Logo
Logo

नक्कली राष्ट्रवाद र हाम्रो राजनीति


567
Shares

नेपालका वामपन्थी दलहरूले पञ्चायतकालमा आफूलाई बढी राष्ट्रवादी देखाउन छिमेकी देशलाई प्रभुत्ववादी र पश्चिमाहरूलाई साम्राज्यवादीको आरोप लगाउँथे । भारत र अमेरिकाको विरोध नगरी उनीहरू आफ्नो राजनीति नै अगाडि बढाउन सक्दैनथे ।

बहुदलीय व्यवस्था, लोकतन्त्र र गणतन्त्र प्राप्तिसम्मका यात्रामा नेकपाका विभिन्न घटकमा को कति पानीमा छन् भन्ने सबैलाई छर्लङ्ग भइसकेको छ । प्रभुत्ववादी–हैकमवादी–विस्तारवादी भनिएको छिमेकीसँग कति हदसम्म निहुरिइयो र साम्राज्यवादी भनिएको पश्चिमा शक्तिसँग कति लच्किइयो भन्ने कुरा नेपाली राजनीतिलाई नजिकैबाट नियालेर हेरेका बुद्धिजीवीले थाहा पाइसकेका छन् । तिनको धोती खुस्केको छर्लङ्ग देखिए पनि जनता झुक्याउन तिनले आफ्नो त्यस्तो गाली गर्ने प्रवृत्ति भने अझसम्म छाड्न सकेका छैनन् ।

जब जब निर्वाचन आउँछ वामपन्थी मात्र होइन, अन्य प्रजातान्त्रिक राजनीतिक दलहरूमा पनि राष्ट्रियताको ढोंग बढी देखिन थाल्छ । राष्ट्रवादी रुझान राख्दा पार्टीले आमनिर्वाचनमा राम्रै मत र स्थान ल्याएको राम्रो उदाहरण विसं २०७४ को संसदीय तथा प्रदेशसभा निर्वाचन हो । चुच्चे नक्साबाट केपी शर्मा ओली हिरो भए । सरकारमा रहँदा भारतीय नाकाबन्दीको विरोधमा रहेकाले ओलीले भारत विरोधी राष्ट्रवादी छवि बनाउन सकेकाले २०७४ मा बहुमत ल्याएको राजनीतिक विश्लेषकहरू स्विकार्छन् ।

जेन्जी आन्दोलनपछि आगामी फागुन २१ गते दुई वर्षअगावै हुन लागेको आमनिर्वाचनमा पनि राष्ट्रियताको सवाल तथा विदेशी शक्तिलक्षित आवाज उठ्न थालेका छन् । पूर्वटिभी प्रस्तोता रवि लामिछाने र ¥यापर बालेन्द्र साहबिचको सम्झौतालाई धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले विदेशी हस्तक्षेप संस्थागत गर्न भनी आरोप लगाएका छन् । उनले यही पुस १३ गते सामाजिक सञ्जालमा सो सहमतिलाई देशलाई लिलाम गर्न खोजिएको कदम भनेर पनि टिप्पणी गरेका छन् ।

जेन्जी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गर्न धरानबाट राजधानी आएका बखत उनी मन्त्री बन्न लैनचौरको आशीर्वाद चाहिने रहेछ भन्दै रित्तो हात फर्किएका पनि थिए । नेपाली वर्तमान राजनीतिमा राई जस्तै बेलाबखत अन्य नेताहरूले विदेशी हस्तक्षेपको विरोध गरे पनि भित्ता पु¥याएर भन्न नसकी मुखको तितो मात्र फेर्ने गरेका छन् । कुनैले नामै तोकेर र कुनैले नतोकेर भए पनि विदेशी हस्तक्षेपबारे सचेत गराएका छन् तर अवसर पाउनासाथ तिनैको तलुवा चाट्न पछि पर्दैनन् ।

सोही दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व नै सङ्कटमा रहेको भन्दै नवीनतम समझदारी आवश्यक रहेको बताए । विराटनगरमा दलस्तरीय जिल्ला अधिवेशन उद्घाटन गर्दै लिङ्देनले मुलुक भूराजनीतिक द्वन्द्वमा फसिसकेकाले विदेशी हस्तक्षेप रोक्न पनि पूर्वराजा, राजनीतिक दल र जेनजबिच नवीनतम समझदारी आवश्यक रहेकामा जोड दिए ।

राईले आफू प्रधानमन्त्री वा मन्त्री बन्न नपाएको झोंकमा विदेशी हस्तक्षेपको कुरा गरे पनि लिङ्देनले चाहिँ मुलुक सङ्कटमा परेको भनी दल र जनतालाई हाउगुजी देखाउँदै राजतन्त्र भित्र्याउन मात्र तिन पक्षबिच नयाँ सम्झौताको माग गरेका हुन् ।

त्यसो त यसअघि मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले आगामी निर्वाचनले देशमा जेलेन्सी जन्माउने र नेपाललाई युक्रेन बनाउने जिकिर पनि गरेको छ । नयाँ र पुराना दुवै राजनीतिक शक्ति विदेशी कठपुतली मात्र भएको र चुनावले तिनैलाई वैधानिकता दिने आरोप लगाउँदै पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले विदेशी कठपुतली जन्माउने भन्दै चुनाव बहिष्कार गरिने बताए ।

