Logo
Logo

घुस खाने एसपी पुरस्कृत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ कात्तिक । सशस्त्र प्रहरी बलले अनियमिततामा मुछिएका एसपीलाई ‘पुरस्कृत’ गरेको छ । बारामा हुँदा आर्थिक चलखेलका आधारमा लकडाउनको बेला भारतीय नागरिक छिराएको आरोपमा हेडक्वार्टर तानिएका एसपी दिगविजय सुवेदीलाई अर्काे गणको जिम्मेवारी दिइएको छ ।

उनलाई केही दिनअघि सुर्खेतको रक्तकाली गणको गणपतिमा पठाइएको हो । डिआईजी नारायणदत्त पौडेल नेतृत्वको छानबिन समितिले सुवेदीलाई कारबाहीको सिफारिस गरेको थियो । कारबाहीको सट्टा उनी पुरस्कृत भएपछि सशस्त्र प्रहरी अधिकारीले आश्चर्य व्यक्त गरेका छन् । जगदम्बा स्टिल्स लगायत कम्पनीमा काम गर्ने भारतीय कामदारलाई आर्थिक चलखेलका आधारमा छिराएको पुष्टि भएपछि उनी दुई महिनामै त्यहाँबाट हटाइएको थियो ।

उता बर्दियामा पनि घुमुवालाई कारबाही गरेर एसपीलाई जोगाइएको छ । बर्दियाका सशस्त्र प्रहरीका एसपी नरबहादुर राउतले दुई घुमुवा परिचालन गरी तस्करी गर्दै आएका थिए । सशस्त्र प्रहरी वरिष्ठ हबल्दार रतन आचार्य र भुपेन्द्र खड्कामार्फत एसपीले तस्करीको सेटिङ मिलाएको खुलेको थियो । त्यससम्बन्धि समाचार प्रकाशित भएपछि घुमुवालाई बाहिनीमा तानिएको छ । तर, एसपीमाथि भने कारबाही भएको छैन । जसकारण तस्करी अझै नरोकिएको स्रोत बताउँछ । तराईका अन्य जिल्लाका एसपीहरुविरुद्ध पनि सशस्त्र प्रहरी मुख्यालयमा उजुरी परेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्