
जेनजी विद्रोहपछि पुराना दलहरुमा उठेको रुपान्तरण र नेतृत्व हस्तान्तरणको बहसले पार्टीहरुमा विभाजन र ध्रुवीकरण सुरु भएको छ । पछिल्लो समय नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्व हस्तान्तरणको प्रस्ताव पार्टी नेतृत्वले बेवास्ता गरेपछि त्यसविरुद्ध विद्रोह गरेर महामन्त्रीद्वयले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न सफल भएका छन् ।
उनीहरुको विद्रोहलाई निर्वाचन आयोगले वैधता दिएपछि अधिकांश नेता कार्यकर्ताहरु गगन थापा नेतृत्वकै आधिकारिक कांग्रेसको पक्षमा लाग्ने आकलन गरिएको छ । यद्यपि, यस विरुद्ध तत्कालीन संस्थापन रहेको सभापति शेरबहादुर देउवा पक्षीय नेताहरु अदालत जाने भएका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले वैशाखमा नियमित महाधिवेशन गर्ने जनाउँदै सबैलाई समेटेर लैजाने घोषणासमेत गरेका छन् । तथापि, देउवा पक्ष निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने निष्कर्षमा पुगेपछि एकताको सम्भावना तत्कालका लागि टरेको देखिन्छ ।
अर्कोतिर, कांग्रेस विभाजन र गगन नेतृत्वको समितिलाई वैधता दिएको विषयमा नेपाली राजनीतिमा अनेकौं चर्चा परिचर्चा समेत सुरु भएको छ । कतिपयले यसलाई स्वाभाविक रुपमा लिएका छन् भने केहीले निर्वाचन आयोगको निर्णयलाई नियोजित र विभाजनलाई भूराजनीतिक षड्यन्त्रको संज्ञा दिएका छन् ।
विगतदेखि नै नेपाली राजनीतिका हरेक घटनाक्रममा अदृश्य बाह्य शक्तिमाथि दोषारोपण गर्ने प्रमुख प्रवृत्ति यसपटकको कांग्रेस विभाजनमा पनि प्रखरताका साथ सतहमा आएको छ । यहाँका दल विभाजनदेखि हरेक राजनीतिक परिवर्तनमा समेत बाह्य शक्तिकै भूमिका देख्ने र भोग्ने नियति कांग्रेस विभाजनमा पनि दोहोरिएको छ ।
मुख्यतया हरेक घटना निम्तनुमा त्यसको आन्तरिक पक्ष नै प्रमुख कारण हो । बाह्य पक्षले त त्यसमा सहायकको रुपमा उत्प्रेरकको भूमिका मात्रै निर्वाह गर्ने हो । तर नेपालमा भने आफ्नो अक्षमताबाट जोगिन अरुमाथि दोषारोपण गर्ने नेताहरुको विगतदेखिकै प्रवृत्ति आजपर्यन्त कायमै छ ।
कांग्रेस विभाजनको सम्मुखमा पनि सो पार्टीका नेताहरुले भूराजनीतिक चलखेलको उपज पाटीमा विभाजनको संकट निम्तिएको बताएका थिए । यसले भूराजनीतिक कारण औंल्याएर नेताहरुले आफ्नो अक्षमता लुकाउन मुलुक र दलीय सार्वभौमिकताकै अवमूल्यन गरेका छन् । मूलुकको जटिल भूराजनीतिक अवस्थिति अनुरुपको असंलग्न परराष्ट्र नीति अबलम्बन नगरी त्यस विपरीत शक्ति राष्ट्रप्रति घोषित एवं अघोषित पक्षधरता देखाउने कार्यले नै आजको विषम परिस्थिति निम्तिएको हो ।
यसको जिम्मेवार राज्य सञ्चालन तहमा रहेका वर्तमान दल र त्यसका नेताहरु हुन् । तर यो तथ्यलाई नजरअन्दाज गर्दै आफूमाथि संकट निम्तिँदा मात्रै भूराजनीतिक चलखेल देख्ने नेताहरुले अमुक शक्ति राष्ट्रको आशिर्बाद बेगर सत्तामा पुग्न नसकिने दास मनोवृत्तिबाट भने किन मुक्त हुन सक्दैनन् ? अहिले चौतर्फी रुपमा यही प्रश्न खडा भएको छ ।
यिनै दल र नेताहरुको अमुक शक्ति राष्ट्रप्रतिको अघोषित लगाव, भक्तिभाव र आशक्तिकै उपज मुलुक भूराजनीतिक चक्रब्यूहमा परेको जगजाहेर छ । पछिल्लो नेताहरुको दिल्ली दौड त्यसकै निरन्तरता हो ।
अहिलेको कांग्रेस विभाजनमा पनि त्यसको प्रत्यक्ष या परोक्ष प्रभाव परेकोमा कुनै शंका छैन । विदेशी चलखेलको वातावरण आफैं निम्त्याएका नेताहरुले पहिले ‘आफ्नो थैली बलियोसँग बाँधे छिमेकीलाई दोष लगाउनु पर्दैन’ भन्ने नेपाली लोकोक्ति ख्याल गर्न जरुरी छ ।
