Logo
Logo

मादुरोको घटनाले उब्जाएको चिन्ता


डा. दीपेश केसी

693
Shares

भेनेजुएलाको राष्ट्रपति निकोलस मदुरो दम्पत्तिसहित पक्राउ गर्न अमेरिकालाई मात्र ३० मिनेटको अपरेशन पर्याप्त रह्यो । तेलको धनी दक्षिण अमेरिकी देशको राष्ट्रपति मदुरोलाई अत्याधुनिक हतियार रहेको त्यहाँको सेनाले समेत सुरक्षा दिन सकेन । २ जनवरीको मध्यराति लगत्तै बिहान १ बजेर १ मिनेट जाँदा अमेरिकी विशेष फोर्स राष्ट्रपति मदुरोको निवासमा प्रवेश गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरो पक्राउ परेको ट्वीट गरेका थिए । उनले नै आँखा चस्माले छेकिएका र हातमा हतकडी लगाइएका मदुरोको तस्बिर सार्वजनिक गरेका थिए ।

यो घटनापछि अमेरिकी जनरल डान केनले अपरेशन एब्सलुट रिजल्भ नाम दिइएको यस्तो कारबाही अमेरिकाले मात्र गर्न सक्ने बताएका छन् । २१औं शताब्दीमा अमेरिकाले कुनै देशको राष्ट्रप्रमुखलाई उसकै देशमा पसेर विना कुनै क्षति पक्राउ गरी आफ्नो देशमा ल्याएको पहिलो घटना हो यो । योसँगै ट्रम्पले भेनेजुएलामा अमेरिकाले शासन गर्ने समेत भनेका छन् । उनले यस्तै अपरेशन क्युबामा पनि हुनसक्ने बताएर विश्व राजनीतिलाई तरंगित पारिदिएका छन् । यस घटनाले सैन्य दृष्टिले मध्यम र कमजोर शक्ति भएका देशहरूमा अमेरिकाले चाहेमा जुनसुकै बेलामा सत्ता पल्टाउन सक्छ भन्ने सन्देश गएको छ संसारभर ।

मदुरोले पक्राउ पर्नु केही घन्टा अघिमात्र चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष दूतलाई भेटेका थिए । रुसको प्रभाव रहेको भेनेजुएलामा पछिल्लो समय चिनियाँ गतिविधि पनि बढिरहेको थियो । अमेरिका नजिकैको क्षेत्रमा अमेरिकालाई चुनौती दिने गतिविधिप्रति ट्रम्प सतर्क थिए । उनले यसअघि नै गुप्तचर निकाय सीआइएलाई अपरेशनका लागि आदेश दिएको बताइसकेका थिए । सीआइएले सत्ता पल्टाउन भेनेजुएलामा भित्री कसरत सुरु गरिरहेको थियो । महिनौंको योजना र रिहलसलपछि मात्र भेनजुएलामा मदुरोलाई पक्राउ गर्ने अपरेशन सफल भएको जनरल केनले बताएका छन् ।

विश्व व्यवस्थामा आइरहेको राजनीतिक परिवर्तन र अमेरिकामाथि बढ्दो चुनौतीका बीच ट्रम्प आक्रामक बन्दै गएका छन् । उनले अमेरिका विरोधी सरकार रहेका इरान, क्युवालगायतका देशहरूमा पनि सत्ता पल्टाउने चेतावनी दिइसकेका छन् । खुलेआम होस् या छद्म रूपमा नै किन नहोस् अमेरिकाले संसारभर आफ्नो प्रतिस्पर्धी देशहरूसँग निकट सम्बन्ध राखेका या राख्न खोजेका देशहरूमा सत्ता पल्टाउने कदमलाई तीव्रता दिएको छ । यसका लागि उसले सैन्य कारबाहीदेखि एआइको अधिकतम प्रयोग गर्दै आएको छ ।

