काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ ।

कोषले अनौपचारिक छलफल र सेवा शिविर सञ्चालन गर्न इच्छुक धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक तथा औद्योगिक सङ्घ–संस्थाका लागि आवेदन आह्वान गरेको छ।
सूचना अधिकारी अनिता भट्टका अनुसार, सेवा शिविरमार्फत देश-विदेशबाट आउने साधुसन्त, भक्तजन र तीर्थयात्रीका लागि निःशुल्क भोजन, आवास, पिउने पानी, स्वास्थ्य सेवा र स्वयंसेवक सेवासहित विविध सेवाहरू उपलब्ध गराइनेछ । सेवा सञ्चालन गर्न चाहने सङ्घ–संस्थाले दर्ता प्रमाणपत्रको प्रतिलिपिसहित आवेदन पेश गर्नुपर्नेछ ।
आवेदनमा सेवाको प्रकृति, संख्या, सञ्चालन अवधि लगायत आवश्यक विवरण स्पष्ट उल्लेख गरी माघ २० गतेभित्र पेस गर्नुपर्नेछ । भत्ता समयभित्र आवेदन नपठाए सेवा शिविर सञ्चालनको स्थान उपलब्ध गराउन नसकिने कोषले चेतावनी दिएको छ ।
पशुपति क्षेत्रमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको महाशिवरात्रि पर्व २०८२ फागुन ३ गते, फाल्गुनकृष्ण चतुर्दशीको दिन, आइतबार मनाइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कोषले पर्वलाई सभ्य, भव्य र दिव्य बनाउन सबैको सक्रिय सहभागिताका लागि अपिल गरेको छ ।











