काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका-नालागुम्बामा मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि चक्कु प्रहार भएको छ । घटनामा प्रहरी नायब निरीक्षक (सई) सञ्जिव केसी घाइते भएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सई केसीलाई आरोपीले चक्कु प्रहार गर्दा दाहिने ढाड र छातीमा गहिरो चोट लागेको कार्यालयका एक अधिकारीले जानकारी दिए । चाँगुनारायण, भक्तपुर घर भएका केसी हाल अपराध अनुसन्धान कार्यालयको भक्तपुर शाखामा कार्यरत छन् । घाइते केसीको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार इन्स्पेक्टर हेम थपलियाको कमाण्डमा गएको प्रहरी टोलीमाथि मोटरसाइकल चोरीमा संलग्न समूहले आक्रमण गरेको हो । स्थानीय लोकल भाले एण्ड फेमिली रेस्टुरेन्टमा जम्काभेटका क्रममा आक्रमण भएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर बस्दै आएका २६ वर्षीय सागर शंकर सोती, २५ वर्षीय सन्तोष दुलाल, सिराहा घर भई ताथली बस्ने २० वर्षीय बिरेन्द्र मलिक र काठमाडौँ महानगरपालिका–२७ निवासी अभय तुलाधर रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना जेनजी आन्दोलनका क्रममा फरार रहेका कैदी हुन् । घटनामा प्रयोग गरिएका दुई वटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












