Logo
Logo

पत्रकारिताको वैचारिक धरातल संकटमा


शरद् रिजाल

252
Shares

कम्युनिष्ट विचारका प्रणेता कार्ल माक्र्सले ‘राजकीय सत्ता जसको हुन्छ, उसैको बौद्धिक सत्ता हुन्छ’ भनेका थिए । उनको यस भनाई अनुसार शासन सत्ताको चरित्र जस्तो छ, त्यही अनुरुपको बौद्धिक जगत रहेको हुन्छ । तर सोही शासन सत्तामाथि आलोचनात्मक प्रश्न उठाउँदै बौद्धिक जगत परिवर्तन गर्ने सामथ्र्य भने पत्रकारिताले मात्रै निर्वाह गर्न सक्दछ भन्ने उक्त भनाईको आशय हो ।

पत्रकारिता र राजनीति एक अकार्को परिपूरकसँगै विपरीत धार पनि हुन् । जहाँ जस्तो प्रकृतिको राजनीतिक व्यवस्था छ, त्यहाँ सोही अनुरुपको पत्रकारिता प्रचलित हुन्छ । सत्ताको स्तुती गाउनेदेखि खबरदारी गर्नेसम्मको चरित्र पत्रकारिताले निर्वाह गर्दछ ।

नेपालको हकमा पनि पञ्चायती कालको कठिन अवस्थामा सत्ताविरुद्ध आवाज उठाएर त्यसको विपक्षमा जनमत सिर्जना गर्ने प्रमुख माध्यम पत्रकारिता नै थियो । विभिन्न विचार प्रधान पत्रिकाहरुकै आधारमा आम जनताले वैचारिक धारणा बनाउने गर्दथे । मुलुकको हरेक राजनीतिक परिवर्तनमा पत्रकारिताको सधैं महत्वपूर्ण भूमिका रहेको तथ्य सर्वविदितै छ ।

विगतका हरेक राजनीतिक परिवर्तन हुँदै आजको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा पनि पत्रकारिताको देन अतुलनीय छ । यसका अलावा दलीय संगठन निर्माणमा समेत उस्तै जिम्मेवारी पत्रकारिताले पूरा गरेको छ ।

हरेक दलका मुखपत्रका रुपमा प्रकाशित हुने वैचारिक पत्रिकाहरुले ती दलको पक्षमा जनमत सिर्जना गर्न र नेता कार्यकर्ताको विचार, दृष्टिकोण निर्माण गर्ने सामग्री मुखरित गर्दै आएका थिए । चाहे त्यो माओवादी जनयुद्धकालमा ‘जनादेश’जस्ता वैचारिक पत्रिकाले खेलेको भूमिका होस् या प्रजातान्त्रिक आन्दोलनमा तरुणजस्ता पत्रिकाको भूमिका होस् ती सबै स्मरणीय छन् ।

त्यसैगरी, पञ्चायतकालमा तत्कालीन वाम घटक मालेको संगठन निर्माणदेखि पार्टीका विचारहरु प्रवाह गर्ने दृष्टि साप्ताहिकले खेलेको भूमिका पनि उल्लेख्य छ । आजपर्यन्त वाम आन्दोलनको विचार प्रधान पत्रिकाको रुपमा दृष्टिले आफ्नो मूलभूत दायित्व निर्वाह गरिरहेको छ । कुनै बेला भूमिगत मालेको ‘मुखपत्र’को रुपमा निस्कने ‘दृष्टि’ले आज पनि वाम विचारकै प्रतिनिधित्व गरेको छ ।

पछिल्लो समयमा सूचना प्रविधिले चौतर्फी फड्को मारेपछि विस्तारै वैचारिक पत्रिकाहरु ओझेलमा पर्न थालेका छन् । अहिले सबैको पहुँचमा इन्टरनेट र स्मार्टफोन भएपछि नागरिक पत्रकारिताको युग सुरु भएको छ । सामाजिक सञ्जालका विभिन्न प्लेटफमले सूचना प्रवाह गर्ने थलोका रुपमा विकसित हुँदा विगतका विचार प्रधान पत्रिकाहरु भने क्रमशः ओझेलमा पर्दै गएका छन् ।

समाचारका लागि हप्तौ पर्खनुपर्ने युग डिजिटल पत्रकारिताले अन्त्य गरेर छिटो छरितो र सहजै सूचना प्राप्त गर्ने अवसर प्रदान गरे पनि यसले वैचारिक अध्ययन सामग्रीको भने परिपूर्ति गर्न सकेको छैन । पाठकहरुलाई रचनात्मक एवं सिर्जनात्मक सामग्री दिएर वैचारिक खुराक प्रदान नगरी फगत मनोरञ्जनात्मक विषयवस्तुतर्फ मात्रै ध्यान आकर्षित गराउँदै लगेको छ ।

विगतमा जस्तो वैचारिक पत्रिकाहरु अध्ययन गरेर धारणा बनाउने अवस्था हराएर अहिले सामाजिक सञ्जाल र युट्युबमा प्रकाशित÷प्रसारित सामग्रीबाट धारणा बनाउने क्रम बढेको छ । यसले विश्वसनीयता र पठन संस्कृति कमजोर बन्दै गइरहेको प्रतीत हुन्छ ।

नेपालको राजनीतिमा पछिल्लो समय मौलाएको लोकप्रियतावादी प्रवृत्तिको प्रभाव पनि पत्रकारिता क्षेत्रमा परेको छ । अधिकांश मिडियाहरुले पाठक समक्ष वैचारिक स्तरवृद्धि गर्ने सामग्री प्रवाह गर्ने भन्दा पनि चर्चामा आउने र भ्युज बटुल्ने सामग्री प्रसारित गर्ने होडबाजी चलेको देखिन्छ । गाली गलौज र अराजकतालाई बढावा दिने सामग्री पस्किने र सोही सामग्रीलाई नै जनमानसले रुचाउने प्रवृत्तिले पत्रकारिता क्षेत्रको साख गिराउँदै लगेको छ ।

