Logo
Logo

दीर्घायु भवः


- दृष्टि न्युज/संवाददाता


नेपालीको महान चाड दशैँ कोरोना संक्रमणको महामारीबीच सुरु भइसकेको छ । बसन्त ऋतुसँगै प्रत्येक वर्ष घुमिफिरि आउने दशैँ नेपालीहरुको सद्भावको पर्व हो । तर, यसपालीको दशैँ भेटघाट र सद्भावभन्दा पनि भावनात्मकरुपमा मनाउन जरुरी छ । आफ्ना र आफन्तजन भेटघाट गरी रझझमका साथ मनाइँने दशैँ–तिहार कोरोना संक्रमणले यसपाली साँघुरिएको छ ।

त्यसो त विगतका दशैँझँै चहलपहल यसपटक छैन । चहलपहल हुनु उचित पनि छैन । अहिलेको अवस्थामा सामाजिक दूरीको जरुरी छ । कोरोना संक्रमणले विश्व नै आक्रान्त छ यतिबेला । त्यसैले सचेत हुनको विकल्प छैन । हामी नै सचेत भएनाँै भने संक्रमण अझ भयावह हुने अवस्था छ । पछिल्लो दिन संक्रमितहरु बढिरहेका छन् । यस्तो अवस्थामा एक ठाउँबाट अर्को ठाउँमा आवत–जावत गर्दा संक्रमण अझ फैलिने सम्भावना हुन्छ ।

स्वास्थ्य विज्ञहरुले दसैँमा अत्याधिक आवत–जावत नगर्न सुझाव दिँदै आएका छन् । दशैँमा हुने आवत–जावतले संक्रमण देशभरि फैलिन सक्ने त्रास छ । तैपनि हामी दशैँ–तिहार भावनात्मकरुपमा मनाउन सक्छौँ भन्ने भावना आमनेपालीमा जागृत हुनपर्छ, किनकि स्वास्थ्य मन्त्रालयले नेपालमा संक्रमण समुदायस्तरमै फैलँदै गएको जनाइसकेको छ । दशैँ हरेक वर्ष आउँछ जान्छ । तर, अहिलेको आवश्यकता भनेको स्वस्थ्य जीवन हो ।

नेपालमा अहिले ६० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । करिब ७ हजारले कोरोनाका कारण ज्यान गुमाएका छन् । कतिको घरमा चुलो बलेको नहुनसक्छ । तैपनि दशैँलाई स्वागत गरिरहेका छौँ । कोरोनाबाट आमनेपाली सचेत पनि छौँ । जनताकै सचेतताका कारण हालसम्म नेपालमा कोरोनाले भयावह रुपमा लिन पाएको छैन । अबका दिनमा अझ बढी सजग हुन जरुरी छ । त्यसैले यसपालीको दशैँलाई विगतका जस्तो नठानाँै ।

कोरोना संक्रमणको यो जटिल अवस्थामा भौतिकरुपमा भन्दा पनि भावनात्मक रूपमा दशैँ मनाआँै । यसअघि सरकारले भनिसकेको छ, र भन्दै आएको छ, ‘जहाँ छौँ त्यहीँ दसैँ मनाआँै’ । विज्ञहरुले पनि यसपाली खानपानदेखि लिएर शारीरिक दूरी कायम गरी दशैँ मनाउन आग्रह गरेका छन् ।

दशैँको मुख्य विशेषता आफूभन्दा ठूला तथा श्रदेय व्यक्तित्वबाट टिका–जमरा ग्रहण गरी आर्शीवाद लिनु हो । तर, टीका थाप्नेक्रममा निकट सम्पर्क र अधिकतम बसाइँले संक्रमणको जोखिम झन् बढ्न सक्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना संक्रमणको उच्च जोखिम दीर्घरोगी बुढापाकामा बढी हुन्छ भनिरहेकै छ । त्यसैले दशैँमा टीका–जमरा ग्रहण गर्नेक्रममा बूढापाका, दीर्घ रोगीहरुमा संक्रमणको जोखिम बढी हुनसक्छ । उक्त जोखिमबाट बच्ने उपाय भनेकै सामाजिक दूरी हो ।