त्यसो त सन् २०२४ को सेप्टेम्बर ७ मा फाइनान्सियल टाम्इम्समा सीआइएका निर्देशक बिल बर्न र बेलायतका गुप्तचर प्रमुख रिचार्ड मुरेले लेख लेख्दै आफ्ना देशहरूले अत्यधिक षड्यन्त्रमूलक खतराको सामना गरिरहेकोमा गुप्तचर गतिविधिलाई प्रभावकारी र विकसित बनाउन एआईको प्रयोग भइरहेको उल्लेख गरेका थिए । अपरेशनहरुलाई प्रभावकारी र गोप्य राख्न एआईले सहयोग र सुरक्षा पुर्याइरहेको लेखमा भनिएको छ । विश्वका नवीनतम कम्पनीहरूसँगको साझेदारी पनि लेखमा उल्लेख छ ।

चीनको उदयलाई एक्काइसौं शताब्दीको भूराजनीतिक चुनौती र पुटिन शासित रुसले विश्वभर अस्थिरता ल्याइरहेकोमा त्यसविरुद्ध परिचालित साधन स्रोतबारे समेत भनिएको छ । युक्रेन युद्धमा रुसले चीन र भारतलाई भारी छूटमा तेल बेचेपछि ट्रम्पले भारतसँगको व्यापारमा ‘टारिफ’ नै बढाइदिए । यतिसम्मकी भारतलाई रुससँग तेल खरिद नगर्न दबाब दिइरहे । तर, भारतले खरिद गर्न छाडेन ।

सांघाई कोअपरेटिभ अर्गनाइजेशनको बैठकमा भ्लादिमिर पुटिन, सी चिनफिङ र नरेन्द्र मोदीको एकसाथ भेटले विश्वमै तरंग ल्यायो । यसलाई विश्व व्यवस्थामा आएको परिवर्तनका रूपमा लिइयो । अब संसारमा कुनै एक देशको दबदबा नरहेको अर्को बलियो घोषणा थियो त्यो । दोस्रो विश्व युद्धपछि सोभियत सङ्घसँग प्रतिस्पर्धा गर्दै आएको थियो अमेरिका । सोभियत संघको विघटनपछि विश्वको एक्लो सर्वशक्तिमान् देश बनेको थियो ।

तर, रुसको पुनः उदय र चीनको तीव्र आर्थिक र सैन्य शक्तिको वृद्धिले अमेरिकालाई मात्र नभई सिंगो पश्चिमालाई नै चुनौती दियो । त्यसमाथि मोदी युगमा भारतको तीव्र विकास र सैन्य शक्ति वृद्धि अमेरिकाका लागि अर्को चुनौती थपिएको जस्तै भयो । ट्रम्पका सल्लाहकार पिटर नाभारोले ब्राम्हणहरुले मुनाफा कमाइरहेको अभिव्यक्ति दिए । उनले मोदी पुटिन र सी चिनफिङसँग एउटै बिछ्यौनामा रहन थालेको भन्दै त्यसको अन्त चाहेको समेत भने ।

विश्वकै सबैभन्दा बढी जनसंख्या भएको भारतको रुस र चीनसँगको निकटतालाई अमेरिकाले रुचाएन । उसले निरन्तर दबाब बढाइरह्यो । पाकिस्तानका सैनिक शासक असिम मुनिरसँग ट्रम्पले यसै वर्ष वाइट हाउसमा लन्च बैठक नै गरे । त्यसपछि पनि उनको वासिङ्टन ओहोरदोहार चल्यो । भारतलाई दबाबमा पार्न अमेरिकी रणनीति थियो त्यो । तर, त्यसले पनि भारत डगमग भएन । श्रीलंका र बंगलादेशको सत्ता पलटमा अमेरिकी भूमिकाको विषय उठेकै थियो ।

नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशमा सत्ता पल्टाउने भित्री योजनाका सहायक बन्दै बेलायतमा निर्वासित थिए । भारतले भरोसा गर्दै आएकी शेख हसिनाको सत्ता पल्टाउने विद्यार्थी विद्रोहका क्रममा उनी देश छाड्न बाध्य भइन् । युनुस बँगलादेशको सरकार प्रमुख बनाइए । हसिना भारतमा निर्वासित छिन् र उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

