दुई पार्टी र तिनका नेताहरू हुन् । 

जसले लोकतन्त्रको आवरणमा तीन दशकदेखि देशमा लुटतन्त्र मच्चाउँदै आएका थिए । त्यसबाट वाक्कदिक्क भएर जेनजीले भदौ २३ गते काठमाडौंमा विद्रोह गरे । जेनजीको विद्रोह दबाउन तत्कालीन शासकहरूले ७६ जनाको हत्या गरे । त्यसको हिसाबकिताब पक्कै पनि आगामी फागुन २१ गते हुने निर्वाचनमा सचेत नागरिकले गर्ने नै छन् ।

हरेक विद्रोह वा आन्दोलनको उद्देश्य आमूल परिवर्तन हो । त्यसका लागि आन्दोलनकारीहरूले बलिदानी दिएका हुन् । सहिदको बलिदानीको जगमा उभिएको राजनीतिक परिवर्तनले आमनागरिकको जीवनमा खुसी ल्याउनुपर्ने हो । तर दुर्भाग्य, पटकपटकको आन्दोलनले राजनीतिक परिवर्तन गर्दा पनि आशा गरेअनुरूप परिणाम नआउँदा अझै पनि आमनागरिक निराश छन् ।

२०४६ सालको राजनीतिक परिवर्तनले लोकतन्त्रको स्थापना त ग¥यो, तर त्यसले परिणाम दिन सकेन । ०४८ सालमा नेपाली कांग्रेसले बहुमत ल्यायो, पार्टीभित्रको द्वन्द्वले त्यो परिणाम पनि खेर गयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरे । कांग्रेसभित्र घात प्रतिघातको राजनीतिले लोकतन्त्र कुरूप बन्यो । सर्वमान्य नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता सादगी नेता अपमानित हुनुप¥यो ।

त्यसैको जगमा माओवादी ‘जनयुद्ध’ सुरु भयो । १० वर्षे ‘जनयुद्ध’बाट नेपालको राजनीतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को उदय भयो । तीन कार्यकाल प्रधानमन्त्री बनेका प्रचण्ड सत्तामा पुगेपछि ‘जनयुद्ध’को एजेण्डा बिर्सिए ।

अहिले उनको माओवादी भन्ने पार्टी नै छैन । तर, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको श्रेय उनलाई जान्छ । १७ हजारको बलिदानीबाट स्थापित गणतन्त्रमाथि जताततैबाट धावा बोलेको अवस्था छ । यो चुनौतीको सामना उनले कसरी गर्छन् र नयाँ पुस्तालाई उनले कसरी समेट्छन् भन्ने कुरा हेर्न बाँकी नै छ । समकालीन राजनीतिमा प्रचण्ड धूर्त खेलाडी हुन् ।

विगतका यी राजनीतिक घटनाक्रमहरूलाई हेर्दा पनि हरेक आन्दोलनले नयाँ नेता, नयाँ अनुहार जन्माएको इतिहास छ, तर विगतमा यसले राम्रो काम ग¥यो भन्ने सम्झना कसैलाई छैन । ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेझैँ कांग्रेस, कम्युनिष्ट जो सत्तामा आए पनि लुटतन्त्रमै रमाएका कारण जेनजी विद्रोह भयो । 

हिजो डेरा भाडासम्म तिर्न नसक्ने नेताहरू आज अकूत सम्पत्तिको मालिक बनेका छन् । ०४८ सालदेखि अहिलेसम्म सत्तामा पुगेका नेताहरुको सम्पत्ति विवरण हेर्ने हो भने प्रायः सबै नेताहरू जेल जानुपर्ने अवस्था छ । यो अवस्थाका कारण व्यवस्थामाथि नै आमनागरिकले प्रश्न उठाउन थालेका छन् । जेनजी विद्रोहको प्रमुख एजेण्डा पनि यही नै हो ।

व्यवस्था कुनै पनि खराब हुँदैन भन्ने कुरा धेरै देशको अवस्था हेर्दा पनि अनुमान गर्न सक्छौँ । लोकतन्त्रकै माध्यमबाट ३०, ४० वर्षमा धेरै देशले आर्थिक समृद्धि हासिल गरेका छन् । दुर्भाग्य, नेपालले त्यो आर्थिक समृद्धि किन हासिल गर्न सकेन भनेर विश्लेषण गर्ने हो भने एउटै जवाफ आउँछ– देश र जनताप्रति कुनै पनि दल र तिनका नेताहरू इमानदार हुन सकेनन् । त्यसैले जनताले विकल्प खोजेका हुन् । परिवर्तन हरेक मानिसको आकांक्षा हो, परिवर्तनले पनि परिणाम दिएन भने विद्रोहको जन्म हुन्छ । अहिले नेपालमा भएको जेनजी विद्रोहको कारण पनि त्यही नै हो ।

जेनजी विद्रोहले निम्त्याएको ‘कालो बादल’लाई हटाउने भनेको आमनिर्वाचन हो । यो निर्वाचनबाट देश नयाँ जनादेशमा प्रवेश गर्दै छ । मैदानमा नयाँ अनुहार देखिएका छन् । उनीहरूप्रति आशा र भरोसा पनि बढ्दो छ । त्यही आत्मविश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन साहलाई भावी प्रधानमन्त्रीको रूपमा उभ्याएको छ । बालेनको नाम सुन्नासाथ पुराना दलका नेताहरू आत्तिन थालेका छन् ।

पुराना दल र तिनका नेताहरूप्रति युवाहरूको वितृष्णाका कारण जेनजी विद्रोह भएकाले पनि आगामी निर्वाचनबाट नयाँ अनुहार नेतृत्वमा आउने विश्वास गरिएको छ । विगतको आन्दोलन र विद्रोहबाट पनि नेपालको राजनीतिमा नयाँ अनुहारको उदय भएको इतिहासलाई फर्केर हेर्दा सबैले यस निर्वाचनबाट नयाँ अनुहार आउने अपेक्षा गरेका हुन् । तर, त्यो नयाँ अनुहार को हो र, कस्तो हुन्छ भन्ने सबैमा जिज्ञासा छ ।

प्रतिक्रिया दिनुहोस्