Logo
Logo

जापानको मेरो अन्तिम साँझ


567
Shares

एउटा खुसीको दिन । बिहानैदेखि व्यस्त । ती ‘भिआइपी’ मान्छेसँगको भेटघाटमा म मात्र होइन, मेरी साथी इशीजुका र ताजि सान मात्र पनि होइन, मैले कहिल्यै नचिनेका विभिन्न तहका स्थानीय अफिसरहरु पनि व्यस्त भएका थिए । दिन सार्थक भयो । सोचेको भन्दा राम्रो भयो । भाषा नबुझ्नुको कारणले ती नयाँ साथीहरूसँग प्रत्यक्ष कुराकानि हुन नपाए पनि अन्त्यमा ‘भिआइपी’को बदलिएको व्यवहारले गर्दा सबैको अनुहारमा खुसी छाएको देख्न गाह्रो थिएन । जाँदा जस्तै, फर्कदा पनि फरक गाडीहरूमा बसेर फर्कियौँ । सबैको उज्यालो अनुहार देखेर मेरो मन प्रफुल्ल भएको थियो ।

सबैलाई मैले विनम्रपूर्वक ‘धन्यवाद’ भनें, तर मेरोभन्दा बढी धन्यवाद उनीहरुले नै फर्काएका थिए । मेरा साथीहरु त झन् यति खुसी देखिए कि इशीजुकाले मलाई जीउमा थम्थमाएर– “सुलो तिमीलाई त आज पो बल्ल चिन्न पाएँ । तिम्रो कारणले हामी सबै त्यो ‘भिआइपी’को नजिकको गेष्ट भएर एउटै टेबुलमा बसेर लञ्च खाने अवसर पनि मिल्यो…” भनिन् ।

ताजि सान ज्यादै कोमल हृदयका मान्छे रहेछन् । उनी सबभन्दा खुसी देखिए । हुन पनि उनकै सम्बन्धको कारण ती मान्छेसँगको सम्पर्क भएको थियो । उनी हेर्दा सरल तर धेरै साथीहरु भएको र उदारमना मानिस रहेछन् । कोबे वरिपरीको गाउँमा पठाएर जापानी परम्परागत संस्कृति देखाउँदा होस् वा साथीहरुलाई चिनाइदिएर पिकनिकको योजना गर्दा होस्, मुख्य हात उनकै थियो ।

सुरुमा हामीलाई धेरै बेर कुराएर “मलाई कुरा गर्ने फुर्सद छैन…” भन्ने भलाद्मीसँग अस्पताल घुम्ने देखि लिएर लञ्चमा जाने र अझ पत्रकारहरुसँग कुरागर्ने समेत काम गर्दा नै दिन बित्न लागिसकेको थियो । अब साँझ र बेलुकीको समय मात्र बाँकी थियो । ताजी सानले फेरि कतै लगेर मेरो निम्ति केही उपहार किनिदिन खोजेको कुरा बुझेँ । उनैले हाँकेको गाडीमा थियौँ । एउटा राम्रो सुपर मार्केटमा लगेर मेरी छोरीको निम्ति एउटा राम्रो पुतली किनिदिए । त्यो पुतली देख्ने बितिक्कै नै फेरि छोरीकै सम्झनाले मेरो मन चसक्क भयो । पुतली राम्रो थियो । त्यो पाएपछि छोरी पक्कै खुसी हुन्छे भन्ने विश्वासले फेरि मन केही खुसी भयो । स–साना कुराले पनि मेरो मनमा समुद्रको छाल जस्तै उथल पुथल ल्याइरहेका थिए । ताजि सानले फेरि मलाई कपडा छान्न लगाए । रेडिमेड स्कर्ट कोट आदि जे पनि थिए त्यहाँ । जे लिए पनि हुन्छ भनेका थिए उदार भएर । तर उनको धेरै खर्च गराउने मन भएन । एउटा सामान्य स्कर्ट लिएँ र खुसी भएर कृतज्ञता ब्यक्त गरें ।

त्यो साँझ इशीजुका कहाँ नै बस्नु थियो । भोलिपल्ट नै त्यहीँबाट विदा लिनु थियो । घरमा पु¥याइ दिएर ताजि सान फर्कि हाले । इशिजुका ज्यादै व्यावहारिक लाग्ने मिल्ने साथी । उनले मलाई भनिन् – “तिमीले त्यो स्कर्ट नेपाल गएर पनि लगाउँछौ र ? तिमीहरुकहाँ पुगे पछि सारी लगाउनु पर्ने होला होइन ?” मैले ‘हो’ भनें । “उसो भए जापानबाट लगेको कपडा पछिसम्मलाई काम लाग्ने कुरा लिएको भए राम्रो हुन्थ्यो नि !” भनेर सम्झाइन् ।