अहिलेको डिजिटल प्लेटफमले सूचनाको पहुँच सहजै स्थापित गर्नु सकारात्मक भएपनि तथ्य बेगर मिथ्या र भ्रामक सूचना प्रवाह गर्दा जनमानसमा अन्योलता पैदा गरेको तर्फ भने नियामक निकायले ध्यान पुर्याउनुपर्छ ।

पत्रकारितालाई राज्यको चौथो अंगको उपमा समेत दिइनुको तात्पर्य राज्यका प्रमुख तीन अंगलाई खबरदारी गरी सचेत तुल्याउने भएकाले हो । तर पछिल्लो समय यसको गरिमाकै उपहास हुने गरी सामाजिक सञ्जालबाट मिथ्या समाचार सामग्री प्रष्फुटित गर्ने प्रवृत्तिले सिंगो पत्रकारिता जगतकै साख गिरेको छ ।

अहिले नेपाली राजनीतिमा व्याप्त लोकप्रियतावादी प्रवृत्ति जस्तै प्रचारमुखी सामग्रीलाई मात्रै प्राथमिकता दिँदा पत्रकारिताको वैचारिक धार भुत्ते हुँदै गएर विश्वसनीयतामा समेत ह्रास हुँदै गएको सत्यलाई सबैले गम्भीरतापूर्वक लिनुपर्छ । आजभोलि पत्रकार र पत्रकारिता पेशाकै प्रतिष्ठामाथि युट्युब र सामाजिक सञ्जालको गलत सूचनाले आँच पुर्याएको छ । पाठकहरु यसबाट भ्रमित हुने समस्या निराकरण गर्न नसकिए पत्रकारिता जगतकै विश्वसनीयता हराउन सक्छ ।

अर्कोतिर, ठूला लगानीका मिडियाहरु विचारभन्दा पनि बढी बजारमुखी देखिन्छन् । मिडियाको आर्थिक संरचना विज्ञापनमा निर्भर हुँदै जाँदा समाचारको प्राथमिकता भन्दा व्यावसायिक स्वार्थ हाबी हुँदै गएको छ । के सही र गलत भन्ने बहस भन्दा पनि कुन सामग्री धेरै पढिन्छ, कुन शीर्षकले बढी भ्युज बढाउँछ र कताबाट व्यावसायिक लाभ हुन्छ भन्ने आधारमा समाचार सामग्री बन्न थालेका छन् ।

पत्रकारितालाई वैचारिक बहस गर्ने माध्यम भन्दा पनि सतही र लोकप्रियता र अर्थोपार्जनका लागि समाचार सामग्री सम्प्रेषण गर्ने साधनका रुपमा समेत प्रयोग गरिएको छ । यसरी कुनै पनि वैचारिक अडान नलिनुलाई नै निष्पक्षता हो भन्ने गलत धारणाले समेत पत्रकारितालाई क्षेत्रलाई प्रभावित भएको छ । यसमा मिडिया सञ्चालक र राजनीतिक–आर्थिक दबाबको भूमिका पनि कम छैन । ठूला मिडिया हाउसहरू सत्तासँग नजिकिँदा त्यहाँ कार्यरत पत्रकार प्रश्न उठाउन नसक्ने परिस्थिति छ । यस्तो वातावरणमा वैचारिक पत्रकारिता कदापी फस्टाउन सक्दैन।

अर्कोतिर डिजिटल र सामाजिक सञ्जालको प्रभावले छिटोभन्दा छिटो समाचार हाल्ने होडमा सत्य, तथ्य, सन्दर्भ र वैचारिक विश्लेषण ओझेलमा पर्दै गएको छ । प्रतिक्रिया र भाइरल सामग्रीले स्थान पाउँदा विचार, अनुसन्धान र दृष्टिकोणयुक्त लेख रचना देख्नै मुश्किल भएको छ ।

पत्रकारितामा पनि वैचारिक दर्शन, राजनीतिक अर्थशास्त्र, समाजशास्त्र र इतिहासको ज्ञान बिना घटनाको गहिरो व्याख्या गर्न नसक्दा पत्रकार विशुद्ध जानकारी दिने माध्यमका रुपमा मात्रै सीमित भएको छ । वैचारिकता भनेको दलीय पक्षधरता नभएर आफ्नो दृष्टिकोणप्रतिको लगाव हो । लोकतन्त्रमा पत्रकारिताले सत्ताको चाकरी नगरी जनताको पक्ष लिए मात्रै साचो पत्रकारिता हुन्छ । विचारविहीन पत्रकारिता अन्ततः सत्ताको स्तुतीवाहक मात्रै बन्छ ।

त्यसैले आज नेपाली पत्रकारितालाई प्रविधिमैत्री बनाएर मात्रै हुँदैन, वैचारिक पक्षधरता पनि अत्यावश्यक छ । पेशागत निष्पक्षता कायम गर्दै राज्यका बेथितिविरुद्ध आवाज उठाएर जनपक्षीय दृष्टिकोण कायम राख्ने पत्रकारिताले नै लोकतन्त्र मजबुद बनाउँछ । नेपाली पत्रकारिताले वैचारिक धरातल स्पष्ट नगरी आफ्नो दायित्व निर्वाह गर्न नसक्नेतर्फ सम्बन्धित सबैले ध्यान दिन जरुरी छ । ०००

प्रतिक्रिया दिनुहोस्