Logo
Logo

गरिबको भावनामा चल्ने ‘चुनावी सर्कस’


378
Shares

फागुन २१ गते निर्वाचनको दिन जति–जति नजिकिँदो छ, त्यति-त्यति नेताहरूलाई जनता कसरी झुक्क्याउने भन्ने चटारो छ । जनता झुक्याउन नयाँ नयाँ फर्मुलासहितको घोषणापत्र तयारी हुँदै छ । हरेक पार्टीले भावी प्रधानमन्त्री भनेर आफ्ना पार्टीका ‘बुख्याँचा’हरुलाई अगाडि सारेका छन् । यी अनुहार हरेर जनता दिग्भ्रमित भएका छन् । गाउँ शहरमा चल्ने मेला महोत्सवजस्तै देश निर्वाचनमय हुँदै छ । जताततै भाषण र नेताहरूको आश्वासनले जनता रनभुल्लमा छन् । यसले सर्वसाधारणको मस्तिष्कमा सिधै प्रहार गर्छ । प्रश्न गर्ने चेतनाका आँखाहरू बन्द गराउँछ र भीडमा बदलिएको समाजलाई उत्सवको नाममा रमाउन बाध्य बनाउँछ ।

यही मौसमसँगै नेपाली राजनीतिक दलका चुनावी उम्मेदवारले आफ्ना घोषणापत्र पनि झोलाबाट निकाल्न थालेका छन् । सुन्दा, पढ्दा र हेर्दा लाग्छ, यी दुई फरक विधा होइनन्, एउटै कथाका दुई फरक मञ्चनमात्र हुन् । झट्ट हेर्दा सामान्य बजारमा लाग्ने मेला-महोत्सवका प्रचार र राजनीतिक दलका घोषणापत्र सुन्दा उस्तै–उस्तै लाग्छ । यिनको प्रचारप्रसार हेर्दा एक छिन त यस्तो लाग्छ कि हामी नै यो गोलाद्र्धका सबैभन्दा अबुझ र लोपोन्मुख प्राणी हौँ कि क्या हो ? किनकि, पटक-पटक उही कथा सुन्छौँ, उही नाटक हेर्छौँ र उही भ्रमलाई फेरिफेरि सत्य ठान्छौँ ।

यिनको रूप फरक देखिए पनि सार ठ्याक्कै एउटै हुन्छ । एउटाले संस्कृति जोगाउने नारा लगाउँछ, अर्कोले देश बनाउने । तर दुवैको अन्तिम लक्ष्य भीड जम्मा गर्ने, गरिब जनताको भावनामा खेल्ने र त्यसपछि आफ्नो फाइदा सुरक्षित गर्ने हो । बाहिरी चमकधमकमा यति धेरै समानता छ कि कहिलेकाहीँ मेला उद्घाटनको ब्यानर हो कि चुनावी सभाको पोस्टर छुट्टाउनै गाह्रो हुन्छ ।

राजनीतिक दल र तिनका नेताहरू निर्वाचनको बेला देशका सबै समस्या हाम्रो पार्टी र नेतालाई जिताएपछि समाधान हुन्छ भनेको ३५ वर्ष बित्यो । उता मेला–महोत्सवका आयोजकहरू छाती फुलाएर थिति, संस्कृति र पहिचानको जिम्मा हामीले मात्रै लिएका हौँ भन्ने दावा गरिरहेका हुन्छन् । यी दुवै दाबी सुन्दा लाग्छ, राज्य असफल भइसकेको छ, समाज अपहेलित भइसकेको छ र उद्धारको अन्तिम ठेक्का यिनै दुई समूहले लिएका छन् । यिनको स्वर उस्तै, दाबी उस्तै र नियति पनि उस्तै देखिन्छ । मेला–महोत्सवका आयोजकहरू ‘संस्कृति बचाउने’ नाममा चौबाटोमा नांगो नृत्य प्रस्तुत गर्छन् । राजनीतिक दलका नेताहरू ‘जनताको सेवा’को नाममा सत्ता र स्रोतको दोहन गर्छन् ।