बंगलादेशपछि नेपालमा जेनजी विद्रोह भयो । केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट गठबन्धन सरकारलाई २४ घन्टामै पल्टाउने गरी भएको प्रदर्शनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद जलाइयो । यसमा ओलीको उक्साहट र अहंकारले उत्तिकै भूमिका खेल्यो जति बाह्य शक्तिको भूमिका देखियो । ओली जापानविरुद्धको चीनको भिक्ट्री डे मा उत्तर कोरियाली नेता किम जोङ ऊनको पछाडि उभिएर परेडमा सहभागी भएर फर्किएको केही दिनमै देशभित्र उथलपुथलको घटना विकास भइसकेको थियो ।

सरकारमा जुन पात्रहरु पुगे तिनको पृष्ठभूमि हेर्दा पनि यो कुरा थाहा हुन्छ । एमसिसीको वकालत गर्ने स्वर्णिम वाग्ले, भारतविरोधी लक्ष्यका साथ टेलिभिजन प्रस्तुति गर्ने रवि लामिछाने, ग्रेटर नेपालको नक्सा टाँगेर भारतलाई चिढ्याउने बालेन साह एक ठाउँमा उभिएका छन् । कुलमान घिसिङ पनि त्यसमा थपिएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले बालेनलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्न रवि लामिछानेलाई जेलको त्रास देखाइएको र कुलमान घिसिङलाई भ्रष्टाचारको डर देखाएको सार्वजनिक रूपमै बोलिसके । यी सबै घटनाका पछाडि पश्चिमा शक्ति लागेको नेताहरूले नै खुलाइरहेका छन् । यसरी विकसित घटनाक्रमले नेपालको सत्ता पलटमा बाह्य शक्तिको भूमिकाको आशंकामा बल पु¥याइरहेको छ ।

जेनजी विद्रोहको आगो लद्दाखमा त लागिसकेको थियो मोदी सरकारले बल प्रयोग गरेर निभायो । उत्तर प्रदेश, विहार र बंगालमा भएका प्रयास पनि विफल भए । छद्म रूपमा बाह्य शक्तिबाट साम, दाम, दण्ड र भेदसहित भारत र चीनको वरिपरि सल्किएको आगोले एकपछि अर्को सत्ता पल्टियो । यसले विश्वको दोस्रो धनी देश चीन र चाँडै तेस्रो धनी बन्न गइरहेको भारतलाई चुनौती थपिरहेको छ । जेनजी विद्रोहपछि चीनको मौनता रहस्यमयी छ । भारतको भूमिका चुनावमा सहयोग गर्ने देखिन्छ । चुनाव भइहालेर जसले जितेपनि स्थिरता आउने र अस्थिरताको असर आफूलाई नपर्ने बुझाई हुनसक्छ । तर, परम्परागत दलहरूमा गइरहेको पहिरो र असफलताले नेपाललाई अर्को अस्थिरतातर्फ धकेल्ने निश्चित छ ।

अहिले नेपाल मामलामा भारत र चीन दुवैलाई अप्ठ्यारो पार्ने गरी आक्रामक रणनीतिका साथ पश्चिमा शक्ति देखापरिरहेको छ । नेपाल शक्तिराष्ट्रको द्वन्द्वको अखडा बन्दै गएको छर्लङ्ग छ । यो जटिल घडीमा राष्ट्रलाई केन्द्रमा राखेर काम गर्ने देशभक्तहरूको खाँचो छ । छद्म भेषमा लोकप्रिय बनाइएकाहरू ठूलै शक्तिको आँडमा छन् भन्ने कुरा समयमै बुझ्नु जरुरी छ । त्यस्तो शक्तिसँग लड्न मुख्य राजनीतिक दलले देशभक्त सबै शक्तिसँग मेलमिलापको नीति लिनैपर्छ । विश्वभर नवउपनिवेश, प्रभुत्वका छद्म शैली देखापर्दैछन् । त्यसलाई चिन्ने दृष्टि कोष चाहिन्छ । त्यसलाई असफल पार्ने देशभक्तहरूको एकता चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्