
जापान जाँदा शाङ्हाईदेखि योकोहामासम्मको जहाज चढेकी थिएँ । मनमा कौतुहल र रमाइलो थियो । जापानबाट फर्किँदा कोबेको पोर्टमा जहाज चढेँ । मन भारी थियो । साथीहरूको मायासँगै अरू कोसेली पनि थपिएका थिए । प्रत्येक साथीको न्यानो व्यवहार अनि तिरिनसक्नु ऋण पनि थपिएको थियो ।
हुन त साँचो मायामा लेन–देनको कुरा हुँदैन । साथीहरूले गरेको सहयोग निष्काम थियो । बिदा गर्न आएका साथीहरूतिर फर्केर हात हल्लाउँदै जहाज चढेँ । एकछिनमै जहाजले गति लिन थाल्यो । निकै बेर एक्लै भएजस्तो महशुस भयो । जहाजका यात्रुहरु सबै नै मेरा निम्ति नौला थिए । मलाई पु¥याउन आउने साथीहरु उहिल्यै छुटिसकेका थिए र झन् झन् टाढा हुँदै थिए ।
जापान म जन्मेको देश होइन । मेरो कर्म क्षेत्र पनि होइन । तर किन मलाई जापान छोड्न यति गाह्रो भयो ? एक–एक साथीको मायाले मेरो मन अझै तानिरह्यो …। मलाई जहाजसम्म पु¥याउन कोबेमा भएका साथीहरू प्रायः सबै नै समय मिलाएर पोर्टसम्म आएका थिए ।
ताजि सानको गाडीमा मसँगै इशिजुका थिइन् । इतिहासका प्रोफेसरका छोरा ओहारा आफ्नो गाडीमा एक्लै आएका थिए । अर्की आत्मीय साथी आशाही पनि आफ्नो अफिस छोडेर मलाई विदा गर्न आइपुगेकी थिईन् । छोड्ने बेला ताजि सानको आँखा हेर्न सकेकी थिईन मैले । अलि अगाडिबाट नै आँखा भिजेको देखिसकेकी थिएँ । आशाहीले सबैले देख्ने गरि आफ्नो आँखा पुछिन् । म पनि कम संवेदनशील थिइन, तर मैले मनलाई सकेसम्म कठोर बनाएँ । आँसु झर्न दिइन ।
मलाई अचम्म लाग्छ अहिलेसम्म पनि – मित्रता र आत्मीयता भन्ने कुरा पनि कति अनौठो हुँदोरहेछ ! मलाई त्यति धेरै माया दिनुको कारण के होला ? मैले त ती साथीहरुको निम्ति केही पनि गर्न सकेकी थिइन । मान्छे मान्छेको बिच आत्मीयता, प्रेम र करुणाको बीज कहाँबाट आउने होला ? कहाँबाट पलाउने होला ? जापान छोड्दा इशिजुकाकै घरबाट हिँडेकी म । चीनमा हुँदादेखि नै मिल्ने साथीहरु मध्येकै एक हुन् उनी । उनको घरमा बसेको बेला होस् या यात्रामा सँगसँगै हिँड्दा होस् – सकुञ्जेल मलाई साथ दिई रहिन् । म भन्दा कम उमेरकी भएपनि मेरो अभिभावक बनिन् सबै कुरामा । घरबाट सँगै हिँडेका हामी ताजि सानको गाडीमा बसेर पोर्टमा पुग्यौँ । मलाई छोड्ने बेलामा एक पोका खानेकुरा जहाजमा खानलाई भनेर बोकाइन् । म निशब्द भएकी थिएँ । ‘धन्यवाद’ सम्म पनि भन्न सकिन । मनले भनिरह्यो “कसरी तिर्ने होला यिनीहरूको गुनको रिन ?” उनीहरुले पनि मेरो बोलीभन्दा मनकै कुरालाई धेरै सुने होलान् ।
जहाजभित्र पसिसकेपछि तुरुन्तै झ्यालबाट हेर्न पाइन । हेरेको भए अझै उनीहरुलाई एकपल्ट देख्न पाउँथेँ होला । “पक्कै एकछिन त पर्खेका होलान्” भन्ने सोँच्दा पछुतो लागे जसरी मन दुख्यो एकछिन । ठुलो दुईतल्ले जहाज भरि यात्रु टनाटन थिए । तर म भने एक्लै भएकी थिएँ । डेढ महिनाको जापानको यात्रामा मैले कहिल्यै एक्लो महशुस गरिन । टोकियोमा मा होस् या अन्य ठाउँहरुमा– मसँग सधैं कोही न कोही साथी हुन्थे । पहिलेदेखि चिनेको र त्यहीँ पुगेर चिनेका साथीहरुको माया पाइरहेँ ।जापान छोड्ने बेला, जहाजमा चढ्ने बेलासम्म पनि साथीहरु भ्याई नभ्याई मलाई पु¥याउन आए । उनीहरुको मसँग कुनै स्वार्थ थिएन ।
