Logo
Logo

सेटिङ नमिल्दा भन्सार र प्रहरीको विवाद


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ कात्तिक । बाँकेमा भन्सारले छाडेका ट्रक प्रहरीले बरामद गरेर राजश्व अनुसन्धानमा पठाउन थालेपछि भन्सार र प्रहरीबीच विवाद बढेको छ । दशैंको समयमा भन्सारकै मिलेमतोमा भन्सार छली तथा तस्करी बढेको छ तर, प्रहरीले भने एकपछि अर्काे ट्रक समाउन थालेको छ ।

असोज १९ गते यूपी ७६ के ८६७० नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो् । ट्रकमा आलु भनेर अबैध रुपमा ल्याएको प्याज ल्याइको थियो । भारतबाट नेपालमा प्याज निर्यात प्रतिबन्धित छ । कर्मचारीलाई सेटिङ मिलाएर प्याज ल्याइएको थियो । त्यसमा भन्सार समेत छली भएको थियो । तर, ट्रकलाई हाल छाडिएको स्रोत बताउँछ । भन्सारले सिल गरेको ट्रक प्रहरीले खोल्न नमिल्ने भन्दै भन्सारले प्रहरीको आलोचना गरेको छ ।

उता चाडपर्व नजिकिएपछि बाँकेको जमुनाह नाकाबाट भन्सार छली बढेको छ । भन्सार कार्यालय र सुरक्षाकर्मीसँग सेटिङ मिलाएर भन्सार छली र तस्करी बढेको हो । महंगा सामानलाई सस्तो सामान भनी भन्सार पास गराएर भन्सार छली हुने गरेको पटक पटक पुष्टि भइसकेको छ तर अर्थ मन्त्रालले कर्मचारीमाथि छानबिन र कारबाहीमा कुनै चासो दिएको छैन ।

भन्सार कर्मचारीकै मिलेमतोमा पास भएको ट्रक गत २७ असोजमा पक्राउ परेपछि भन्सारकै कर्मचारीको मिलेमतोमा भन्सार छली भइरहेको थप प्रष्ट भएको छ । यूपी ४० टी १८२६ नम्बरको ट्रकलाई नेपालगञ्ज उपमहानगरपालिका–४ न्यूरोडमा नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । चुरा ल्याएको भन्दै सो ट्रक भन्सारबाट पास भएको थियो । तर, प्रहरीले खानतालसी गर्दा लत्ताकपडा, फेन्सी तथा महंगा कस्मेटिक सामानहरु बरामद भएको थियो । भन्सार दलाल तथा व्यापारी पप्पु शाहले सो ट्रकको भन्सारमा सेटिङ मिलाएका थिए । जमुनाहबाट नेपालगञ्जसम्म पाँच ठाउँमा चेकपोष्ट भएपछि सबैतिर सेटिङ मिलाएर ट्रक पास भएको थियो ।

प्रहरीले सो ट्रक राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ । भन्सार छलीमा मिलेमतो देखिए आफुहरुमाथि समेत मुद्दा चल्न सक्ने भएकाले भन्सार कर्मचारीहरु यतीबेला राजश्वमा मिलाउन लागिपरेका छन् । नेपाल प्रहरीसँग सेटिङ नभएकाले ट्रक समातिएको भन्सार कर्मचारीको दाबी छ ।

हरेक दिन जसरी यसरी गलत मूल्याङकन गरी भन्सार नाकाबाट तस्करी भइरहेको छ । जसमा भन्सार प्रमुख शान्तिराम निरौला तथा भन्सार अधिकृत टोपबहादुर भुषालको मिलेमतो रहेको स्रोत बताउँछ । सशस्त्र प्रहरीसँग पनि तस्करहरुले सेटिङ मिलाएका छन् । त्यस्तै गुलरिया नाकाबाट मिलेमतोमै प्याज र सुर्तीजन्य पदार्थको तस्करी पनि बढेको छ । नेपालबाट भने बंगलादेशी केराउ भारत तस्करी हुने गरेको छ । दशैं सुरु भएपछि तस्कर समूहहरु झन् सक्रिय भएका छन् ।

प्रहरीले धमाधम ट्रक समातेपछि भन्सार कर्मचारीले भन्सार एजेन्टलाई उचालेर केही दिन आन्दोलन समेत गराएका थिए । प्रहरीले पनि सेटिङको पैसा नपाएपछि ट्रक समाएको आरोप लागेको छ ।

त्यस्तै, जानकी गाउँपालिकास्थित सशस्त्र प्रहरीको बेस क्याम्पका प्रमुख इन्सपेक्टर बिनोद श्रेष्ठककै नेतृत्वमा सीमा क्षेत्रमा तस्करी चलिरहेको छ । राती १ बजेदेखि ३ बजेको समयमा पन्चपोखरा, साहगाउँ, बढैया तथा शिवपुरी नाकाबाट तस्करी हुने गरेको छ ।

भगौती अपडीया, हसरायल साह, आलम अपडिया, नरसुद्दिन पठान लगायतले इन्सपेक्टरसँगको मिलेमतोमा तस्करी गर्दै आएका छन् । सो नाकाबाट पान, सुपारी, बिँडी, सुर्ती, सुपर पावरको तस्करी हुँदै आएको छ । पछिल्लो समय प्याज र खसी बोकाको समेत तस्करी हुन थालेको प्रहरीहरु बताउँछन् ।

तस्करीको समयमा डिउटीमा खटिएका प्रहरीलाई सीमाबाट माथि बोलाउने र लाइन खुला गरिदै आएको छ । रातको समयमा भारततर्फ एसएसबीले डिउटी नगर्ने भएकाले पनि उनीहरुलाई तस्करी गर्न सहज भएको हो ।

त्यस्तै, अवैध आवाजातवमा प्रतिव्यक्ति १५ सय रुपैयाँ लिने गरिएको छ । जसमध्ये पाँच सय हाकिम र एक हजार डिउटीमा खटिने प्रहरीले राख्ने गरेका छन् । इन्सपेक्टर श्रेष्ठ पावर लगाएर त्यहाँ सरुवा भएकाले सुरुदेखि नै कमाउनमा ध्यान दिएको एक सशस्त्र प्रहरी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्