राप्रपाका नेता कमल थापाले नयाँ उदाएका शक्तिहरूमा जेलेन्स्की प्रवृत्ति देखिएको बताएका छन् । यही पुस १६ गते राप्रपा र राप्रपा नेपालबिचको एकता घोषणासभामा उनले चर्का नारा दिएर लोकप्रियता हासिल गर्ने, त्यसकै आधारमा जनमत लिने र मुलुकलाई बर्बाद पार्ने जेलेन्स्की प्रवृत्तिसँग सचेत रहन पनि आग्रह गरे ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पनि नेपाललाई युक्रेन बनाउने योजनाबद्ध प्रयास भइरहेको आशङ्का व्यक्त गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले अन्तरराष्ट्रिय साम्राज्यवादी शक्ति र देशभित्रका उनीहरूका दलालहरूले नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका दलहरूविरुद्ध, देशविरुद्ध र समाजवादविरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गर्दै मुलुकलाई हिंसा र विध्वंसतिर लान खोजिरहेकाले समस्त कम्युनिस्ट, वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिबिच राष्ट्रिय एकता निर्माणको आह्वान पनि गरेका छन् ।

राप्रपाका नेता डा प्रकाशचन्द्र लोहनी पनि देश गम्भीर सङ्कटका घेरामा रहेको र अदृष्य तनाव बढ्दै गएको जनाउँदै नेपालमा विदेशीको चासो र आशङ्का बढ्दै गएको बताउँछन् । यस बेला देश जोगाउन र प्रजातन्त्र बचाउन जडसूत्रवादी मनस्थितिलाई त्याग्र्नैपर्नेमा जोड दिँदै उनी अब कोही जित्ने र हार्ने नभई नेपाली जनताले जित्ने तथा नेपाल बलियो र सम्पन्न हुने बाटामा लाग्नपट्टि समयमै ध्यान दिन नसकेमा आजको विश्वमा देखिएको अराजक शक्ति सङ्घर्षमा भुमरीमा हामी पर्न सक्नेतिर सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएका छन् ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त बालेन साह, रवि लामिछाने र कुलमान घिसिङलाई अदृश्य शक्तिले मिलाएको तर्क गरेका छन् । जेन्जी आन्दोलनपछि उदाएका सुधन गुरुङको दौडधुपमा मिलेका तिन व्यक्ति, व्यक्तित्व र दललाई पनि उनले सङ्खुवासभामा आयोजित पुस १८ गतेको कार्यक्रममा अपहरण शैलीमा अदृश्य शक्तिले एकता गराइदिएको बताइदिएर वैदेशिक हस्तक्षेपतर्फ सङ्केतसम्म गरे, को विदेशी भनेर तोक्न सकेनन् ।

यसअघि नै अझ कसै कसैले जेन्जी आन्दोलनमै विदेशी घुसपैठ भएको र सरकार नै बाह्य शक्तिले बनाएको आरोप पनि लगाइसकेका छन् । सिंहदरबार, संसद् र अदालत भवन जल्ने कुरा जेन्जी आन्दोलनबाट मात्र सम्भव नभएको तिनको कथन छ । उनै थापा मध्यरातमा विदेशी शक्तिले जेन्जी आन्दोलनले मुखरित गरेको कार्यसूचीलाई अपहरण गरेको विचार पनि राख्छन् । तर राजनीतिक विश्लेषक पुरञ्जन आचार्य आन्दोलनमा विदेशी हस्तक्षेपको आरोपलाई अस्वीकार गर्छन् । देशभित्रकै आन्तरिक कमजोरी र असन्तुष्टि नै आन्दोलनको जड रहेको उनको भनाइ छ ।

“२१औँ शताब्दीमा विदेशी शक्तिले यति गहिरो षड्यन्त्र गरेर आन्दोलन उकास्न सम्भव छैन । आन्दोलनकारी नेपाली युवा हुन्, उनीहरूलाई रअ वा सिआइएको एजेन्डासँग जोड्नु उनीहरूको बलिदानको अपमान हो । नेपालमा हरेक आन्दोलनमा विदेशी हस्तक्षेपको भाष्य सिर्जना गर्ने प्रयास हुन्छ तर यो वास्तविकताभन्दा टाढा छ”, उनले गत असोजमै एक न्युज एजेन्सीसँग यस्तो भनाइ राखेका थिए ।

जेन्जी आन्दोलनकै बेला सरकारको नेतृत्व गरेको एमाले र तिनका अध्यक्ष केपी शर्मा ओली वर्तमान सरकारलाई हाहाहुहुको सरकार भन्दै आन्दोलनलाई पूरै नकार्छन् । तर तिनले पनि वैदेशिक तत्त्व भने खुलाउन चाहेका छैनन् । यसरी विदेशी शक्ति, अदृश्य शक्ति, जेलेन्सी प्रवृत्ति भन्दै चिच्याउने राजनीतिक दल र तिनका नेता पाएसम्म विदेशी शक्तिकै बुई चढ्न पाए गौरवान्वित हुने गरेको सबैले स्पष्ट देखेकै कुरा हो ।

छिमेकी र टाढाको शक्तिलाई दोष लगाएर मत बटुल्ने दिन अब गइसकेका छन् । तिनले आफू सरकारमा बस्दा र दल सञ्चालन गर्दा कति जनताको मन जित्न सके, त्यसमै आगामी निर्वाचनमा मत पनि ल्याउन सक्छन् । छद्म तत्त्व भन्दै धारे हात लगाउँदैमा राष्ट्रवादी भन्न र भनाउने युग समाप्त भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्