कुरा ठीकै थियो । मेरो अनुहारमा के देखिन् कुन्नी, उनले तुरुन्तै अर्को लोकल गाडी चढेर त्यही पसलमा फर्काएर लगिन् । हामी दुबै त्यही फर्केर स्कर्टको सट्टा एउटा रातो ’विन्ड कोट’ साट्यौं । म झनै आभारी भएँ । उनको व्यावहारिकता र सहयोगी भावना सम्झँदा अहिले पनि मन भरिन्छ । त्यो कोट अहिलेसम्म पनि काम लागिरहेको छ । धेरै पछि जाडोकै बेला क्यानाडा पुग्दा हिउँ परेको ठाउँमा पनि त्यही कोटले धेरै मद्दत ग¥यो मलाई । प्रत्येक पल्ट त्यो कोट लगाउँदा ताजि सान, इशीजुका र जापानको अन्तिम साँझ सम्झिन्छु । त्यो सम्झनाले पनि जाडोमा त्यतिकै न्यानो हुन्छ ।

जापानको भ्रमण पूर्ण रुपमा नै साथीहरुकै मायाले गर्दा सफल भएको थियो । त्यो अन्तिम साँझ त अझ विशेष नै भयो । सफलता र जीतको आभास पनि भइरहेको थियो । झण्डै अपमानित भएर फर्किनुपर्ने अवस्थाबाट नेपाली हुनुको गर्व अनुभूत भइरहेको थियो । अनि आफैँले आफँैलाई पनि चिनेको दिन थियो । गरीब देशकी भए पनि आफू कमजोर छैन भन्ने कुरा थाहा पाएकी थिएँ । किशोरावस्थामा गाउने गरेको गोपाल योञ्जनको गीतलाई सम्झिएँ “… म आगो सहन्छु अन्याय सहन्न, म तिर्खा सहन्छु तिरस्कार सहन्न…” ।

साथीले त्यो साँझ बेलुकी सम्ममा टोकियोमा फोन गरेर निशिकावा र सुसुमुलाई दिनमा भएको सबै कुरा सुनाउन भ्याई सकेकी थिईन् । ती साथीहरु पनि खुसी हुनु स्वाभाविकै थियो । इशिजुकाले आफ्नो दिदीलाई पनि सुनाइन् । सरकारी कर्मचारी भएकोले धेरै कुराहरु उनी सहजै बुझ्थिन् । धेरै खुसी भएर बधाई र शुभकामना दिइन् ।

त्यो साँझ मेरो बुढा फोन पर्खेर बस्छन् होला भन्ने थाहा थियो । शाङ्हाईमा सरोजलाई फोन गरी सुनाएँ सबै कुरा, उनी पनि धेरै खुसी भए । जापान पुग्ने बेला काठ्माण्डौमा अस्पताल बनाउने कुरा कति पनि उठेकै थिएन । सपना पनि देखेको थिएन , तर सरोज नेपाल फर्किनु र म जापान पुग्नु उस्तै बेला परेको मात्र नभएर देशमा नयाँ सम्भावनाको ढोका खुलेको र भर्खरै बहुदल आइसकेको बेला भएकोले यी सबै घटनाक्रमहरु सकारात्मक दिशातर्फ मोडिंदै पनि थिए ।

तर त्यो दिन ती ‘भिआइपी’ मान्छेले हृदय खोलेर दिएको वचन अनि त्यो स्वाभिमान बोलेर पाएको आश्वासनलाई अन्य कारणले प्रयोग भने गर्न सकेनौं । पछि शाङ्हाईबाट नै सरोज जापान पुगे नयाँ बन्न लागेको अस्पतालकै कामको निम्ति भनेर । तर त्यो मान्छेसँग भेट्न मौकै मिलेन छ । बरु यो कुरा थाहा भएपछि अलि छिटो छिटो अर्को पक्षका साथीले मद्दत गर्न थाले । उनीहरुको बीचमा पनि प्रतिस्पर्धा भाव चर्को हुँदोरहेछ । पछि थाहा पाएँ । जे भयो राम्रै भयो होला ।

अब त काठमाण्डौ मोडेल अस्पताल बनेकै पनि झण्डै साढे तीन दशकको कुरा भइसक्यो । सरोजले आफूले निभाउनु पर्ने कर्तव्य सबै निभाएर सक्रिय सर्जन र प्रोफेसरको कामबाट छुट्टी नै लिईसके । तर मैले जापानमा बिताएका ती दिनहरुलाई सम्झँदा मनको पर्दामा धेरै असल पात्रहरू बरोबर आईरहन्छन् । जापान पुगेको दिनदेखि अन्तिम साँझसम्मका कुराहरुमा माया, ममता, सहयोगका कुराहरु सम्झदा मेरो मन भरिन्छ । आफँैले आफैँलाई भन्ने गर्छु, जीवनमा जस्तै दुःख गरेपनि कति भाग्यमानी रहेछु भन्ने लाग्छ । मित्रताभन्दा ठुलो कुरा के छ त भन्ने लागिरहन्छ ।

प्रतिक्रिया दिनुहोस्