Logo
Logo

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण


0
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज नाम फिर्ता लिन सक्नेछन् । आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले चाहेमा आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

यसपछि आजै १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । सोही दिन उम्मेदवारी पत्र र उजुरी जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ ।

देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो ।

जसमा तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जनाले उम्मेदवारी दिएका छन् । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् । त्यसका लागि आगामी फागुन २१ गते चुनाव हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्