Logo
Logo

चिट्ठामा हारेपछि मनाङमा एमालेले फिर्ता लियो उम्मेदवारी

२१ फागुनमा कांग्रेसलाई सघाउने, प्रदेशसभामा कांग्रेसले एमालेलाई


15.2k
Shares

काठमाडौं । मनाङको चुनावी राजनीतिमा एउटा निकै रोचक र अनौठो दृश्य देखिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रमुख प्रतिस्पर्धी मानिएको नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि त्यहाँको राजनीतिक समीकरण एकाएक बदलिएको हो ।

एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आधिकारिक रूपमै उम्मेदवारी फिर्ताको निवेदन दिएका छन् । उनीसँगै राप्रपाका उम्मेदवार कुविरसिङ गुरुङले पनि चुनावी मैदान छाड्ने निर्णय गरेका छन् । जसले गर्दा अब मनाङमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच हुने देखिएको छ ।

यसरी शक्तिशाली दलले चुनाव नै नलड्ने निर्णय लिनुको पछाडि कुनै राजनीतिक दाउपेच भन्दा पनि स्थानीय परम्परा र धार्मिक अगुवाहरूको हस्तक्षेप मुख्य कारण बनेको छ । विगतका चुनावहरूमा हुने गरेका झै–झगडा र अप्रिय घटना रोक्न गाउँका लामा गुरुहरूले सहमतिको प्रयास थालेका थिए ।

बिहीबार भ्राताङमा भएको विशेष भेलामा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङबीच कुरा नमिल्दा अन्ततः ‘चिट्ठा’ हालेर फैसला गर्ने निर्णय गरियो । त्यो भाग्यशाली चिट्ठा कांग्रेसको पक्षमा परेपछि एमाले चुनावी मैदानबाट पछाडि हट्न तयार भएको हो ।

यो सहमति अनुसार प्रतिनिधि सभामा एमालेले कांग्रेसलाई सघाउने छ भने बदलामा प्रदेश सभाका दुई निर्वाचन क्षेत्रमा कांग्रेसले एमालेका उम्मेदवारलाई समर्थन गर्ने समझदारी भएको छ ।

मनाङमा विवाद सुल्झाउन अपनाइने यो पुरानो र मौलिक परम्परा हो । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले मनोनयन फिर्ताको निवेदन दर्ता भएको र दिउँसो तीन बजेपछि मात्रै निर्णय हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्