
इतिहासले हरेक नेताको परीक्षा लिन्छ । त्यसमध्ये थोरैमात्र खरो रूपमा राजनीतिमा उत्रन्छन् । बाँकी कि त पतन हुन्छन् या त कलंकित । नेपाली राजनीतिमा पनि धेरै आँधीबेहरी आए । राजनीतिक परिवर्तन मात्र भएनन् नेताहरूको पतन र नयाँको उदय पनि सँगसँगै भयो । त्यसरी नै नेपाली राजनीतिमा आएको पछिल्लो आँधीबेहरीले धेरै नेताको राजनीतिक भविष्य नै उडाएर लादै छ । थोरैमात्र शतिशाल जस्तै उभिएर टिक्न सक्ने निश्चित छ ।
अहिले सबैभन्दा बढी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको राजनीतिमा आएका ठूलो आँधीबेहरीको सामना गरिरहेका छन् । जेनजी विद्रोहपछि नेपाली सेनाले ज्यान जोगाइदिएका उनी प्रधानमन्त्री पद त्याग्न बाध्य भएका थिए । उनको अध्यक्ष पद समेत धरापमा परेको थियो । तर, साम, दाम, दण्ड भेदको नीतिले उनले अध्यक्ष पद बचाइछाडे ।
ओलीले एमालेमा प्रभुत्व त कायमै राखे तर यो घटनाले उनी स्वयंको राजनीतिक भविष्य त संकटमै छ सिंगो एमालेले ठूलो धक्का खाने माहोल विकास भइरहेछ । त्यसमाथि एमालेबाट प्रधानमन्त्रीको दाबेदार नै उनी रहेको प्रष्ट पारिएको छ । तर, ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर मतदाताले सुर्य चिन्ह स्वीकार्लान् ? यो प्रश्न तेर्सिएको छ ।
राजनीतिक जीवनकालमै सबैभन्दा बढी आलोकप्रीय छन् ओली । उनको अहंकार, दम्भका कारण एमाले कार्यकर्ताको मनोबल गिरेको छ । एमालेभित्र टिकट बाँडफाँडले ठूलो असन्तुष्टि छ । ओलीले पार्टीभित्रका प्रतिस्पर्धी र विरोधीलाई पेलेका छन् । हस्ती नेताहरू टिकटबाट वञ्चित पारिएका छन् । चौतर्फी घेराबन्दीमा पर्दा ओलीले पार्टीभित्रका सबैलाई मिलाएर एकताबद्ध भई जुध्नुपर्दथ्यो । तर, उनी आन्तरिक एकता कमजोर पारेर एमालेलाई इतिहासकै कमजोर अवस्थामा पु¥याइरहेछन् ।
देशको पुरानो दलमध्येको नेपाली कांग्रेस नयाँ नेतृत्वका साथ चुनावमा जाँदै छ । गगन थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे जस्ता २०६२ सालको जनआन्दोलनमा उदाएका नेताहरूको हातमा कांग्रेस पुगेको छ । रास्वपाका रवि लामिछानेसँग बालेन साह जोडिएका छन् । हर्क साम्पाङ, कुलमान घिसिङ जस्ता लोकप्रिय पात्रहरूको नयाँ शक्ति चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । तर, एमाले पटक पटक परीक्षण भइसकेका ओलीको नेतृत्वमा चुनावमा जाँदै छ ।
फेसबुक, इन्स्टाग्राम, टिकटकको दुनियाँबाट एआईको दुनियाँमा प्रवेश गरिसकेको पुस्ताका मतदाता आइसक्दा रेडियो र टेलिभिजनका जमानाका पुस्ताले ओलीको नेतृत्वलाई स्विकार्ने देखिँदैन । प्रविधि सँगै देशको राजनीतिमा धेरै पर्वत आएको छ । थप परिवर्तनको उत्कट चाहना देखिन्छ । पात्रहरू अत्यधिक परिवर्तन भइसकेका छन् ।
