Logo
Logo

धादिङमा जुधाइयो एक सय हल गोरु


189
Shares

धादिङ ।  माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पराअनुसार जुधाइएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिकाको मूलपानीमा १४, लाइगाउँमा १०, नीलकण्ठ नगरपालिकाको धुवाकोट-९, खाल्टेमा सात, मर्स्याङछापमा पाँच, सुनौलाबजारमा आठ, खनियाबासको दार्खा १७, मार्पकमा चार, फुलखर्कमा ११, बुढाथुममा नौ र ज्वालामुखीको मैदीमा छ हल गोरु जुधाइएको आयोजकहरुले जानकारी दिएका छन् ।

जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्त्व  जोडिएको मूलपानीका शम्भु थापाले बताए । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बतबीचको भोट सन्धी १९४९ सँग जोडिएको छ । बझाङ्गी राजा पृथ्वीबहादुर सिंहको स्वागतका निम्ति माघे सङ्क्रान्तिका दिन गोरु जुधाएर थालनी गरिएको किम्बदन्ती रही आएको जानकारहरु बताउँछन् ।

बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका साँढे गोरुहरू जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ । पहिला पहिला छिमेकीले रमाइलो स्वरुप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए । अहिले प्रतियोगिताका रूपमा गोरु जुधाइँदै आएको छ ।

कुन साँढे गोरु कुनसँग जुधाउने, उमेर र आकार निक्र्यौल गरिन्छ । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । वर्खाभरि खेतबारी जोत्ने र हिउँदमा बलियो बनाएर पालेको गोरुलाई किसानले मनोरञ्जनका लागि जुधाउँदै आएकामा पछिल्लो वर्षहरूमा प्रतियोगिताको रूपमा जुधाउने गरिएको हो । मनोरञ्जन, भेटघाट र मित्रता नवीकरण गर्ने अवसरका रूपमा विकसित हुँदै आएको मैदीकी सुशीला विश्वकर्माले जानकारी दिए ।  

ऐतिहासिक प्रमाण नभेटिए गोरु जुधाइ परम्परा १०० वर्षभन्दा पुरानो मानिन्छ । माघे सङ्क्रान्ति भन्ने बित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । 

प्रतिक्रिया दिनुहोस्