काठमाडाैं । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा संचालन भएको पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम समापन भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा माघ १२ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समापन गर्नुभएको हो ।
उहाँले सीमामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुको त्याग र समर्पण महत्वपूर्ण रहेको चर्चा गर्नहुँदै राष्ट्रिय सार्वभौमिकता, सीमा सुरक्षा, अपराध नियन्त्रणमा यस अभियानले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भौगोलिक रुपमा कठिन सीमा सुरक्षालाई सुदृढ र प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले खेलेको भूमिका उल्लेख गर्नुहुँदै यो झण्डा मार्चसँगै सीमा सुरक्षित छ भन्ने कुरा महशुस भएको बताउनुभयो । सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सशस्त्र प्रहरी बल नेपाल नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेल र नं. ४ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहले झण्डा हस्तान्तरण गर्नुभएको थियो । सो झण्डा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित केन्द्रिय संग्राहलयमा राखिने छ ।

पौष २० गतेदेखि झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेची पुल तथा कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–११ गड्डाचौकी सीमा ईलाकाबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम शुरु गरिएको थियो । नेपालको राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बल नेपालको झण्डासहित मार्च गर्ने टोलीले एक जिल्लाबाट अर्को जिल्लामा रहेका सशस्त्र प्रहरी कर्मचारीलाई सो झण्डा हस्तान्तरण गरी सो कार्यक्रम संचालन गर्दै आएको थियो ।
सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षाको प्रतिबद्धता, सतर्कता र उपस्थिती सशक्त रुपमा प्रदर्शन गर्न, संगठनभित्रको समन्वय, टोली भावना सुदृढ र सीमावर्ती क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क, विश्वास र सहकार्य अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपालले २५औँ वर्षको ऐतिहासिक अवसरलाई स्मरणीय बनाउने तथा देशभर राष्ट्रव्यापी सन्देश फैलाउने उद्देश्यकासाथ पूर्व–पश्चिम झण्डा मार्च गर्न लागिएको तथा झण्डा मार्चले सशस्त्र प्रहरी बल नेपालको इतिहास, योगदान र सीमा सुरक्षाको भूमिका झल्काउने विश्वासकासाथ सो कार्यक्रम संचालन गरिएको थियो ।