अर्को कुरा, समय पहिलेजस्तो छैन । कम्युटर र इन्टरनेटको जमानासँगै आहिले भर्चुअलरुपमा कुराकानी, मिटिङहरु गर्न सकिन्छ । यस्तो अवस्थामा दशैँमा बूढा–पाकाबाट टीका थाप्न पनि भर्चुअलमाध्यम उपयोग गर्नु सकिन्छ । भर्चुअलरुपमा आर्शीवाद लिने विकल्प नभए स्वास्थ्य मापदण्ड अपनाएर टीका थाप्न सकिने स्वास्थ्य विज्ञहरुले बताएका छन् । तर, त्यसका लागि आफैँ सचेत हुनुपर्छ ।

यस्तै, चाडपर्वमा हुने भनेको जमघट पनि हो । एउटै कोठामा लामो समयसम्म जमघट, तास खेल्ने, धूमपान र मदिरा सेवनले संक्रमणको जोखिम बढी हुनसक्छ । विज्ञहरुले यस्ता समूह र जमघटबाट जोगिन आवश्यक रहेको सुझाव दिएका छन् । भरसक जमघट नगरौँ, यदि भेटघाट नै गर्न परेमा स्वास्थ्य सुरक्षा अपनाउन जरुरी रहेको उनीहरुको भनाइ छ । भीडभाडबाट जोगिनु नै कोरोना संक्रमणबाट बच्ने पहिलो उपाय हो । त्यसैले दशैँमा शक्तिपीठहरुमा जाँदा समूह बनाएर नजानै राम्रो हुनेछ ।

पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर संक्रमित बढिरहेका छन् । संक्रमण फैलँदै गएपछि केही स्थानीय निकायले दसैं–तिहार मनाउन गाउँ–ठाउँ आउनेहरुलाई कम्तीमा एक सातासम्म ‘क्वारेन्टाइन’ बस्नुपर्ने र त्यसपछिमात्र समाजमा घुलमिल गर्न दिने नियम समेत बनाएका छन् । स्थानीय निकायको उक्त नीति तथा मापदण्ड सह्रानीय छ किनकि, अहिले सबैभन्दा बढी जोखिमको त्रास भनेको गाउँघर नै हो । काठमाडौं उपत्यकाले कोरोना संक्रमणको उच्च जोखिम मोलिरहेका अवस्थामा दशैँ–तिहारजस्तो नेपालीको महान चाड परेको छ ।

त्यस्तै, अब कोरोना संक्रमणबाट बच्न जनता आफैँ सचेत हुने बेला आएको छ । देशमा संक्रमण बढ्दै गर्दा सरकार आफ्नो दायित्यबाट पछि हटेको छ । यसअघि पनि सरकारले कोरोना नियन्त्रणमा खाशै प्रभावकारी काम गर्न सकेको थिएन । सरकारको दायित्व भनेको कोरोना संक्रमण रोकथाम तथा संक्रमित आफ्ना जनताको स्वास्थ्य उपचार गर्नु हो । हालसम्म सरकारले संक्रमितको निःशुल्क उपचार गर्दै आएपनि हाल आएर त्यो दायित्व वहन नगर्ने निर्णय गरेको छ । फेरि पनि भन्छौँ, कोरोना संक्रमणबाट सबै जना सजग होऔँ, सरकारको भर नपरौँ । कोरोना संक्रमणको उच्च महामारीलाई ध्यानमा राख्दै शान्ति, सद्भावपूर्ण र भावनात्मकरुपमा पर्व मनार्औँ ।

अन्त्यमा आमपाठक, विज्ञापनदाता एवं शुभचिन्तकप्रति विजया दशमी दशैँको हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्