तीन दशकभन्दा बढी समययता सत्ता र शक्तिमा रहेकाहरूबाट देशले मुक्ति चाहेको देखिन्छ । यस्तो अवस्थामा पनि एमाले नेतृत्वमा टिकेका ओली अबको निर्वाचनबाट पत्तासाफ हुँदैछन् । ओलीका कारण एमालेले चुनावमा ठूलो क्षति भोग्नुपर्ने आँकलन गरिएका छन् । तैपनि, ओलीले एमाले जस्तो भूगोलमा खटिने कार्यकर्ताबाट संगठित दलको नेतृत्वमा आफूलाई जोगाइराख्न सकेका छन् । यो आफैमा सोचनीय विषय हो । कतै ओलीका कारण एमाले पतनको डिलमा त छैन ? आगामी चुनावमा एमालेले ठूलो धक्का व्यहोरेमा कार्यकर्ता टिकाइराख्न सक्ने छैन । पश्चिम बँगालमा एकैपटक ठूलो चुनावी धक्का व्यहोरेपछि कम्युनिस्ट पार्टीले कार्यकर्ता टिकाउन सकेनन् ।
कम्युनिस्ट कार्यकर्ता भाजपा र तृणामुलमा धमाधम प्रवेश गर्दा परिस्थिति नै पल्टियो । कुनैबेला पश्चिम बँगालमा तीन दशक लामो शासन गरेका कम्युनिस्टहरु पुरातनवादी सोच र शैलीका कारण पतनको बाटोमा पुगे । अहिले पश्चिम बँगालमा कम्युनिस्टहरु सुन्यको अवस्थामा छन् ।
नेतृत्वमा रहेका ओलीको अहंकारले एमालेलाई पतनको डिलमा पु¥याइसकेको छ । यतिसम्मकी उनका लागि गृहजिल्ला झापा नै चुनौतीपूर्ण बनिरहेको छ । २०४८ सालयता २०७९ सालसम्म भएका संसदीय र संविधानसभाको चुनावमध्ये ओली पहिलो संविधानसभाको चुनावमा मात्र पराजित भएका थिए झापाबाट । यसपटक झापामा उनको अग्निपरीक्षा चल्दैछ । राजनीतिक जीवनको उत्तराद्र्धमा ओलीले झापाबाट चुनाव जितुन् या हारुन्, उनको राजनीतिले हार्दैछ । ओलीले जे जति साख बनाएका थिए त्यो जेनजी विद्रोहका कारण गुमाइसके । अब बचेकुचेको साख पनि गुमाउँदैछन् ।
कांग्रेसमा शेरबहादुर देउवाको साख कति गिरेको रहेछ भन्ने आफ्नाले नै त्याग्दा बुझिएको छ । जेनजी विद्रोहपछि देउवाले नेतृत्व छाड्ने भनेपछि लोकप्रीयता केही बनेको थियो । तर, फेरि चुनाव लड्ने चाहना देउवाले राखेपछि कांग्रेसीहरु उनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर जान तयार भएनन् । उनकै कारण कांग्रेसभित्र विद्रोह भयो । देउवाको पतन भयो पार्टीभित्र । अब उनी फेरि राजनीतिमा पुरानै अवस्थामा फर्कने सक्ने सम्भावना लगभग समाप्त भएको छ ।
एमालेलाई संकटको घडीमा बचाउने मौका ओलीलाई नआएको होइन । उनले एमालेभित्र विकसित दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सक्थे । लोकप्रिय नेताहरू एकसे एक थिए । तर, उनीहरु नै पेलाईमा परे । ओली आफू त अलोकप्रीय छँदैछन् सिंगो एमालेलाई अलोकप्रिय बनाइदिए । आफूसँगै एमालेलाई पनि पतनको बाटोमा घचेटेर लगे । जेलनेल भोगेर राष्ट्रिय राजनीतिमा उदाएका ओलीले चुच्चे नक्शा स्थापित गरेर लोकप्रीयता कमाएका थिए ।
