Logo
Logo

‘मेडिकल माफिया’को खुला चुनौती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ कात्तिक । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सबै मेडिकल कलेजका सञ्चालकहरुको सम्पत्ति रोक्का गरेको दाबी गरिरहेको छ । तर, मेडिकल कलेजका सञ्चालकहरु भने अरबौंको कारोबार गरिरहेका छन् ।

नोबल मेडिकल कलेजका मालिक सुनिल शर्माले हालै नेपाल मेडिकल कलेजको शेयर किनेर अध्यक्ष भएका छन् । एक अर्ब ७० करोडमा उनले कम्पनीको शेयर किनेका हुन् । सबै सम्पत्ति रोक्का रहेकै अवस्थामा कसरी उनले त्यत्रो कारोबार गर्न सके, त्यो अर्काे अनुसन्धानकै विषय बनेको छ ।

त्यस्तै, झापाको बिएण्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईले करिब चार अर्ब रुपैयाँमा टाइगर बियरको कम्पनी र सम्पत्ति खरिद गरेका छन् । सो कम्पनी किनेर उनले मार्सी बियर ल्याउने तयारी गरेका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईले त्यही नामलाई ब्रान्डिङ गरेर बियर उत्पादन गर्न लागेका हुन् । उनको ४ अर्ब सम्पत्तिको स्रोतमाथि पनि छानबिन हुन सकेको छैन । किनकी उनलाई नेकपाका दुवै अध्यक्षको आशिर्वाद छ ।

अन्य मेडिकल कलेजका सञ्चालकहरु पनि छानबिनबाट उन्मुक्तिका लागि चलखेल गरिरहेका छन् । खुमा अर्याल कांग्रेस नेता भएपनि नेकपाकै मन्त्रीहरुमार्फत उनले आफ्नो सम्पत्ति फुकुवा गर्न दबाब दिइहेका छन् ।

गत वर्ष राष्ट्रिय सतर्कता केन्द्रले सबै निजी मेडिकल कलेजले बिद्यार्थीलाई अरबौं ठगी गरेको भन्दै उनीहरुको सम्पत्ति छानबिन गर्न विभागलाई पत्राचार गरेको थियो । दबाब र प्रभावका कारण अनुसन्धानले शिथिल हुन पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्