जहाजमा एक्लै भएपछि भने जबरजस्ती रोक्न खोजेको आँसु सबै बग्न थाल्यो समुद्र बिचमा पुगेपछि । समुद्रको छालसँगै मनको छाल पनि उठ्न थालेको महशुस गर्न थालेँ । त्यो टोकियोमा लिन आउने साथीहरु निशिकावा र सुसुमुलाई पनि बेस्सरी सम्झिन थालेँ । कहिल्यै बिर्सिन नसक्ने साथीहरु । साथी भन्दा बढी । उनीहरुकै कारण लेखनलाई साथी बनाएर आजको दिनसम्म पनि लेख्दै छु । उनीहरुसँग नभेटेको भए मेरो कलमको मसी उहिल्यै सुकिसक्थ्यो कि ? उनीहरुकै कारणले गर्दा मेरा लेखहरु त्यतिबेला नै अन्तराष्ट्रिय जगतमा पुग्न सके । उनीहरुकै कारणले गर्दा मित्रताको परिभाषालाई यति गहिरोसँग बुझ्न सकेँ ।
यसपाली नयाँ वर्षको बेलासम्म पनि निशिकावाले आफ्नै हातले बनाएको पोष्टकार्ड पठाइरहेकी छिन् । कहिले क्यालेण्डर र र कहिले अन्य कविताका पुस्तिकाहरु समेत बेलाबेलामा पठाउँथिन् । कोभिडको बेलामा नेपालसम्म पुगेर चिठी फर्के पछि अब त आउँदैन होला भनेर आशा मारिसकेकी थिएँ । फेरि पठाउन थालिन् । यसपाली उनको पोष्टकार्ड पाउँदा अझै भावुक बनेँ , अहिले यो स्तम्भमा जापानकै बारे लेख्दै गरेको बेला भएर पनि होला ।
जापान छोड्दाको भावुकता एकातिर थियो, अर्को तिर छिटोभन्दा छिटो शाङ्घाई पुग्न हतार थियो । सन् १९९१को कुरा हो । अप्रिल २३मा जहाज चढेको, २५ तारिख मात्र शाङ्हाई पुग्छु भन्ने थाहा थियो । तर समुद्रका छालहरूजस्तै मन पनि तरङ्गित थियो । सरोजसँग छिटो भन्दा छिटो भेट होस् भन्ने चाहना थियो ।
जहाजबाट जापान भरी फोन गर्न पाइने सुविधा थियो पैसा तिरेर । तर चीनमा फोन गर्न भने मिल्दैनथ्यो । टोकियोमा भएका साथीहरुलाई फोन गरेँ निशिकावा र सुसुमुलाई । तामायोसँग पनि कुरा गर्न मन लाग्यो । फोन गर्दा उनकी आमासँग मात्र भेट भयो । भाषाको असुविधा थियो । फोनमा त हाउभाउले काम चलाउन पनि नमिल्ने । “कोनिचिवा ! ओहायो गोजाइमस् ! सायोनारा मम्“ भनेर फोन राखिदिएँ ।
जहाजमा नचिने पनि छिट्टै नै नयाँ साथीहरु बने । एकजना जापानी न्युरो सर्जनकी श्रीमति पनि रहिछन् । उनीसँग कुरा गर्न पाएँ । उनका तीनवटा बच्चाहरु जापानमै छोडेर कुनै आफन्त भेट्न र घुम्न पनि भनेर चीनतिर लागेकी रहिछन् एक्लै । उनी पनि मेरा साथीहरु जस्तै सभ्य, विनम्र र सहयोगी स्वभावकी थिइन् । एउटा नया साथी पाएकोमा फेरि खुसी भएँ । चीनियाँ र जापानीहरु नै धेरै थिए जहाजमा । ती बाहेकका विदेशी भन्नु त म र अर्की एउटी अस्ट्रेलियन मात्र थियौँ जहाज भरिमा । वातावरण मैत्रीपूर्ण नै थियो मेरो निम्ति ।
जिन्दगी आफै एउटा यात्रा न हो ! कहिले कहाँ कहिले कहाँ पुगिन्छ । कहिले आफ्नै इच्छामा कहिले बाध्यतामा । कुनै न कुनै बहानामा यात्रा त भइरहन्छ …। आफ्नै घरमा मात्र बस्दा पनि त जहाजमा चढे जस्तै दिनहरू बितिरहेका हुन्छन् नि ! सधैँ सबैकुरा एकनास रहन्न । सबै परिवर्तनशील छ । यो मेरो यात्रा लेखनले जुराएको यात्रामा समुद्रमै बगिरहेको क्षणपनि कति छिटो बितेर गइसकेछ । जहाजले शाङ्हाइ पुगेको संकेत ग¥यो …।











