Logo
Logo

नेपाल प्रहरीमा हतियार अभाव


189
Shares

काठमाडौं । प्रहरीमा प्रयाप्त हातहतियारको अभाव हुँदा नेपाली सेनाको भर पर्नुपर्ने अवस्था आएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीसँग हतियार अभाव भएपछि सेनासँग भर पर्नुपरेको हो ।

निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्नेगरी जङ्गी अड्डासँग साना हतियार माग गरिएको छ । प्रहरीले सेनासँग २८ सय पेस्तोल मागेको हो । प्रहरीको माग अनुसार सेनाले पेस्तोल दिने निर्णय गरेको छ । ‘सेनाले हाम्रो मागअनुसार हतियार स्वीकृत गरेको छ ।’

सेनाबाट सापटी लिइने पेस्तोल प्रदेशमा पठाइने र त्यहाँबाट आवश्यकता अनुसार प्रयोग गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनी प्रहरीले सेनासँग हतियार मागेर चलाएको थियो ।

त्यसबेला ‘बालगिरी’मा प्रहरीले सेनासँग २८ सय हतियार लिएर निर्वाचन सुरक्षामा प्रयोग गरेको थियो । २०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि प्रहरीले सेनासँग चिनियाँ पेस्तोल सापटी लिएको थियो । प्रहरीले विगत ११ वर्षदेखि हतियार खरिद गर्न सकेको छैन । हतियार खरिदका लागि पटक पटकका प्रयासहरु असफल हुँदै आएका छन् ।

जेनजी सरकार अघि कायम रहेको सरकारले तीन वर्षअघि स्थगित ठेक्का ब्युँताएर नेपाल प्रहरी र सशस्त्रका लागि डेढ अर्बका हतियार किन्ने योजना बनाएर पनि असफल भएको थियो । तत्कालिन गृहमन्त्री रमेश लेखकले प्रहरीका लागि पुराना ठेक्का ब्युँताएर हतियार खरिदको गर्ने तयारी गरेका थिए । जबकि यसअघि यसका लागि उनले सार्वजनिक खरिद नियमावलीसमेत संशोधन गराएका थिए ।

०७९ को निर्वाचनको मुखमा सरकारले दुवै प्रहरीलाई हतियार किन्न बजेट विनियोजन गरेको थियो । नेपाल प्रहरीका लागि करिब एक अर्बको र सशस्त्रका लागि करिब ५० करोड रुपैयाँको हतियार किन्ने ठेक्का सम्झौता भएको थियो ।

दुवै प्रहरीको ठेक्का विवादास्पद व्यापारी दीपक भट्टका कम्पनीहरूले हात पारेका थिए । तर, खरिद प्रक्रियामा मिलेमतोको प्रश्न उठेपछि त्यतिखेर स्थगित गरिएको थियो । त्यही ठेक्का ब्युँताएर तत्कालिन गृहमन्त्री लेखकले हतियार खरिद प्रक्रिया अघि बढाएका थिए । ठूलो कमिशनमा हतियार किन्न लागेको भन्दै विवादित ठेक्कामा फसिने डरले दुवै प्रहरीको नेतृत्व पन्छिन खोजेपछि रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्