अहिले गगन विश्वको विद्रोहमा पनि मुख्य पक्ष आन्तरिक हो भने बाह्य भूमिका सहायक मात्रै हो । मुख्यतः गगनको महत्वकांक्षा र देउवाको पार्टी सत्ता मोहकै उपज कांग्रेस विभाजित भएको हो । यसमै आन्तरिक एवं बाह्य शक्तिले एक अर्कालाई उक्साएर विभाजनको वातावरण तयार पार्न सहायक भूमिका खेलेका हुनसक्छन् ।
जेनजी विद्रोहमा कुटिएर अस्वीकृत भएका देउवाले अझै राजकीय र पार्टी सत्ताको मोह कायमै राखेर नेतृत्व हस्तान्तरणप्रति उदारता नदेखाउँदा नै अपमानजनक बहिर्गमन भोगेका हुन् । यसमै गगनको आफ्नै महत्वकांक्षा र त्यसमा अर्का महामन्त्री विश्वप्रकाश शर्माको सहकार्यले विशेष महाधिवेशनको जोखिम मोलेरै नेताद्वय नेतृत्व परिवर्तन गर्न सफल भएका हुन् ।
पार्टी विभाजनपछि वैधानिक कांग्रेसको नेतृत्वमा रहेका थापाले विगतदेखि नै जोखिम मोल्दै आएको उनको राजनीतिक भूमिकाले देखाउँछ । कांग्रेस विधानतः संवैधानिक राजसंस्थाको पक्षमा रहँदा उनी गणतन्त्रको पक्षमा आवाज उठाउँदै सडकमा आएका थिए । अन्ततः ६२÷६३ को जनआन्दोलनमा उनको दल कांग्रेस संस्थागत रुपमै गणतन्त्र स्विकार्न तयार भएर आन्दोलनमा होमिएको थियो ।
पार्टीभित्र सुरुमा कांग्रेस नेता कृष्ण सिटौलाका्े पक्षमा लागेर १३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुँदै उनकै कोटामा स्वास्थ्य मन्त्री बन्न सफल भएका उनले त्यसयता भने निरन्तर गुट परिवर्तन गर्दै राजनीतिक अग्रता हासिल गर्दै आएका छन् । अझै रोचक त के छ भने थापाले १३ औं महाधिवेशनमा आफ्नै ससुरा अर्जुननरसिंह केसी विरुद्ध उम्मेदवारी दिएका थिए । अन्ततः दुबै जना पराजित भएर पार्टीका संस्थापक नेता विपी कोइरालापुत्र सशांक कोइराला निर्वाचित भएका थिए ।
त्यसपछिको १४ औं महाधिवेशनमा फेरि क्याम्प बदलेर उनी शेखर कोइरालाको टिमबाट महामन्त्री भएका हुन् । यसरी आफ्नो अनुकुलतामा क्याम्प बदलेर राजनीतिक फड्को मारेका थापाले विघटित प्रतिनिधिसभाको कांग्रेस संसदीय दलको नेतामा आफ्नै पार्टी सभापति देउवा विरुद्ध उम्मेदवारी दिएर लोकतान्त्रिक प्रतिस्पर्धा गरेका थिए । यद्यपि, विजयी हुन नसके पनि नेतृत्वलाई चुनौती दिने थापाको आँट प्रशंसायोग्य थियो ।
गगन थापाले आधिकारिक कांग्रेसको नेतृत्व गरेपछि राजनीतिक जीवनको उत्तरार्धमा सभापति देउवा सहितका शीर्ष नेताहरु दलविहीन हुन पुगेका छन् । उनीहरुले नयाँ दलको नामकरण गरी नयाँ चुनाव चिन्ह लिएर आगामी निर्वाचनमा जानुपर्ने बाध्यता निम्तिएको छ ।
यसले अर्कोतिर कांग्रेस स्थापनाकालदेखि कायम रहेको विरासतको राजनीति अब पूर्णतया रक्षात्मक बनेको छ । गगनको उदयले कांग्रेसमा सर्वस्वीकार्य रहेको कोइराला परिवार नेतृत्वदायी तहमा पुग्ने परिस्थिति पनि तत्कालका लागि अन्त्य गरेको छ ।
समयको पदचाप र नेता कार्यकर्ताहरुको मनोविज्ञान बुझ्ने प्रयत्न नगर्दा नेतृत्व लिने अवसरबाट शेखर कोइराला विमुख हुन पुगेका छन । प्रतिकूल परिस्थितिमा स्पष्ट पक्षधरता र अडानमा दृढतापूर्वक कटिबद्ध हुन नसक्ने व्यक्तिले नेतृत्व लिन सक्दैन भन्ने शेखर कोइरालाको पछिल्लो क्रियाकलापले पुनःपुष्टि गरेको छ ।
पार्टी विभाजित हुने अवस्थामा आफ्नो स्पष्ट पक्षधरतासहित पहलकदमी लिएर विशेष महाधिवेशनको पक्षमा लागेको भए उनी सर्वस्वीकार्य सभापति बन्ने प्रबल सम्भावना थियो । तर शेखरले त्यो हिम्मत गर्न नसक्दा कोइराला परिवारबाट कांग्रेसको नेतृत्व लिने ऐतिहासिक अवसर गुमाएर राजनीतिक अन्योलताको शिकार भएका छन् ।