२०७२ सालको संविधान जारी गर्दाको नाकाबन्दीमा ओली निकै खरो रूपमा उत्रिए । संविधान जारी गर्नमा सुशील कोइराला र प्रचण्ड जत्तिकै उनको पनि भूमिका थियो । २०७२ सालको संविधान बनेपछि दुईतिहाइको सरकारको पहिलो प्रधानमन्त्री पनि उनी नै बनेका थिए । तर, ओलीको सत्तालिप्साले नेकपा नै विभाजित भयो । उनले दुई दुईपटक संसद नै विघटन गरेका थिए । तर, जेनजी विद्रोहपछि जुन संसद विघटन भयो त्यो संसद पुनःस्थापना गर्न ओलीले देउवालाई प्रधानमन्त्री बनाउने लोभमा रिट हाल्न लगाए । उनको विगतका कदमले वर्तमानलाई असहज बनाउँदै लग्यो ।
ओलीले सबैभन्दा ठूलो गल्ती विश्व व्यवस्थाको उतारचढावबीच देशले विदेश सम्बन्धमा चाल्नुपर्ने कदममा देखाएको अपरिपक्वता नै हो । परराष्ट्रमन्त्री र गृहमन्त्रीसमेतको अनुभव सँगालेका ओलीले न त विदेश सम्बन्धमा चार्तुयता देखाउन सके न त भारत र चीनजस्ता विशाल देशबीच रहेको नेपालमा बाह्य शक्तिको सुरक्षा चासोलाई नै मनन गरेको देखियो । अमेरिका र चीनबीच विश्वभर तिव्र टकराव बढिरहँदा एमसीसी र बीआरआईको रणनीतिक उद्देश्य गम्भीर थियो ।
विदेशी लगानी ल्याएर देशमा रोजगारी सृजना गर्ने नीति लागू गर्नुपर्नेमा अनुदान या ऋण भन्दै शक्तिशाली देशहरुले सामरिक स्वार्थले ल्याएको परियोजनालाई स्विकार्ने भुल ओलीले पनि गरेकै हुन् । चीनको जापानविरुद्धको लडाईँ अन्तको सम्झनामा मनाइने भिक्ट्री डे मा ओली नेपालको प्रधानमन्त्रीको रूपमा सहभागी हुनु अर्को भुल थियो । देशको असंलग्न परराष्ट्र नीतिको मर्मविपरित ओली गए ।
बेइजिङमा भिक्ट्री डे कार्यक्रममा सहभागी भएर चीनबाट फर्किएको केही दिनमै ओलीको सत्ता ढल्नु संयोग मात्र पक्कै होइन । उनले चुच्चे नक्शामा भारतलाई चिढ्याएका थिए । अयोध्यामा राम मन्दिर बन्न लाग्दा होस् या बनिरहँदा नै किन नहोस् ओलीले राम जन्मभूमि नेपालको ठोरीमा रहेको दोहो¥याउँदै मोदीलाई चिढ्याउने क्रियाकलाप गरे । यी घटनाले सतहमा ओली राष्ट्रवादी देखिए । तर, कूटनीतिमा चुके । कूटनीतिक विफलताले राष्ट्रिय राजनीतिमा पनि ओलीलाई ठूलो धक्का लाग्यो । उनको व्यक्तिगत राजनीति कठिन मोडमा पुग्यो पुग्यो एमाले पनि कठिन मोडमा धकेलिएको छ ।
कुनै बेला नेपालको सबैभन्दा बढी कार्यकर्ता रहेको र प्रभावशाली दल थियो भनी एमालेबारे इतिहासका विद्यार्थीले आश्चर्य मान्दै अध्ययन गर्ने दिन चाँडै नै आउन सक्ने अवस्था बनेको छ । ओलीका कारण एमालेले चाँडै अस्तित्वको लडाइँ लड्नुपर्ने दिन आउँदै छ । ओली अलोकप्रियताको बोझ एमालेलाई भारी परिरहेको छ । त्यो बोझ कहिलेसम्म एमालेका कार्यकर्ताले थेग्ने हुन् ?