अन्ततः मतदान सकिएको भोलिपल्टदेखि राजनीतिक दलका नेताहरू पाँच वर्षसम्म मतदाताको अनुहार चिन्न छाड्छन् । उता संस्कृति जोगाउने ठेक्का लिएका मेला–महोत्सवका आयोजकहरूलाई कलाकार रुपी उच्छृङ्खलता देखाएर कमाएको जितौरी धन गन्न भ्याइ नभ्याई हुन्छ । न संस्कृति बाँकी रहन्छ, न चेतना बढ्छ । बाँकी रहन्छ त केवल प्रचार, भीड र भ्रमको धुलो मात्रै ।

आज मेला–महोत्सव संस्कृति होइन, विकृति बनेको छ । राजनीतिक दल राजनीति होइन, व्यवसाय बनेका छन् । दुवैमा लगानी हुन्छ, प्रतिफल खोजिन्छ र घाटा नहोस् भनेर जोगजाग गरिन्छ । नेताले चुनाव जितेपछि ठेक्का–पट्टा, कमिसन र पद बाँड्छन् । आयोजकले मेला सकेपछि कुन गायकले कति भीड तान्यो, कुन नृत्यांगनाले कति टिकट बिक्रीमा टेवा पु¥यायो लगायतका विषयमा हिसाब–किताब गर्छ । संस्कृति, चेतना, विचार यी सबै चर्चा र मूल्यांकनको शीर्षकमै पर्दैनन् ।

हामीलाई बारम्बार भनिन्छ– ‘यो हाम्रो पहिचान हो’ । तर त्यो पहिचानमा न भाषा सुरक्षित हुन्छ, न मौलिकता । पहिचानको नाममा आयातित गीत बज्छन्, फुर्सदिलो बजारिया शब्द बोलिन्छ र स्टेजमा सस्तो उत्तेजना बेचिन्छ । राजनीतिमा पनि उस्तै हो । राष्ट्रियताको नाममा विदेशी स्वार्थको सेवा हुन्छ, समाजवादको नाममा कुलीनतन्त्र चल्छ र जनताको नाममा जनतालाई नै बिर्सिन्छ ।

निर्वाचनले हामीलाई के दियो ? हामीले कहिले सोच्दैनौँ, हाम्रो गाउँमा शिक्षा सुधारियो कि सुधारिएन ? स्वास्थ्य सेवा पुगेको छ कि छैन ? युवा किन विदेश जान बाध्य छन् ? किसान किन आत्महत्या गर्छन् ? यसको जवाफ पार्टीका घोषणापत्रमा पनि उल्लेख हुँदैनन् । आज हाम्रो समाजमा चेतना होइन, मनोरञ्जनको शासन छ । प्रश्न होइन, तालीको राजनीति छ । विचार होइन, दृश्यको बजार छ । यही कारण मेला–महोत्सवका जोकर र चुनावी राजनीतिका नेताहरू उस्तै देखिन्छन् । एउटै प्रवृत्ति, एउटै रोग । फरक यति मात्र हो कि एकले केही दिनको भ्रम बेचेर पैसा कमाउँछ, अर्कोले पाँच वर्षको भ्रम बेचेर सत्ता ।

हामीले बुझ्नुपर्ने कुरा के हो भने संस्कृति कुनै एकदिनको तमासा होइन, यो पुस्तौँदेखि साँचिँदै आएको जीवनपद्धति हो । यसलाई बचाउने नाममा बजारको सस्तो स्वादअनुसार नाच, गीत र पहिरनलाई विकृत बनाइँदा त्यो संस्कृति होइन, व्यापार हुन्छ । ठीक त्यस्तै राजनीति पनि कुनै एकदिनको भोट माग्ने अभियान होइन, यो त निरन्तर जवाफदेही हुने प्रक्रिया हो । तर जब राजनीति सत्ता हात पार्ने सीपमा सीमित हुन्छ, तब त्यो सेवा होइन, पेशा बन्छ । आज नेपालमा देखिएको यही हो, संस्कृति र राजनीति दुवै आफ्नो मूल आत्माबाट विचलित भएर बजार र सत्ताको गुलाम बनेका छन् ।
लमही दाङ, हालः साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्